कृषि क्षेत्रमा युवाको आकर्षण

कृषि क्षेत्रमा युवाको आकर्षण

प्रकाश उप्रेती/
विर्तामोड । तीनबर्ष यता झापामा युवाको आकर्षण कृषि क्षेत्रमा बढेको छ । नयाँ प्रविधि भित्रिएसँगै कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढेको हो । परम्परागत ढङ्गमा बाली तथा पशुपालन गरिंदै आएकोमा अहिले आएर आधुनिक खेती प्रणालीबाट आम्दानीको सम्भावना बढेपछि कृषि क्षेत्रमा युवा आकर्षित भएका हुन् ।

बेरोजगारी तथा केही वर्ष विदेश बसेपछि स्वदेश फर्केका युवाले मनग्यै आम्दानी हुने भएपछि कृषि पेशालाई आम्दानीको श्रोत बनाउन थालेको घरेलु तथा साना उद्योग कार्यालय चन्द्रगढीका प्रमुख गोपीप्रसाद घिमिरेले बताए ।

उनका अनुसार एक वर्षयता उद्योगी र व्यापारीको ध्यान पनि कृषि क्षेत्रमा ठोकिन थालेको छ । झापा हल्दिबारी–१ पाराखोपीका ढोकल बानियाँ कृषि क्षेत्रमा सम्भावना खोजिरहेका छन् । वैदेशिक रोजगारीका क्रममा ६ वर्षसम्म विदेश बसेका बानियाँ पुनः विदेशको चक्करमा थिए ।

‘पहिले विदेशमै धेरै बसिंयो तर, घरमै बसेर केही गरांँै भन्दा लगानी थिएन,’ उनले भने, ‘ स्थानीय सहकारीले ऋण दिने भएपछि कपडा पसल गर्ने सोचले पसल थालेँ ।’
‘पारिवारिक समस्याका कारण थालिएको पसलबाट खासै आम्दानी नभएपछि उनी निराश बनेका थिए ।

‘जताततै ऋण थियो, फेरि एकपटक विदेश हानिउँ भन्ने लाग्यो, विदेश जानका लागि बिर्तामोडको अञ्जली ओभरसिजदेखि इटहरीसम्म धाएँ । तर, विदेश जानका लागि धेरै रकम लाग्ने भएपछि रकम जुटाउनै गारो प¥यो’ उनले सुनाए ।
विदेश जाने सोच भन्दा साथीको प्रेरणाले मन खिचेपछि स्वरोजगारका लागि कृषि क्षेत्रमा लागेको बानियाँले बताए । उनले थोरै लगानीबाट स्वरोजगार बन्नका लागि खसी पालन सुरु गरेका छन् । बानियाँले भने,‘अढाई विघा जमिनमा चिया बगान छ ।

खसी पालन र बगान दुवैतिरको स्याहार पुग्ने भएकाले खसीपालन सुरु गरेकोे हुँ ।’
बानियाँले खोर बनाएर २ महिनामा २४ वटा खसी पाल्न सुरु गरेका छन् । उन्नत जातका खसीको स्याहारमा व्यस्त बानियाँ हाल पशुपालनको फर्म दर्ता गर्ने सुरमा छन् ।

फर्म दर्ता गरेपछि बाख्रा र खसीको संख्या बढाउने तयारी गरेको उनले सुनाए । यो त एउटा उदाहरण मात्रै हो । हाल विर्तामोडमा बस्दै आएका घोडामारा गाविसका चन्द्र खरेललले शनि–अर्जुन नगरपालिका–४ मा फर्म दर्ता गरेर गाई पालन सुरु गरेका छन् ।

लामो समयसम्मको अनुभव र मेहनतबाट गाईपालन उनले सुरु गरेका छन् । पाँच जनाको सामूहिक लगानीमा गाईपालन गर्दै आएको खरेलले बताए । ४ दर्जनबढी गाई पाल्न जमिनको व्यवस्थापनका लागि करिब ५० लाख बराबरको खर्च भएको खरेलले बताए ।
उता २० वर्षसम्म विदेशमा समय बिताएका कन्काई नगरपालिका–८ का आइपी भट्टराई स्वरोजगार बन्ने सोचमा छन् । जमिनमुनिको पानी निकाल्न निकै मेहनत र खर्च गर्नुपर्ने उक्त ठाउँमा आफू स्वरोजगार बन्नकै लागि २ लाखबढी रकम ट्युवेलमा उनले रकम खर्चिएका छन् ।

पानीको हाहाकार हुने त्यस क्षेत्रका स्थानीयलाई उर्जा थप्न पनि उक्त लगानी गरेको उनको भनाई छ । ट्युवेल गाडेपछि माछा पोखरी पोखरी बनाएर ७ हजार माछाका भुरा हालेका छन् ।

राम्रो आम्दानी हुने भएको बुझेपछि माछा र खसीपालन एकैसाथ उनले सुरु गरेका हुन् । एक विघा जमिनमा पाउँलिनिया र मलेसियन जातका बिरुवा समेत उनले लगाएका छन् ।
युवालाई कृषि पेशामा आकर्षित गर्ने उद्देश्यले सरकारले लगानी गर्न थालेसँगै कृषि फाम दर्ता गर्नेको संख्या झापामा बढेको छ । तीनवर्ष यता कृषि तथा वनजन्य शीर्षकमा फाम दर्ता गर्नेको संख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार २०६९÷०७० सालमा ६५ वटा कृषि तथा वनजन्य शीर्षकमा फाम दर्ता भएका थिए । ०७०÷०७१ मा एकसय १३ वटा र ०७१÷०७२ मा सबैभन्दा बढी ३ सय ५ वटा कृषि तथा वनजन्य शीर्षकमा संस्था दर्ता भएका छन् ।

पछिल्लो एक बर्षको अवधिमा उत्पादनमूलक शीर्षकमा २ सय ३७ वटा, सेवामूलकमा एकसय ९० वटा, निर्माणमा ५ वटा र पर्यटनमा ४ वटा गरी ७४१ वटा फाम दर्ता भएको प्रमुख घिमिरेले बताए । फाम दर्ताबाट २ करोड १० लाख ७२ हजार ४५ रुपैयाँ राजश्व संकलन भएको छ ।

कार्यालयले विभिन्न शीर्षकमा नियम उल्लङ्घन गरेका १९ वटा र २ वटा फामलाई कारवाही गरेको जनाएको छ । प्रमुख घिमिरेले सरकारले कृषि क्षेत्रलाई व्यवसायिकरण गर्नका लागि ५ वर्षसम्म कर मिनाहा, युवा र महिला लक्षित कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्