कथा प्रेम दिबसको -देबकोटा सागर

कथा प्रेम दिबसको -देबकोटा सागर

------------------------------------
"सुन न नानु, बिहेको कुरा सोच्यो कि मलाई जहिल्यै यौटै कुराको डर लाग्छ भन्या!"
"के कुराको डर बाबा?"
"मलाई मेरो खुट्टा कसैले छोयो कि कस्तो काउकुती लाग्छ के, तिम्रा माइतीले जल खाने बेला त म काउकुती लागेरै मर्छु होला!"
(जिस्काउँदै) "बिचरा! अझ मेरो त खानदानै ठूलो छ! बिजोग हुनेभो तिम्रो त!"
(सपना बेस्सरी हाँस्छे)
"और हँसो, और हँसो! मैले नि जान्याछु, अन्मिने बेला तिमी रुँदा मैले पनि खुब जिस्काउँला नि, पख न!"
(सचिन पनि जिस्किन्छ)
"लौ, म किन रुनु नि? तिम्रो घर जाने बेला म त झन् खुसी हुँदै जाने हो! बरु रुनै परे तिमी रोऊ, मलाई जिन्दगीभर झेल्नु पो पर्छ त त्यसपछि तिमीले!"
(मख्ख पर्दै) "लौ लौ, उसोभए कोटा पुर्याउन म नै रोईदिउँला, तर खुसीको आँसु!"
(दुवै एकअर्काको आँखामा हेर्दै मुस्कुराउँछन्। अनि सपनाले आफ्ना ओंठ सचिनका ओंठमा टाँसीदिन्छे)

"बाबा, बिहेमा तिमीले दौरा-सुरुवाल लगाउनुपर्छ है?"
"धत्! दौरा-सुरुवाल लगाएपछी त ढाका टोपी पनि लगाउनुपर्छ! मलाई त कस्तो अड फिल हुन्छ टोपी लगाउँदा! जहिल्यै दशैँ-तिहारमा ड्याडीले जबर्जस्ती भिराईदिनुहुन्थ्यो! रहर गरेर त त्यहि नागरिकताको लागि फोटो खिच्ने बेलामा लगाइयो, अब सधैलाई त्यसैले पुग्छ!"
"नाइँ के, तिमीले दौरा-सुरुवाल नै लगाउनुपर्छ, त्यो पनि पाल्पाली ढाकाको!"
"तिमीले कर नै गर्छ्यौ भने त ठिकै छ नि नानु, लगाईदिउँला! यसै पनि मेरो पहाडघर पाल्पा नै हो क्यारे, पाल्पाली ढाकाको दौरा-सुरुवाल कति नै पो नसुहाउला र! फेरी नेपालीको छोरोलाई ढाकाटोपी यसैपनि राम्रो देखिहाल्छ नि! हैन त नानु?"
(फुरुंग हुँदै) "सुन न बाबा, म त बिहेमा अरेन्ज कलरको सारी लगाउने हो है!"
(जिस्काउँदै) "अरे वाह! गेरुवा? अनि बिहेको मण्डपमा ब्याकग्राउण्ड म्युजिक चाहिं "रङ्ग दे तु मोहे गेरुवा।।।" रिपिटमा घन्काउने होला होइन? तिमीलाई गेरुवस्त्र धारण गर्ने रहरै भए अहिल्यै 'श्रीराम श्रीराम' वाला पछ्यौरा किनेर दिउँ त? किन बिहेको सारी कुरिराख्नु पर्यो र?"
(सचिन हाँस्छ)
"खुब! जिस्काउन त कति आउँछ है तिमीलाई?"
(मस्किंदै) "अनि आफ्नी प्यारीलाई नाजिस्काए के अर्काकीलाई जिस्काउनु त?"
(सपना मुस्कुराउँछे। अनि उसको मुस्कानसंगै सचिन पनि मुस्कुराउँछ)

टौदहको किनारमा यो प्रेमिल जोडी करीब दुई घण्टादेखी यसरी नै मस्त छ। सपनाको टाउको सचिनको छातीमा अडिएको छ। अनि सचिनको दाँया हातले सपनालाई अँगालेको छ। दुवैका खुट्टाहरु भने टौदहको चिसो पानीमा कुर्कुच्चासम्म डुबेका छन् अनि पानीमा स्थिर बन्न खोजिरहेको उनीहरुको प्रतिबिम्बलाई चलायमान बनाउंदै एकै रीतमा हल्लिरहेका छन्। मानौं दुवै यौटै यात्रामा छन् अनि दुबैको गन्तव्य एकै छ। अनि दुवै एकअर्काको साथ अँगाल्दै खुसीखुसी एकैसाथ लम्किरहेछन् त्यस गन्तव्यतर्फ!

