साथीले चुरोट छोडेछ (कविता) – सुरेश बादल

साथीले चुरोट छोडेछ (कविता) – सुरेश बादल

 

सुरू सुरूमा
मलाई बाल्न नआउँदा
पुरै नबल्नेगरि चुरोट सल्काउँदा
सलाई कोर्नै पनि
दुई तीनचोटि लगाउँदा
ऊ कत्ति पनि झर्को मान्दैनथ्यो
बरू मैले सल्काएर नदिई
एक सर्को पनि तान्दैनथ्यो
यस्तो घनिष्ठ साथीले
आज साथीको नाता नै तोडेछ
बिना कुनै सुचना
उस्ले त चुरोट छोडेछ!

पहिले
उसैले चुरोट तान्नुपर्छ भन्थ्यो
छोरोमान्छेले सबैचीज
जान्नुपर्छ भन्थ्यो
उसैले किनेर ल्याउँथ्यो
कहिले आफैँ सल्काउँथ्यो त
कहिले मलाई लगाउँथ्यो
पछि-पछि
मलाई नै किन्न लगायो
चुरोट खानैलाई क्लास छोडि
हिँड्न लगायो
कतै लुकेर तानियो
कोहि चिनेका आउँछन् कि भनि
बाटो ढुकेर तानियो
तर आज मलाई एक्लै पारेछ
आफ्नो बानी त पुरै सपारेछ
कुलततिरको बाटो मोडेछ
साथीले त चुरोट छोडेछ!

आज मैले
चुरोट तानिरहँदा
ऊ चुपचाप हेरेर बसिरह्यो
म आफु मात्र बिग्रेछु भनेर
मनमा चिसो पसिरह्यो
एक दुई चोटि उसलाई कर गरेँ
उसले त खानै मानेन
भुतभुताउँदै रिसाएर जा भनेँ
अहँ ऊ त जानै मानेन
उसले कसरि छुटाएछ बानी
मैले त सायद छुटाउनै सक्दिन
घन्टा घन्टामा तान्नुपर्छ अझै
म त टुटाउनै सक्दिन
आजकाल अत्यास लागेर आउँछ
चुरोट खान्न भनेर जति सोच्यो
झन् खाउँजस्तो प्यास लागेर आउँछ
अचम्म लाग्छ
चुरोट खान भेटौँ भन्ने साथीले
कसरि कसम तोडेछ
के तपस्या गरेछ कुन्नि
यति सजिलै चुरोट छोडेछ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्