बिराटनगर (कविता) – सुरज सुवेदी

बिराटनगर (कविता) – सुरज सुवेदी

बस्न थालेपछि
मन पर्छन् ठाँउहरू

म गर्मी छु
शितल खोजेर बसे
म चिसो छु
न्यानो जोडेर बसे
म सँगै बस्नेहरू
म जस्तो छु
त्यहि अनुकुल भएर बसे

एक्लै भएको भए
म शहर हुने थिईन

कतिले
ईतिहास भएर पनि
कमजोर बर्तमान भने
संभाव्यता भएर पनि
अड्किएको विकाश भने
तर जे जे भने
मेरै काखमा बसेर
माँया गर्दै भने
मेरो स्वास्थ्यको चिन्ता गर्दै भने

नबसेकाहरूलाई
माया नलाग्न सक्छ
किनकी बस्न थालेपछि मात्र
आफ्नो हुन्छन् ठाँउहरू

धेरैधेरै
साना छिमलका सपना हरू
मै सँग निदाएका छन्
दुखेका हजारौ चोटहरू
मेरै स्याहारले पुरिएका छन्
हिँडेका कयौ गन्तव्यहरू
मेरै रिक्सा चढेर सुरू भए
बसाई सरेर आएका विगतहरू
मेरो आगनमा उभिएका छन्

जो आएर भेट्यो र छोयो मलाई
-मैले उसलाई विर्सिएको छैन
जो आएर बस्यो र जान्यो मलाई
-उसले मलाई विर्सिएको छैन

अरू जे भएपनि
विर्सिईएन भने
आफ्नो भईरहन्छन् ठाँउहरू
जसरी नविर्सिए सम्म
आफ्नै भईरहन्छन् मान्छेहरू

उसले तिर्खाएर कल खिचिरहँदा
मैले पानी दिन्न कहिल्यै भनिन
उसले अधिकारको लडाँई लडिरहँदा
मैले जमिन दिन्न कहिल्यै भनिन
मन्दिर, मस्जिद, गुम्बा र चर्च
सबैको जग मैले उठाए
दर्जनौ भाषा र सँस्कृतीका
समान आवाज मैले सुने

मैले रूख भएर वर्षौ सम्म
ऋतुहरूलाई सहेको छु
मैले जरा भएर वर्षौ सम्म
पाउलाहरूलाई हुर्काएको छु

हुर्काएपछि नै रूखलाई
आफ्नो हुन्छन् छाँयाहरू ।

सुरज सुवेदी
कीर्तिपूर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्