(सपनाको बाँया हात आफ्नो हातमा लिँदै) "नानु, तिमीले अस्ती भर्खर लगाएको मेहेन्दी कति छिटो खुइलीसकेछ त!"
"अँ के हेर न, अचेल मेरो हातमा मेहेन्दी टिक्नै छोड्यो भन्या! मेहेन्दी नक्कली भएर हो कि तिम्रो माया गाढा नभएर हँ?"
"खुब! आफूले गतिलो मेहेन्दी लगाउनु छैन अनि मेरो मायामा पो शंका?"
(सचिन ठुस्किन्छ)
"उफ! हेर न रिसाको! जिस्किन पनि नपाउनु?"
(मुस्कुराउँदै) "अनि म पनि त रिसाएझैं गर्न पनि नपाउनु? बिहेमा चाहिं तिम्रा हातमा मेहेन्दी म आफै लगाईदिन्छु, हस्?"
"अँ अँ, भैहाल्छ नि! कत्तिन मेहेन्दी लगाईदिने एक्स्पिरीएन्स निकै भएजस्तो के! पार्लरमा पार्ट-टाइम जब गर्छौ कि क्या हो? कि साउनको महिनामा बाटोमा मेहेन्दी लगाईदिने पसल थापेर बसेथ्यौ र?"
(सपना खित्का छोड्दै हाँस्छे)
"तिमीलाई के थाहा! म त अब्बल दर्जाको प्लेबोय पो त! यस्ता जाबा मेहेन्दी त कतिको हातमा लगाइयो कति!"
(यति भन्दै सचिन जोड-जोडले हाँस्न थाल्छ)
"जाऊ...बोल्दिन तिमीसँग..."
(सपना ठुस्किन्छे)
(सपनालाई फकाउन सचिन धोद्रो स्वरमा गाउन थाल्छ) "रिसाउँदा नि आफ्नै...खुसी हुँदा नि आफ्नै..."
(सपना फिस्स हाँस्छे। अनि उसको हाँसोसंगै सचिन पनि हाँस्छ)

***

[करीब २ महिनापछी]

"कति बेर गरेको के! फ्लाईट छुट्ला भन्ने चिन्ता पनि छैन कि के हो?"
(सचिन फोनमा कराउँछ)
"ह्या यो घरका मान्छेहरु यस्तै हुन् के! केके सटरपटर गरिराख्या हुन् खै, भ्याउँदै भ्याउँदैनन्!"
(सपना पनि फोनमै झर्किन्छे)
"ल ल नानु, छिटो गरेर आऊ, म डिपार्चर टर्मिनल अगाडी पर्खिराछु!"
"हस् बाबा, आइहालें! टाईम अझै बाँकी छ नि! बरु तिमीचाहीं यति छिटै किन पुग्नुपर्या नि? मलाई बिदाई गर्न हतार भएर हो?"
(सपना सचिनलाई जिस्काउँछे)
"बिदाई त मन नलागेपनि गर्नुपर्ने बनाईहाल्यौ! नजाऊ भन्न पनि नमिल्ने, जाऊ भन्न पनि नसकिने..."
(सचिन भावुक हुन्छ)
"फेरी...सेन्टी कुरा नगर न बाबा...जाने बेला मलाई रुवाउँछौ हो?"
"हँ? सेन्टी रे! को भो सेन्टी? छिटो आऊ तिमी।।।बिदाई गर्न हतार भो मलाई!"
(सचिन सम्हालिंदै जिस्किन्छ)
"हेहे! आएँ बाबा आएँ!"
(सपना फोन काट्छे)

सचिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर टर्मिनल अगाडी आँखामा अधकल्चो नींद लिएर सपनाको बाटो हेर्दैछ। रातभर सपनासँग फोनमा गफिएर सुतेन, अनि बिहान फेरी नीरजको हस्पिटलमा अपोइन्टमेन्ट रे, साथी नगईदिई भएन भनेर गयो। त्यताबाट सिधै एयरपोर्ट आको, निकै छिटो पो भएछ। कुर्दकुर्दा बोर भएर मोबाइल निकालेर फेसबुक चलाउन थाल्छ र स्ट्याटस अपडेट गर्छ---
"...विल मिस यु अ लट, सेनोरिटा! (फिलिंग ब्ल्यांक विथ सपना)"

