कोशी ब्यारेज पुलको आयु सकिए पनि मर्मत नहुँदा उच्च जोखिम

कोशी ब्यारेज पुलको आयु सकिए पनि मर्मत नहुँदा उच्च जोखिम

इनरुवा, २५ असार : सप्तकोसी नदीमा निर्माण भएको कोशी ब्यारेज पुलको आयु सकिएको तीन वर्ष बितिसक्दा पनि प्राविधिक जाँच र मर्मत सम्भार नहुँदा उच्च जोखिम बढेको छ । आयु सकिएको पुललाई गत वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले निकै असर गरे पनि अझै प्राविधिक जाँच र मर्मतमा ध्यान नदिएकोमा स्थानीय आक्रोशितसमेत छन् । सप्तकोसी ब्यारेज पुल भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले एक दशक लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको हो । ५० वर्ष तोकिएको पुलको आयु सकिएको चार वर्ष पुग्न लाग्यो । कोसी ब्यारेजको रेखदेखसँगै मर्मतसहितका सम्पूर्ण जिम्मेवारी भारत सरकारको भए पनि सीमा क्षेत्रमा भारतले अर्को पुल निर्माण गरिरहेकाले कोशी पुलको मर्मतमा चासो नदिएको आरोप छ । गत वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले पुल ठूलो आवाजसहित हल्लिएको भन्दै स्थानीयले पुलको भित्र भागसम्म असर गरेको हुनसक्ने अनुमान गरेका छन् । आयु पनि सकिएको र भूकम्पले समेत असर गरेको हुनाले पुलको प्राविधिक जाँच हुनुपर्ने भए पनि हालसम्म नभएको स्थानीय ओमप्रकाश माझीले बताउनुभयो । भारतीय प्राविधिकहरुले कहिलेकाहीं कोसी ब्यारेजको माथिल्लो संरचनामा सामान्य मर्मत गर्ने गरे पनि तल्लो संरचनाको मर्मत हालसम्म गरिएको छैन । भूकम्पपछि कोशी पुलको पिल्लरहरुमा सामान्य चिरा देखिएको छ भने भित्री भागमा पनि समस्या रहेको अनुमान गरिएको छ । तर मर्मत सम्भारमा ध्यान नदिंदा पुल जीर्ण बन्दै गएको छ भने एक हजार एक सय ४९ मिटर लम्बाइ रहेको पुलको तल्लो भागमा वारिदेखि पारिसम्म पीपलका विरुवाहरु उम्रिएका छन् । पीपलको बोट अत्यधिक मजबुत हुने भएकाले त्यसका जराले संरचनामा असर गर्ने जानकारहरु बताउँछन् । पूर्व–पश्चिम राजमार्गको एक मात्र विकल्प कोशी पुलमा कुनै समस्या आए पूर्वपश्चिम यातायात पूर्ण रुपमा अबरुद्ध हुनेछ । सन् १९६४ देखि पूर्ण रुपमा चालु भएको पुलमा सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन् । नौ लाख ५० हजार क्यूसेक पानीको बहाव धान्न सक्ने क्षमता भए पनि पछिल्लो समय नदीको सतहमा बालुका थुप्रिएका तीन लाखभन्दा बढी पानीको बहाव खतरा हुने प्राविधिकहरुले बताएका छन् । तर सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने अहिले डराइहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । वि.स. २०६५ साल भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदासमेत पूर्व–पश्चिम राजमार्ग लामो समय अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्