महिलाले नेतृत्व गरेको विद्यालय जिल्लाकै उत्कृष्ट

महिलाले नेतृत्व गरेको विद्यालय जिल्लाकै उत्कृष्ट

 

प्रदीप परियार

बिर्तामोड । महिलाले नेतृत्व गरेको विद्यालय यस वर्ष पनि झापामा उत्कृष्ट भएको छ ।
एसएलसी परीक्षा २०६९ देखि निरन्तर जिल्लाको उत्कृष्ट विद्यालय बनेको मोहनमाया माविले झापाको एसएलसी नतिजामा ह्याट्रिक गरेको हो ।
बिर्तामोड नगरपालिका–२ रामचोकमा रहेको मोहनमाया माविले यस वर्ष ८९ दशमलव १९ प्रतिशत विद्यार्थी पास गराएको छ । शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने नाराको गतिलो उदाहरण प्रस्तुत गरेको छ सो माविले । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघमा महिलाले नेतृत्व गरेको मोहनमाया माविको नतिजाले झापामा सन्तोषजनक नतिजा समेत प्राप्त गर्न नसकेका विद्यालयलाई उदाहरण बनेको छ । प्रअ बिन्दु श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सीता गौतम, शिक्षक अभिभावक संघको अध्यक्षमा टीका बरालले नेतृत्व गरिरहेका छन् ।
महिलालाई नेतृत्व दिन नचाहने नेपाली समाजलाई यस विद्यालयले महिलाको नेतृत्वलाई विश्वासिलो सावित गरेको छ । २०६८ सालमा कक्षा ९ सञ्चालन गरिएको सो विद्यालयमा २०६९ देखि एसएलसी परीक्षा सञ्चालन गरिएको हो । सरकारी विद्यालयमा शिक्षक, शिक्षिकाले आफ्नो उत्तरदायित्वलाई राम्रोसँग बहन गर्दा नतिजा राम्रो निकाल्न सकिने उदाहरण पनि मोहनमाया माविले दिएको छ ।
उक्त विद्यालयमा तीन सूत्रबाट सम्पूर्ण गतिविधि सञ्चालन गरेको पाइएको छ । जागरुक अभिभावक, कर्तव्यनिष्ठ शिक्षक र अनुशासित विद्यार्थी भएमा मात्र विद्यालयले उपलब्धि हासिल गर्न सक्ने एक शिक्षक बताउँछन् । सरकारी काम कहिले जाला घाम् भन्ने ध्येयबाट काम गर्ने शिक्षकको विद्यालयमा सोही अनुसारको नतिजा आएको छ । विद्यालय बाहिर राजनीति गर्नेले विद्यालय प्रवेश गर्नु अगाडि स्वतन्त्र भएर कार्य सम्पादनमा लागेमा मात्र विद्यालयले प्रगति गर्न सक्ने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
प्रचार भन्दा कामलाई प्राथमिकता दिने विद्यालयको लिष्टमा पर्ने मोहनमाया माविले झापाका विद्यालयलाई सवक पनि सिकाएको छ । जिल्ला शिक्षा कार्यालयले दरबन्दी नदिँदा विद्यालयका शिक्षक शिक्षिकाले गुनासो गरेका छन् । एक शिक्षक भन्छन्–‘यति दुःखले काम गरिएको छ, जिशिकाले दरबन्दी नदिँदा धेरै समस्या भएको छ ।’ तीन वर्षदेखि निरन्तर जिल्लाको उत्कृष्ट विद्यालय बन्न सफल मोहनमायालाई दरबन्दी दिनुपर्ने उनीहरुको माग छ । विद्यालयको मूल गेटबाट विद्यालय प्रवेश गरेपछि छुट्टी नभएसम्म विद्यार्थीले बाहिर निस्कन पाउँदैनन् । कमजोर विद्यार्थीको परिवारमै पुगेर प्रअलगायत शिक्षक, शिक्षिकाले अभिभावकसँग अन्तरक्रिया गर्ने गरेको बुझिएको छ । कुनै शिक्षक बिदामा रहे अर्को शिक्षकले कक्षा लिइदिने प्रचलन रहेको जनाइएको छ । प्रअ श्रेष्ठ भन्छिन्–‘कुनै पनि हालतमा विद्यार्थीले फ्रि बस्न पाउँदैनन् ।’ उनका अनुसार विद्यार्थीलाई विद्यालय छिरेपछि फुर्सद बनायो भने विद्यार्थीको मानसिकतामा राम्रा कुराहरु नखेल्ने भएकाले कुनै घण्टी खाली राखिँदैन ।
घरघरमै पुगेर अनुगमन गरेकाले विद्यार्थीको नतिजा राम्रो भएको अभिभावकको भनाइ छ । कुनै पनि विषयमा कमजोर भएको थाहा पाए विषयगत शिक्षक घरमै गएर शिक्षण गर्ने बताइएको छ । सामूहिक एकताले नै जिल्लाको उत्कृष्ट विद्यालय बन्न सफल भएको प्रअको भनाइ छ । महिला भएर विद्यालयलाई यहाँसम्म कसरी ल्याउनु भयो भन्ने मेची टाइम्सको प्रश्नमा प्रअ श्रेष्ठले भनिन्–‘सामूहिक एकता, अभिभावकको सहयोग, शिक्षक, शिक्षिकाले पूरा गरेको उत्तरदायित्व र श्रीमान्ले दिएको साथ हो ।’
एसएलसी परीक्षामा उत्तीर्ण भएका सुमित गुरुङले बताए अनुसार विद्यार्थी विद्यालयमा नपुग्दा घरमा फोन जाने गर्छ । ‘छड्के जाँच हुन्थ्यो’, गुरुङले भने–‘कक्षा ९ मा पास भएर जाने बित्तिकै एसएलसीको बारेमा सहजीकरण भएको थियो ।’
सहायक जिशिअ उद्धव विष्टले विद्यार्थीको संख्या अनुसार दरबन्दी मिलान गर्ने काम भइरहेको जानकारी दिए । उनले मोहनमायाको सन्दर्भमा नयाँ मावि भएकाले दरबन्दी नभएको जनाए । निरन्तर उत्कृष्ट भएकाले दरबन्दीका लागि केही तयारी पनि भएको उनको भनाइ छ । झापामा मावि तहमा २ जना महिला प्रअ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्