सचिन भावुक हुँदै रातीको सपनासंगको फोन गफ सम्झिन्छ---
"...नानु, ठ्याक्कै भ्यालेन्टाइन वीकको सुरुमै मलाई छोडेर जाने भयौ है?"
"टिकट नै त्यस्तै मिलाईदिनुभो त ड्याडीले! क्या रिसउठ्दो के!"
(दुवै भावुक भएका थिए हावा हुन लागेका भ्यालेन्टाइन प्लानहरु सम्झेर)
"आई लभ यु,बाबा! विल मिस यु सो सो सो मच!"
"आई लभ यु टू, नानु! विल मिस यु मोर! तर अहिले चाहीं 'सो सो सो' भन्न छोडेर सो जाओ बच्ची, नहीं तो गब्बर आ जाएगा!"
"हाहा! बल्ल त बिहानको पौने पाँच भयो, सुत्ने बेला अझै भएकै छैन!"
(दुवै एकैसाथ हाँसेका थिए )

सचिनको पर्खाई बल्लतल्ल सकियो। सपना आफ्ना परिवार र केही साथीहरुका साथ हाजिर भई। पिंक ड्रेसमा परी जस्तै सजिएर आएकी थिई सपना। निधारमा रातो अक्षता, गलामा खादा भिरेर मन्दमन्द चलिरहेको हावामा खुला छोडेको कपाल हल्का उडाउँदै उभिएकी थिई सपना। एकचोटी त सपनालाई यति राम्री देखेर सचिन साँच्चै सपनामै भएजस्तो फिल गर्यो। यसैपनि उसकी सपना अति नै राम्री थिई, झन् आज यो बिदाइको पलमा सचिनले सपनालाई आजसम्मकै सबैभन्दा सुन्दर देख्यो र एकटकले निकैबेर हेरिरह्यो। आउनासाथ सबैले एकचोटी माथी डिजिटल बोर्डमा हेरे, कतार एयरवेजको स्पेन जाने फ्लाईट अन टाईम देखाईराखेको थियो। सचिनले घडी हेर्यो, सपना टर्मिनलभित्र छिर्न पन्ध्र मिनेट मात्र बाँकी रहेछ।

"लौ लौ छिटो गरौँ, टाईम भयो।", सचिन बोल्यो।
अनि सुरु भयो बिदाइका लहर। सबैले पालैपालो बिदाइका शब्द खर्चिए, अँगालो हाले, आँखा भिजाए। अन्तिममा बल्ल सचिनको पालो आयो। सपना उसको सामु उभिई। दुवैका आँखामा आँसु टिलपिल भए। दुवैका ओंठबाट कुनै शब्द निस्किएनन्। बस् एकतमासले एकार्कालाई हेरिरहे। अनि सपनाले सचिनलाई गर्ल्याम्म अँगालो हाली। सचिनले पनि सपनालाई अँगालोमा कस्यो। दुवैका मुटु बेतोडले कुदिरहे। निकैबेर एकार्कालाई महसुस गरेपछि बल्ल दुवैले अँगालो खुकुलो पारे। सचिनले एउटा उपहारको पोको सपनाको हातमा थमाएर "ह्याप्पी भ्यालेन्टाइन, नानु" भन्यो। सपनाले आँखाबाट मनका भाव बगाई। "धत् छुच्ची! गाजल बिग्रिन्छ नि, आँसु बगाउन नपाई!", सचिन सपनालाई सम्हाल्न खोज्छ। सपना फिस्स हाँसी र सचिनको ओंठमा आफ्ना ओंठ जोडेर मौन बिदाई लेखिदिई। मुकदर्शक भएर बसिरहेका परिवार र साथीहरुको भीडबाट कसैले "अबेर भो" भनेको सुनियो। अनि सपना आँखा पुछ्दै टर्मिनल भित्र छिरी। सबै आँखा तन्काउँदै हात हल्लाईरहे। सपना भित्र पुगेर टक्क अडिई र फरक्क फर्केर एकछिन हात हल्लाईरही र रुन्चे मुस्कान छोडेर अलप भई। सचिनका हात भने हल्लिईरहेकै थिए...

