कोशीमा दाउरा खोज्ने क्रममा बेपत्ता हुने बढे

कोशीमा दाउरा खोज्ने क्रममा बेपत्ता हुने बढे

सुरेश घिमिरे
इटहरी, ४ असार : सप्तकोसी नदी किनारका बासिन्दा हरेक वर्ष वर्षायाममा नदीमा बाढीसँगै बगेर आउने दाउरा संकलन गर्न व्यस्त हुने गर्छन् । सप्तकोसीमा बगेर आउने दाउरा स्थानीयका लागि बर्सेनि आम्दानीको स्रोत बन्ने गरेको छ । तर दाउरा संकलनकै क्रममा प्रत्येक वर्ष बाढीले बगाएर कतिपयको मृत्युसमेत हुने गरेको छ । बाढीसँगै बगेर आएको दाउरा संकलन गर्ने क्रममा गत शनिबार मात्र सुनसरीको महेन्द्रनगर–६ का ३४ वर्षीय सीताराम न्यौपाने बेपत्ता भएका थिए । यस्तै गत वर्ष पनि कोसीको बाढीमा बगेर आएको दाउरा निकाल्न खोज्दा महेन्द्रनगर–४ की १३ वर्षीय अस्मिता राई र १६ वर्षीय पार्वती श्रेष्ठको डुबेर मृत्यु भएको थियो । दाउरा निकाल्ने क्रममा बगेका केहीलाई भने स्थानीयले उद्धार गर्ने गरेका छन् । प्रत्येक वर्ष दाउरा संकलनका क्रममा यस्ता दुर्घटनाहरु हुने गरेका छन् । त्यसैले पनि बाढीको भेलमा बगेको दाउरा संकलन गर्ने कार्य उच्च जोखिमपूर्ण छ । तर यस्तो कार्यमा बालबालिकाहरु बढी संलग्न हुने गरेका छन् । सो क्षेत्रका बालबालिकाहरु आम्दानीका लागि अभिभावकको आँखा छलेर तथा विद्यालय छोडेर समेत दाउरा संकलनमा लाग्ने गरेका छन् । विशेषगरी सुनसरीको प्रकाशपुर तथा राजाबास क्षेत्रमा कोसी किनारका स्थानीय जेठदेखि साउन महिनासम्म बाढीले बगाएको काठ तथा दाउरा झिक्न व्यस्त हुने गर्छन् । किनारको छेउमा बसेर तथा डुंगामा बसेर उनीहरु दाउरा झिक्ने गर्छन् । बाढी र जोखिमको बेवास्ता गर्दै स्थानीयले दैनिक १० देखि २० ट्याक्टरसम्म दाउरा संकलन गर्ने गरेको स्थानीयले बताएका छन् । एकजनाले कम्तीमा एकपटकमा एक ट्याक्टरसम्म दाउरा तथा काठका टुना संकलन गरी लैजाने गरेको स्थानीय विनोद चन्द्रवंशीले जानकारी दिनुभयो । कोसीमा बगेर आउने दाउरा खाना पकाउन प्रयोग हुने गरेको छ भने काठका टुनाहरु महँगोमा बिक्रीसमेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्