नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकीदै गर्दा मोरङमा चहलपहल

<span class='c1'>नेपाली कांग्रेसको १३ औं महाधिवेशन</span> <span class='c2'>नजिकीदै गर्दा मोरङमा चहलपहल</span>

बिराटनगर माघ ७

नयाँ क्रियाशिल सदस्य आएपछि मोरङ कांग्रेसमा चुनाबी सरगर्मी बढेको छ । कांग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन  माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते, जिल्ला अधिवेशन  माघ २५ गते  र केन्द्रीय महाधिवेशन  फागुन २०, २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न हुने मितितय भएको छ । वडा, गाउँ, नगर, क्षेत्र र जिल्लामा अहिले चुनाबीको रन्को लागिसकेको छ । आफ्नो पक्षमा नेताहरुलाई जिताउन कार्यकर्ताहरु लागि परेका छन् । उम्मेद्वारहरुले समेत कार्यकर्ताहरु माझ भोट मागिरहेका छन् ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकीदै गर्दा मोरङमा पनि नेतृत्व चयनको रस्साकस्सी सुरु भएको छ । संस्थापन र देउवा पक्षले जिल्लाको नेतृत्व हत्याउन लागि  परेका छन् ।  संस्थापन पक्षबाट उम्मेद्वार बन्नेको संख्या आधा दर्जन नजिक पुगेको छ भने देउवा पक्षमा पनि उम्मेद्वार सर्वसम्मत नहुने लगभग निश्चित भएको छ । कोइराला निवासलाई आफ्नो राजनीतिक पृष्ठभूमि मान्दै आएका नेताहरू नै एक हुन नसकेपछि संस्थापन पक्षबाट सर्वसम्मत उम्मेद्वार छान्न सकस भएको हो । मोरङमा मात्र निर्वाचित केन्द्रीत सदस्यको संख्या ५ रहेको छ । केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ कांग्रेसका पूर्व सचिव गोपालमान सिंह  राजभण्डारीलाई मोरङ सभापतिको रुपमा अघि सारेका छन् । अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले तत्कालिन प्रजातान्त्रिक कांग्रेसका सचिव मदन संग्रौलालाई भोट माग्न थालेका छन् । सुजाता कोइरालाले केशव दुलाललाई अघि सारेको बताइएको छ ।

कांग्रेस सभापति सुशील कोइरालाका भाइ एवं मोरङ कांग्रेसका पूर्व सभापति अशोक कोइरालाले विश्वनाथ रिजाललाई जसरी पनि सभापति बनाउन मृदुला कोइरालालाई खर्च दिएर मोरङ पठाएको स्रोतले बताएको छ । निवास सँग निकट स्रोतका अनुसार केन्द्रीय सदस्य गुरुराज घिमिरेले समेत विद्यार्थी नेता केदार कार्कीलाई सभापतिका रुपमा अघि सारेका छन् । तर, नेविसंघ केन्द्रीय सभापतिमा उम्मेद्वारी घोषणा गर्दा डा. शेखर कोइरालाको भरपुर समर्थन बटुलेका कार्कीको उम्मेद्वारीलाई राजभण्डारीको समर्थनमा ‘बार्गेनिङ’ बढाउने आधारका रुपमा हेरिएको छ । डा. शेखर र घिमिरे एउटै कित्तामा रहेकोले पनि कार्कीको उम्मेद्वारीलाई फिक्का रुपमा लिइएको छ । लगातार तेस्रो पटक उम्मेद्वार बन्न नपाउने भएपछि अमृत अर्यालले आफ्नै मनोनित सचिव यदु विष्टलाई अघि सारेका छन् ।  अर्याल देउवा कित्तामा गएपनि औपचारिक रुपमा विष्टले आफूलाई देउवा पक्षमा उभ्याएका छैनन् ।  पर्ख र हेरको रणनीतिमा रहेका केन्द्रीय सदस्य महेश आचार्यको समर्थन रहेका विष्ट पनि आचार्य कै रणनीति पर्ख र हेरको अवस्थामा रहेको बुझिएको छ । बुढानीलकण्ठ दरवारले महामन्त्रीको उम्मेद्वार वा मनोनित महामन्त्री बन्ने संकेत दिए आचार्यले देउवालाई समर्थन गर्ने सम्भावना पनि उत्तिकै रहेको छ । आचार्य देउवासँग टासिएरमा मोरङको राजनीतिक समीकरण पुरै बदलिने एकथरी कांग्रेसको विश्लेषण छ । एक विद्यार्थी नेता भन्छन्–‘देउवालाई मोरङ कांग्रेसका केही नेताले आदिवासी जनजातिबाट जिल्ला सभापति बन्ने वातावरण नभएको रिपोर्टिङ गरिदिएका छन्,विद्यार्थी नेताको भनाईमा सत्यता भए देउवाले सबैभन्दा भर गरेका नेताद्वय डिगबहादुर लिम्बू र दिलिपकुमार गच्छदार नै उम्मेद्वार नबन्ने बताइन्छ । तर शेरबहादुर देउवा निकट समाचार स्रोतले यो वा त्यो बहानामा डिगबहादुर लिम्बूको उम्मेद्वारी नरोकिने दाबी गरेको छ । डिगबहादुर लिम्बू उम्मेद्वार बने उहाँको जित सुनिश्चित छ, स्रोत भन्छ–उहाँलाई मन्त्री वा केन्द्रीय सदस्यको ‘ललिपप’देखाएर लोभ्याउने काम भइरहेको छ भन्ने सुनिएको हो ,तर त्यस्ता लोभमा उहाँ अल्मलिनु हुन्छ भन्ने लाग्दैन् ।’ मोरङ कांग्रेसको नेतृत्व आफ्नो हातबाट उम्काउन न त कोइराला निवासले चाहेको छ ,न देउवा पक्ष र अमृत अर्यालले । संस्थापन पक्ष आन्तरिक समस्या समाधान गर्न नसक्ने गरी थलिएको छ । अशोक कोइराला र मृदुलाको हठका कारण विश्वनाथ रिजाल उम्मेद्वार बन्ने निश्चित छ भने गोपालमान सिंह राजभण्डारी निवासबाट उम्मेद्वार बन्नै पर्ने सर्वाधिक रोजाईका ब्यक्ति हुन् । तर युवा पूस्ताले उनलाई ‘डेटएक्स्पायर’नेता भन्दै आएको छ । मोरङ कांग्रेसको राजनीति नजिकबाट बुझेका एकजना पुराना नेता भन्छन्–पालो राजभण्डारी कै आएको हो, तर उहाँलाई सभापति बन्न नदिन अशोक कोइराला , दिलिपकुमार सापकोटा हात धोएर लागेका छन् । निवास भित्रको गुट उपगुट ब्यवस्थापन गर्न नसके नेतृत्व फुत्किने डर भएपनि निवासले जसले जिते पनि उसलाई मन्त्री वा केन्द्रीय सदस्यको प्रलोलन देखाएर सुशील कोइरालालाई मत माग्ने रणनीति लिएको छ । देउवा पक्षले पनि सर्वसम्मत उम्मेद्वार चयन गर्न नसक्ने अवस्था देखिएको छ । अघिल्लो अधिवेशनमा संस्थापन पक्षबाट सभापति जितेका अमृत अर्याल यो पटक क्याम्प परिवर्तन गरी देउवा पक्षमा लागेका छन् । तर काठमाडौं जाँदा देउवा र मोरङ आउँदा आफ्नो नीजि हैसियत प्रस्तुत गर्दै आएका  अर्यालको राजनीतिक रणनीति बुझ्न उनीनिकट कार्यकर्ताहरूले नै बुझिरहेका छैनन् । अर्याललाई देउवासँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेका डिगबहादुर लिम्बू आफू सर्वसम्मत उम्मेद्वार बन्न पाउनु पर्ने दाबी गरिरहेका छन् ।