"थुक्क, बसीबसी पो निदाएछु! दिउँसै सपना देखेर..."
सचिन झस्किंदै ब्युंझिन्छ। दिउँसो देखेको सपना कहिले पो पुरा हुन्थ्यो र! तैपनि कति मिठो सपना देखेको! एकछिन उसलाई त्यो सपनाको डाह लागेर आयो! फेरी होस सम्हाल्यो र यताउति हेर्यो। एयरपोर्टमा चहलपहल निकै छ। तर उसको रातभर नसुतेर निद्रा सिंगै बाँकी भएका आँखा भने सपनाको बाटो हेरिरहेका छन्। अघिल्लो दिन राती सपनाको फेसबुक स्ट्याटस देखेर त बल्ल थाहा पाएको उसले कि आज ऊ जाँदैछे भनेर। धन्न दुईपटक ब्लक खाईसकेर पनि अझै ऊ फेसबुकमा 'साथी' छे र सचिनले यति भएपनि थाहा पायो। कति फोन गर्यो तर उताबाट फोन काटिने बाहेकको रेस्पोन्स अरु केही आएन। उसका नजिकका अरु कोहीसँग सम्पर्क भएको भएपनि उसले यति कष्ट पाउने थिएन होला। आज बिहानै एयरपोर्ट आएर सोधीखोजी गरेपछि बल्ल उसले स्पेन जाने फ्लाईटको टाईम पत्ता लगायो। धन्न एउटा मात्र फ्लाईट भएकोले उसकी सपना यसैमा जाने हो भन्नेमा ऊ ढुक्क भयो। साथीहरुले नजा भन्दा पनि मन थाम्न सकेको भए पो! बिहानैदेखी एयरपोर्ट आसपास भौंतारिईरहेछ ऊ। राती उसको फेसबुक स्ट्याटस देखेपछी उसको मुड एकैछिन पनि गुड रहन सकेन। गोपी र नवीनलाई अफ्नोमा बोलायो। टन्न पियो अनि केटाहरुलाई पनि पिलायो। अनि रातभर रक्सीको नसामा सपनाको बखान गरेर साथीहरुको कान पकायो। केटाहरुले नबुझेका होइनन् कि उसलाई रक्सीको होइन मायाको नसा लागेको हो। तैपनि जति सम्झाउन खोजेपनि मान्ने होइन ऊ। "उसले मलाई अझैपनि माया गर्छे...तिमीहरुले उसलाई बुझेकै छैनौ" भन्दै रटान लगाउने बाहेक केही बोल्दैन, सपनाको विरुद्धमा एक शब्द पनि सुन्नै खोज्दैन।

"हैन उसले तँलाई साँच्चै अझैपनि अलिकति पनि माया गर्ने भए यसरी देशै छोडेर जानेबेला पनि किन केही भन्दिन त? तेरो फोन उठाएर दुईचार शब्द पनि किन खर्चिन्ने त? किन तैंले यति मरिहत्ते गर्दापनि केहि वास्ता गर्दिने त हँ?"
(गोपी प्रश्न माथि प्रश्न थुपार्दै बम्किन्छ)
"उसको रिस नै त्यस्तै छ त। फेरी उसका पनि आफ्नै समस्याहरु होलान्। माया नै नगर्ने त हैन के। पहिले खुलेर देखाउँथी, अहिले रत्तिभर देखाउँदिन...तेत्ति हो!"
(सचिन लर्बराउँदो बोलीमा उत्तर दिन्छ)
"भुत्रो माया! उसको रिसले विष बनेर तँलाई मार्दैछ भन्ने बुझ्दिने उसले? समस्या भए भन्न सक्दिने? मिलेर समाधान खोज्न सकिन्न? समाधान बिनाको समस्या त हुँदैन त कुनैपनि! यस्तो पनि माया हुन्छ कहीं?"
(गोपी झन् कुर्लिन्छ)
"खै के हो के हो! जसले जति जे भनेपनि उसको माया नलाग्ने भए पो! समय सधै खराब त नरहला नि यार, सब ठीक हुने दिन पनि आउँछ के! पक्कै आउँछ! पहिले सबै गज्जब थियो त, अहिले यस्तो दिन पनि आयो। फेरी गज्जब दिन फर्केर कसो नआउला र? समय चक्र हो, घुमिरहन्छ। सुखमा नमात्तिनु अनि दु:खमा नआत्तिनु भन्छन् हैन र?"
(सचिन सम्हालिंदै आशावादी भाव पोख्छ)
"अँ, त्यही भन्दै बौलाईराख्! भोली परदेश लाग्छे अनि टन्नै वर्षपछि कहींकतै भेट भएछ भने उसले आफ्नो बच्चाको मुखबाट तँलाई 'मामा' भनाएपछी त्यहि समयचक्रलाई पूजा गर्दै बसेस्!"
(गोपी रिसले चुर हुँदै रक्सी पिएर रित्तिएको गिलाँस पर मिल्काउँछ)
"छोड्दे यार, यो प्रेमी हुने नाउँमा पागल भएको दु:खी आत्मालाई कति गाली गर्छस्?"
(नवीनले गोपीलाई सम्हाल्ने कोसिस गर्यो)

