शिक्षक नेताका छोराछोरी निजी विद्यालयमा

<span class='c1'>शिक्षक नेताका छोराछोरी</span> <span class='c2'>निजी विद्यालयमा</span>

 

प्रदीप परियार

बिर्तामोड । सरकारी विद्यालयमा जागिर खाँदै शैक्षिक क्षेत्रको नेतृत्व गर्ने झापाका अधिकांश शिक्षक नेताले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् ।
शिक्षक नेतासहित अन्य शिक्षक पनि आफ्ना छोराछोरीलाई निजी विद्यालयमै पढाउने गरेको पाइएको छ । शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चम्लागाईं धुलाबारी उच्च माविका सहायक प्रधानाध्यापक हुन् । उनले आफ्ना छोराछोरीलाई हिमालयन बोर्डिङ स्कूलमा पढाइरहेका छन् । उनले अंग्रेजी भाषाको समस्या नरहोस् भन्दै निजी विद्यालयमा पढाउँदै आएको बताए । प्रतिस्पर्धाको जमाना भएकाले अंग्रेजी र प्राविधिक विषय आवश्यक रहेकाले अंग्रेजी विद्यालयमा पढाउनु परेको उनको भनाइ छ । नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका अध्यक्ष बुद्धिमान कार्कीले आफ्ना छोराछोरीलाई प्राथमिक तहसम्म गौरादहस्थित ज्ञानज्योति अंग्रेजी स्कूलमा पढाए । निमावि तहदेखि सरकारी विद्यालय पढाएको उनले बताएका छन् ।
शैक्षिक गणतान्त्रिक मञ्च झापाका अध्यक्ष शिवकुमार भण्डारी आफैंले जागिर खाने विद्यालयमा छोराछोरी पढाइरहेका छन् । उनले आफ्नो कामप्रति विश्वास भएकाले सोही विद्यालयमा छोराछोरीलाई पढाइरहेको प्रतिक्रिया दिएका छन् । उनले भने–‘आफ्नो कामप्रति विश्वास नहुनेले मात्र निजी विद्यालयमा पढाउने हो या अन्यत्र ।’ जागिर एउटा विद्यालयमा खाने र अर्कै विद्यालयमा पढाउने संस्कारको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
सरकारी शिक्षकले आफ्ना छोराछोरीलाई कहाँ पढाउने भन्ने बारे सरकारी नीति छैन । अधिकांश शिक्षक सरकारी विद्यालयमा आफ्ना छोराछोरी पढाउँदैनन् । गणतान्त्रिक शिक्षक फोरम झापाका अध्यक्ष उमेश साहले छोरीलाई कक्षा ८ सम्म निजी विद्यालय पढाए । बिर्तामोडस्थित न्यूटन एकाडेमीमा निमावि तहको शिक्षा पूरा गरी सरकारी विद्यालयमा पढाएका थिए । सरकारी विद्यालयबाटै विशिष्ट श्रेणीमा उत्तीर्ण भएपछि छोरीलाई सरकारी क्याम्पस नै पढाउने तयारी रहेको बताएका छन् । बलभद्र उमावि धाइजनमा कार्यरत् साह सरकारी शिक्षकहरुले राम्रोसँग पढाउन नसकेको बताएका छन् । उनले आफूले समेत विद्यार्थीलाई अझैसम्म राम्रो पढाउन नसकेको स्वीकार गरेका छन् । सरकारी शिक्षकबाट कर्तव्य पूरा नभएपछि छोराछोरीलाई निजी विद्यालय पढाउनुपर्ने बाध्यता भएको उनको तर्क छ ।
यता मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च झापाका अध्यक्ष एवम् महासंघका केन्द्रीय सदस्य रमाकान्त चौधरी दुई छोराछोरीलाई निजी विद्यालय पढाइरहेका छन् । पृथ्वी निमावि भद्रपुरमा कार्यरत् चौधरीले प्रज्ञा एकाडेमी भद्रपुरमा पढाइरहेको जानकारी दिए ।
मधेशी शिक्षक फोरमका अध्यक्ष सीताराम यादवले आप्mनो कर्तव्यप्रति विश्वस्त भएकाले आफैंले काम गरिरहेको विद्यालयमा छोराछोरीलाई पढाउँदै आएको बताएका छन् । पेशाप्रति जिम्मेवार नहुनेले मात्र अन्यत्र पढाउनुपर्ने अवस्था बनेको उनको भनाइ छ । टाघनडुब्बास्थित डिल्लीराज उमाविमा उनका तीन छोराले अध्ययन गरेका छन् ।
मधेशी आदिवासी शिक्षक संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ता सरकारी विद्यालयका राम्रै शिक्षक मानिन्छन् । त्यैपनि उनले आफ्नो छोरालाई निजी स्कूलमा पढाउँछन् । जिल्लाका शैक्षिक कार्यक्रममा आफ्नो विद्यालयको प्रशंसा सुनाउने गुप्ताले आप्mनो छोरालाई भने निजी विद्यालयमा पढाइरहँदा उनको विद्यालयमा कस्तो पढाइ हुन्छ भन्ने बारे शंका समेत उत्पन्न भएको छ ।
झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले शिक्षकहरुले आफूलाई विश्वास गर्न नसक्दा छोराछोरीलाई निजी विद्यालय पढाइरहेको बताएका छन् । उनले सरकारी विद्यालयमा जस्तो पढाउँदा पनि हुन्छ भन्ने मानसिकता भएकाले छोराछोरीको भविष्य संरक्षण गर्न निजी विद्यालय पठाएको बताए । ‘अभिभावकको विश्वास जित्न गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ’, जिशिअ लुइँटेलले भने–‘राम्रोसँग पठनपाठन गर्नसके पो आफ्नो विद्यालयमा पढाउनु ।’
सरकारी नीति नभएपछि सरकारी विद्यालयका शिक्षकलाई छोराछोरी कहाँ पढाउने कुनै छेकबार छैन । जिशिअ लुइँटेलका अनुसार सरकारी कर्मचारीले सरकारी विद्यालयमै पढाउनुपर्छ । राज्यबाट तलब बुझ्ने शिक्षक मात्र नभई सबै क्षेत्रका कर्मचारीले सरकारी विद्यालयमा छोराछोरीलाई पढाए सरकारी विद्यालयको गुणस्तरीय उकास्न पनि मद्दत पुग्ने जिशिअ लुइँटेलको भनाइ छ । शिक्षक संघ झापाका सभापति नेत्र खरेलसँग यसै सन्दर्भमा सम्पर्क गर्दा व्यक्तिगत जीवनसँग हस्तक्षेप गर्न नमिल्ने भन्दै तर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्