प्रदीप परियार
बिर्तामोड । २२ महिनासम्म भारतको कोठीमा नारकीय जीवन बिताएकी नेपाली चेली चरिमाया तामाङ शुक्रबार बिर्तामोडमा भेटिइन् ।
कार्यक्रमको शिलशिलामा झापा आएकी तामाङले नेपाली चेलीले कोठीहरुमा अझै नारकीय जीवन बिताउनु परेको सुनाएकी छिन् । मानव बेचबिखन विरुद्ध विभिन्न अभियान चलाउँदै महिलाको उद्धार र पुनस्र्थापनमा लागेकी उनी पनि किशोरावस्थामा बेचिएकी थिइन् ।
सिन्धुपाल्चोक घर भएकी तामाङ २०५० सालमा बेचिएकी हुन् । चैत महिनाको कुरा हो । गाउँका सबै दिदीबहिनीहरु घाँस दाउरा गर्न शिवपुरी जंगल जान्थे । १६ वर्षीया चरिमाया पनि सँगसँगै घाँसदाउरा गर्न गइन् । घाँस दाउरा गर्न सँगै गएका दिदीबहिनीले छोडेर फर्किसकेछन्, उनले थाहै पाइनन् । हातमा घडी त थिएन त्यही पनि स्कूले विद्यार्थीहरु स्कूल जाने समय भएकाले दश बजेको थाहा भयो । जंगलको नेपाली सेनाले हेरचाह गर्थे । कताकता उनले सिटी बजेको सुनिन् । आर्मीले बजाएको होला भन्ने लागेर घाँस बोकेर भाग्ने उनको योजना थियो । तर, सादा कपडामा आएका चार जनाले उनलाई ललाईफकाई गर्न थाले । एक जना चिनेको मान्छे, अर्को एक जना कहिलेकाहीँ देखेको मात्र, दुई जना नयाँ थिए । जंगलमा एकैपटक चार जना युवालाई देख्दा उनको मन आत्तियो । ती युवाले चरिमायालाई प्रलोभन देखाउन थाले । त्यतिबेला उनको बुबा भर्खरै बितेका रहेछन् । बुबा गुमाएको पीडामा उनलाई ती युवाले प्रभावित पार्न खोजे । चरिमायाले उनीहरुका कुनै कुरा नमानेर प्रतिकार गरिन् । सकेसम्म प्रतिकार गरिन् । उनलाई पनि सकेसम्म कुटपिट गरेछन् । घाँस बोक्न ल्याएको नाम्लोले हात बाँधेर औषधि खुवाएको सुनाइन् । कुराकानीका क्रममा उनले आफू बेचिनु पर्दाको पीडा यसरी पोखिन् ।
बन्द कोठाबाट बाहिर हेर्ने सानो ठाउँ थियो । मध्यम वर्गीय परिवारमा हुर्किएकी उनले कक्षा–५ सम्मको शिक्षा लिएकी थिइन् । अक्षर चिन्न सक्ने चरिमायाले त्यो सानो ठाउँबाट भारतको गोरखपुर लेखिएको देखिन् । त्यतिबेला मात्र उनी होसमा आएकी थिइन् । बन्द कोठा । चारवटा खाट रहेछन् । सबैमा सेता तन्ना ओछ्याइएका थिए । चरिमाया घाँस लिन जंगल गएको बेला लगाएको कुनै कपडा उनको शरीरमा थिएन । उनको शरीरलाई पहिलो पटक कुर्ता सुरुवालले ढाकेको थियो । कोठामा देखिएको ऐनासँग उनले पाँच मिनेटसम्म भलाकुसारी गरेको बताइन् । ऐनामा आफूलाई देख्दा समेत नचिन्ने गरी बेहोस भएकी उनी यतिबेला नेपालकै मानव बेचबिखनविरुद्ध काम गर्ने सक्रिय महिलाको रुपमा परिचित छन् ।
