८ महिनापछि क्याम्पसले उपलब्ध गरायो सूचना

८ महिनापछि क्याम्पसले उपलब्ध गरायो सूचना

 

बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले ८ महिनापछि सूचना उपलब्ध गराएको छ । क्याम्पसमा कार्यरत् सहायक प्राध्यापक ठाकुरप्रसाद रसाइलीले सूचनाको हक प्रयोग गरी ३ वटा सूचना पाएका हुन् ।
सहायक क्याम्पस प्रमुख नियुक्ति गर्दा क्याम्पस सञ्चालक समितिले विधि विधान अनुसार काम नगरेकोले रसाइलीले निर्णयको प्रमाणित प्रतिलिपि माग गरेका थिए ।
अन्तरिम संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । सार्वजनिक सरोकारका निकायसँग सूचनाको हक प्रयोग गरी सूचना माग्न सक्ने व्यवस्था भएकाले रसाइलीले सहायक क्याम्पस प्रमुखको नियुक्ति गर्दा सञ्चालक समितिले गरेको निर्णय र नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि, विषय समिति प्रमुखको नियुक्तिको प्रमाणित प्रतिलिपि, अभ्यास शिक्षण समिति प्रमुखको नियुक्ति प्रमाणित प्रतिलिपि माग गरेका थिए ।
गत असोज २७ गते तत्कालीन क्याम्पस प्रमुख त्रिलोचन मैनालीसँग सूचना माग गर्दा उनले निवेदन बुझ्न मानेका थिएनन् । सूचनाको हक प्रयोग गर्दै सूचना माग गर्दा उल्टै रसाइलीसँग स्पष्टिकरण सोधिएको उनले बताएका छन् । कानून बमोजिम समयमै सूचना उपलब्ध नगराएपछि सूचना मागकर्ताले आयोगलाई आदेशका लागि पत्राचार गरेका थिए । सूचना आयोगले ०७१ मंसिर १७ गते पहिलोपटक र दोस्रोपटक ०७१ चैत्र ५ गते ७ दिनभित्रमा सूचना उपलब्ध गराउन आदेश दिए पनि क्याम्पसले अटेर गर्दै ०७२ असार २ गते सूचना उपलब्ध गराएको हो । सूचनाको हक सम्बन्धी कानूनी व्यवस्थामा सूचना माग गरिएको १५ दिनमा सूचना उपलब्ध गराउनुपर्ने हुन्छ ।
सञ्चालक समितिले कनकाई बहुमुखी क्याम्पसको परिमार्जित विधान २०६८ को ५.५ मा सहायक क्याम्पस प्रमुखको नियुक्ति गर्ने व्यवस्थाका बारेमा स्पष्ट खुलाएको छ । क्याम्पस सञ्चालक समितिले व्यवस्थाको उल्लंघन गर्दै कुलेन्द्र मैनाली र विकास उप्रेतीलाई सहायक क्याम्पस प्रमुखको रुपमा नियुक्ति गरेको समाचार स्रोतले जनाएको छ । मापदण्ड पुगेका ठाकुरप्रसाद रसाइली र तिलविक्रम कन्दङ्वा पनि सहायक क्याम्पस प्रमुख हुने दाउमा थिए । विधि विधानलाई पालना नगरी सहायक क्याम्पस प्रमुख नियुक्ति गरेपछि रसाइलीले निर्णयको वैधानिकता बारे बुझ्नलाई सूचनाको हक प्रयोग गरेको बताएका छन् । सूचना प्राप्त गरेका उनले नियुक्तिमा पदीय दुरुपयोग भएको निष्कर्ष सुनाएका छन् ।
सञ्चालक समितिले ०७० जेठ १५ गते मैनाली र उप्रेतीलाई नियुक्ति दिएको थियो । सहायक क्याम्पस प्रमुखको मापदण्डको लागि क्याम्पसको विधानसँगै कुनै पनि शैक्षिक संस्थामा आबद्ध नभएको हुनुपर्ने जनाइएको छ । हाल दुवै सहायक क्याम्पस प्रमुखले राजीनामा दिएको बुझिएको छ । तत्कालीन क्याम्पस प्रमुख मैनालीले पनि राजीनामा दिएका छन् । विभिन्न खाले दवाब सहन बाध्य भएका रसाइलीले क्याम्पस सञ्चालनमा भइरहेको मनोमानीका बारेमा खबरदारी गर्न थालेपछि उनलाई अप्रत्यक्ष सजाय पनि मिलेको छ । चार वटा विषय पठनपाठन गरिरहेका रसाइली यतिबेला दुई वटा विषय मात्र पढाइरहेका छन् ।
देशभर सूचना माग्ने सूचना अभियन्ताको सुरक्षा बारे अनुगमन गरिरहेका फ्रिडम फोरमका कार्यक्रम अधिकृत नोदनाथ त्रिताल लगायतको टोलीले क्याम्पसमा पुगेरै अवस्थाबारे बुझेको थियो । तत्कालीन क्याम्पस प्रमुख मैनाली, वर्तमान क्याम्पस प्रमुख टंकबहादुर कार्की र सञ्चालक समितिका सदस्यलाई अनुगमनमा रहेको टोलीले सूचनाको हकबारे सहजीकरण समेत गरेको थियो । अनुगमनका क्रममा क्याम्पसका तर्फबाट सूचनाको हक सम्बन्धी कानूनका बारेमा अज्ञानता रहेकाले सूचना उपलब्ध गराउन ढिलाई भएको बताइएको थियो । अन्तरिम संविधानले व्यवस्था गरेको मौलिक हकलाई कार्यान्वयन गर्नसके सबै क्षेत्रलाई उत्तरदायी बनाउन सकिने सूचना अभियन्ता नोदनाथ त्रिताल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्