तर देउवा पक्षमा अर्याल र लिम्बूसँगै दिलिपकुमार गच्छदार पनि आफूलाई सर्वसम्मत उम्मेद्वार बनाउन केन्द्रीय नेतृत्वसँग लविङ गरिरहेको बुझिएको छ । संस्थापन पक्षका उम्मेद्वारहरू मध्ये गोपालमानसिंहराजभण्डारी सबैभन्दा पुराना र कोइराला परिवारका आज्ञाकारी उम्मेद्वार मानिन्छन् । उनलाई नजिकबाट चिन्ने कांग्रेसजनका अनुसार तत्कालिन कोइराला निवासका विश्वासपात्र मानिएका राजभण्डारीसँग स्वर्गीय नोना कोइराला र गिरिजाप्रसाद कोइरालाको किचन क्याविनेटमा रहेर काम गरेको अनुभव छ । यद्यपि पछिल्लो दशक कांग्रेस राजनीतिमा उनको चर्चा कम हुने गरेको छ । नोना र गिरिजाप्रसादकोइरालाको निधन पछि छायाँमा परेका राजभण्डारी हाल आएर नोना पुत्र डाक्टर शेखरसँग निकट रहेका छन् । गिरिजाप्रसाद कोइरालासँग अन्तरंग सम्बन्ध कायम गर्न सफल राजभण्डारीले प्रतिबन्धित कालमा गरेको काम र सुजाता कोइराला सक्रिय राजनीतिमा आउँदै गर्दा ओझेलमा पर्दै गएकोले सुजाताले राजभण्डारीलाई सहयोग गर्नेमा शंका उठ्न उठेको छ । सभापतिको दावी गरिरहेका मदन संग्रौलालाई कांग्रेस महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालको भरथेक रहेको छ । संग्रौला युवाहरू बीच लोकप्रिय मानिन्छन् । तर मोरङ कांग्रेसलाई हाक्न सक्ने क्षमता संग्रौलाले बटुलि नसकेको बताइन्छ । विगतमा प्रजातान्त्रिक कांग्रेसको मोरङ नेतृत्वमा रहेर विभिन्न भूमिका निर्वाह गरिसकेका संग्रौला पछिल्लो समय मीनेन्द्र रिजालसँगै संस्थापन पक्षमा लागेका हुन् । यस्तै सचिवका आकांक्षीको संख्या पनि आधा दर्जन नाघेको छ ।

वर्तमान कोषाध्यक्ष नागेश कोइराला, क्षेत्र नं. ८ का क्षेत्रीय सभापति रोहित कार्की, नेपाल टे«ड युनियन कांग्रेसका सह कोषाध्यक्ष जर्नादननिरौला, महासमिति सदस्यद्वय ललित अधिकारी, महेन्द्र सुवेदी, जिल्ला सदस्य मानबहादुर लिम्बू र राजु मास्केको उम्मेद्वारी घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्