कोठामा केही समय बस्दा–बस्दै केही मान्छे आएर उनलाई कास्मिर जाने भन्दै तयार हुन भनेछन् । उनले गोरखपुरबाट आफूलाई घर पुर्याइदिन आग्रह गर्दागर्दै पनि जबरजस्ती टे«नमा चढाइयो । त्यतिबेला सम्म उनी थाह पाउने अवस्था थिइन् । टे«नभित्र चिसो जुस खाएपछि एकैपटक मुम्बईको अँधेरी पुगेको चाल पाइन् । उनले भनिन्– ‘घरवालीको घरमा पुगेछु ।’ बल्ल उनले आफू बेचिइसकेको पत्ता लाइन् । अध्यारो कोठामा नारकीय जीवन बिताउन बाध्य पारियो ।
सुरुसुरुमा ती दिनहरु उनका लागि त्यति सहज भएनन् । वातावरण बुझ्दै गएपछि उनले त्यहाँसम्म आइपुग्ने ग्राहकलाई सम्झाउन सक्ने भइन् । ‘मानवीयता सबैको उस्तै हो म परिस्थितिले यहाँ आइपुगें । मलाई यस्तो जीवन बिताउने रहर छैन’–भन्दै चरिमाया ग्राहकलाई सम्झाउने गर्थिन् । महिनौंसम्म उनले त्यहाँ भित्रको पशुवत व्यवहारसँग जुध्नु पर्यो । मानवता नभएको अन्धकार कोठाभित्रको लडार्इं जितेर आफ्नो देश फर्किएकी चरिमाया अमेरिकाको ‘हिरो एक्टिङ टु एण्ड मोर्डन–डे स्लेभरी अवार्ड–२०११’ ले सम्मान भइसकेकी छिन् ।
भारतका विभिन्न प्रान्तबाट सबै तहका मानिसहरुको भिड त्यो कोठीमा हुन्थ्यो । भारतमात्र नभई विभिन्न देशबाट त्यहाँ बस्नेहरु आफ्नो जीवनसंगिनीलाई छोडेर पनि पुग्थे । सरकारी क्षेत्रका उच्च अधिकारीसमेत त्यस्ता कोठीमा पुगेर रमाइलो गर्ने गरेको उनको भनाई छ । ‘प्रहरी पनि पुग्छन्’, उनले थपिन् ।
२२ महिनासम्म कोठीमा बस्नु पर्दा चरिमायासँग मात्र होइन धेरै नारीहरुसँग असीमित पीडा थिए । भारत सरकारले गरेको निर्णय अनुसार महाराष्ट्र प्रहरीले एक घण्टाभित्र छापा मारेर त्यस्ता किशोरीको उद्धार गरेको थियो । जहाँ चरिमायासँगै दुई सय भन्दा बढी नेपाली चेलीहरु उद्धार भएका थिए ।
२०५३ सालमा कोठीबाट उद्धार गरिएपनि नेपाल सरकारले उनीहरुलाई स्वदेश फिर्ताको लागि कुनै पहल गरेन । संक्रमण हुन सक्ने र नागरिकता नभएको भन्दै तत्कालिन सरकारले उनीहरुलाई स्वदेश फर्काउन मानेन । विभिन्न सामाजिक संघसंस्था र मानवअधिकारवादी संस्थाको पहलमा उनीहरु नेपाल फर्किए । फर्किएको एक वर्षपछि उनले आफूलाई बेच्नेलाई कारबाहीको दायरामा ल्याइन् ।
बेचिनेहरु नेपालका ५० भन्दा बढी जिल्लाका रहेछन् । बेचिएका चेली झापाका पनि रहेछन् । सुगमदेखि दुर्गम सबै जिल्लाका किशोरीहरु बेचिन्छन् । सबै जातजातिका दिदीबहिनीहरुलाई देखें । चरिमाया भन्छिन् – सरकार सुरक्षामा संवेदनशील बन्नुपर्छ । नेपालको सबै क्षेत्र मानव बेचबिखन तथा नियन्त्रणमा लाग्नुपर्छ । यस्तो कार्यमा लाग्ने जोकोहीलाई कारबाही गर्नुपर्छ । अपराध गर्नेलाई कसैले संरक्षण गर्नु हुँदैन । चरिमाया बिगत सम्झँदै भन्छिन्–‘ मानव बेचबिखनविरुद्ध नीति नियम बन्नैपर्छ । उनले किशोरीहरुलाई पश्चिमी संस्कृति स्वीकार गरिहाल्ने समय नआएको सुझाव दिन्छिन् । झापा पनि संवेदनशील भएकाले सबैलाई सचेत र सर्तक रहन उनले आग्रह गरेकी छिन् ।