रातभर यसैगरी तर्कवितर्क भइरहे तरपनि न केटाहरुले सचिनलाई सम्झाउन सके न सम्हाल्न नै। सचिन पनि रातभर सोचिरह्यो--- आखिर कुरा कहाँनेर यसरि कहिल्यै नबन्नेगरि बिग्रियो? दुई महिनामै यत्रो कायापलट कसरि भयो? गल्तीहरु नभएका होइनन्, तर गल्तीको प्रायश्चित गर्ने मौका नै नदिई अपराध नै ठानेर सजाय किन दिईरही उसले? के उसलाई पनि गाह्रो हुँदैन होला त? के उसलाई साँच्चै मेरो माया लाग्न छोडेकै हो त? के ती सबै बाचाकसम हावा भएकै हुन् त? के मैले अब आस गर्ने कुनै ठाउँ बाँकी नरहेकै हो त? यस्तै उत्तर नआउने अनगिन्ति प्रश्नहरु मनमा खेलाउंदै उसले रात बितायो। रातभर नसुतेको केटो बिहान रक्सीको नसा पुरा उत्रीनसक्दै निस्किन लाग्यो। केटाहरुले कति सम्झाए नजा भनेर, उसले मरिगए टेरेन। केटाहरुले हार खाएर अन्त्यमा संगै जान खोज्दा पनि उसले एक्लै जाने अड्डी कस्यो। र केटाहरुलाई सुतओ भनेर ऊ एक्लै निस्किएको थियो हातमा उपहारको पोको बोकेर।

पर्खाईको लम्बेतान चार घण्टा नाघेपछि बल्ल उसकी सपना देखिई। उसको लत्रिएको अनुहार उज्यालियो। तर उसकी सपनाले उसलाई देखेको नदेख्यै गरि। बिदाईका रित पुर्याए उसका परिवार अनि साथीहरुले। सबैको पालो सकिएपछि ऊ पनि अघि सर्यो। तर उसको पाइला भन्दा छिटा पाईला लम्काएर सपना टर्मिनल भित्र बढी। ऊ हेरेको हेर्यै भयो। निकैबेरपछी भित्रबाट सपनाले हात हल्लाई, उसका परिवार अनि साथीहरुले पनि हात हल्लाए। अनि सपना अलप भई। उसका ती हात हल्लाईमा आफ्नो भाग नपरेपनि सचिन भने एक हातमा उपहारको पोको बोकेर अर्को हात हल्लाईरह्यो। उसकी सपना उडी तर उसका सपना नराम्ररी पछार्रिए, कहिल्यै उठ्नै नसक्ने गरि!

उसले नवीनलाई सम्झियो। "तैंले यत्रो वर्षसम्म नमनाको भ्यालेन्टाइन यो पाली धुमधामले मनाउने भैस् हैन त? बल्ल आएर तैंले आफ्नो यतिका वर्षदेखिको सपना भेटिस्, आई एम रियल्ली भेरी ह्याप्पी फर यु यार!" उसले सपनासँगको सम्बन्धको बारेमा पहिलोचोटी सुनाउँदा नवीनले भनेका कुराहरु उसका कानमा गुन्जिए। अनि उसले आफ्नो हातमा रहेको उपहारको पोको नियाल्यो। विगत सात वर्षदेखि हरेक भ्यालेन्टाइनमा उसले आफ्नी कहिल्यै नभेटिएकी सपनाको लागी उपहार संगालेर राखेको थियो। आज ती सबै उपहार उसले पोको पारेर बिदाईमा चढाउन ल्याएको थियो। तर यो भ्यालेन्टाइन पनि उसको रित्तै हुने पक्का भयो। यस्तै कुराहरु सोच्दासोच्दै ऊ एयरपोर्ट बाहिर आइपुग्यो। अलि पर पुगेपछी के सुर चढ्यो कुन्नी, ऊ बेतोडले कुद्न थाल्यो। तिलगंगाको ओरालो कटेपछि बल्ल उसले आफ्नो सास थाम्यो। अनि बागमतीको पुलनेर उभिएर एकचोटी आँखाबाट आँसु चुहाउँदै पागल जस्तैगरि जोडजोडले हाँस्यो। अनि नाभीदेखिको बल लगाएर उसको हातमा रहेको त्यो उपहारको पोकोलाई जतिसक्दो पर मिल्कायो। बागमतीको पानीमा 'छप्ल्यांग...' आवाज सहित उपहार सेलाएपछि उसले मनमनै आफैलाई लोप्पा ख्वायो र भन्यो, "भ्यालेन्टाइन को अर्थ त मन चुडियको मान्छेलाइ मात्र थाहा हुन्छ !"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्