सजिलो छैन विराटनगरकाे चुनाबी आँकलन, यस्ताे छ अवस्था ?

सजिलो छैन विराटनगरकाे चुनाबी आँकलन, यस्ताे छ अवस्था ?

मुलुककै सबैभन्दा बढि मतदाता रहेको मोरङमा रहेको ऐतिहासिक नगर विराटनगर उपमहानगरपालिकामा निर्वाचनको मिति नजिक आइरहेको बेला चुनाबी जोडघटाउ पनि तीब्र बनिरहेको छ । नेकपा माओवादी केन्द्र बाहेक अन्य दलहरुले नगरका उम्मेदवारको चयन गरिनसके पनि सबैतिर चुनाबी आंकलन र जोडघटाउले स्थान लिन थालेको छ ।

करिब १ लाख १४ हजार मतदाता रहेको विराटनगर उपमहानगरपालिका साविकको विराटनगरमा बुधनगर गाविसका १, ३, ४ र ५ नम्बर वडा तथा झापा बैजनाथपुर गाविस मिलाएर १९ वडा कायम भएको छ ।

कोइराला परिवारको राजनीतिक भूमि तथा गृहनगर भएको कारण नेपाली कांग्रेसको प्रभाव क्षेत्रको रुपमा चिनिने विराटनगरमा २०५४ सालको स्थानीय निर्वाचनमा भने एमालेले कब्जा जमाएको थियो । बामदेव गौतम गृहमन्त्री रहेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले गराएको निर्वाचनमा विराटनगरसहित देशभरका ५१ प्रतिशत स्थानीय निकाय एमालेले कब्जा जमाएको थियो ।

सो स्थानीय निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेलले कांग्रेसका अमृत अर्याललाई मेयरमा र कांग्रेसका उपेन्द्रकान्त लाललाई एमालेका भुराज राईले उपमेयरमा पराजित गरेका थिए । हाल पौडेल करिब एमालेबाट अलग रहेका छन् भने राई संघीय समाजवादी फोरममा सक्रिय छन् ।

२०५४ को स्थानीय निर्वाचनमा विराटनगरमा जित हाँसिल गरेको एमालेको अवस्था त्यसयताको निर्वाचनमा भने खस्कदै गएको देखिएको छ । बिराटनगरसँग जोडिएका मोरङका तीनवटा चुनाव क्षेत्र ५, ६ र ७ मा २०६४ सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमले र २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जीत निकालेको थियो ।

गत संविधानसभामा नगरसँग जोडिएका ३ क्षेत्रमध्ये दुईवटामा एमाले चौथो स्थानमा थियो भने एउटामा तेस्रो स्थान भएको थियो । प्रत्यक्षतर्फको निर्वाचनमा पहिलो स्थानमा काँग्रेस, दोस्रोमा फोरम, तेस्रोमा माओवादी र चौथो स्थानमा मात्र एमाले रहेको थियो । एमाले क्षेत्र नम्बर ६ मा मात्र तेस्रो बनेको थियो ।

२०७० कै संविधानसभा निर्वाचनको समानुपातिक मत परिणाम हेर्ने हो भने त एमाले छैटौं स्थानमा थियो । समानुपातिकमा काँग्रेस पहिलो, राप्रपा दोस्रो, तेश्रो फोरम नेपाल, चौथो फोरम लोकतान्त्रिक पाँचौ माओवादी र छैटौं स्थानमा एमाले थियो । दोस्रो संविधानसभामा काँग्रेसले २९ हजार, राप्रपाले २३ हजार, फोरम नेपालले १८ हजार, फोरम लोकतान्त्रिकले १५ हजार, माओवादीले ११ हजार र एमालेले ११ हजार ल्याएको थियो । जबकी संविधानसभा २०६४ मा भने समानुपातिकतर्फ फोरमले ५८ हजार, काँग्रेसले ३२ हजार, एमालेले १५ हजार र माओवादीले १३ हजार ल्याएको थियो ।

दुईवटा संविधानसभाको मत परिणाम हेर्ने हो भने सबै दलको मत घटेको देखिएको छ भने अस्वभाविक रुपमा राप्रपा नेपालको मत बढेको थियो । पहिलोभन्दा दोस्रो संविधानसभामा काँग्रेसको ३ हजार, एमालेको ४ हजार, माओवादीको २ हजार मत घटेको थियो । पहिलो निर्वाचनमा ५८ हजार ल्याएको फोरम नेपाल दोस्रोमा विभाजित भएर निर्वाचनमा जाँदा दुबैले ल्याएको मत ३३ हजार मात्र थियो ।

विगतको स्थितिमा गुणात्मक फेरबदल आएन भने मधेसी मतदाताको भूमिका विराटनगरमा निर्णायक हुने अनुमान गरिएको छ । मधेसी जनताबीच विवादित बनेकोले एमालेको मत अझै ओरालो लाग्ने अनुमान गरिएको छ । राप्रपा नेपालले पनि सहानुभूतिको रुपमा प्राप्त गरेको समानुपातिक मत कायम हुने संभावना छैन । त्यो अवस्थामा काँग्रेस र एकीकृत भए मधेसी दलहरु नै विराटनगरमा बलिया देखिएका छन् ।

माओवादीको पछिल्लो एकता, प्रचण्ड नेतृत्वको सरकारले गरेका लोकप्रिय कामहरु, लोडसेडिङ मुक्त अभियान कार्यान्वयन, स्थानीय तह कार्यान्वयन जस्ता मुद्दाहरुको कारण माओवादी विगतभन्दा बलियो भएको अनुमान गरिएको छ । अर्कोतिर प्रमुख दलहरुबीच उम्मेदवार चयनमा हानथाप भइरहेको अवस्थामा माओवादीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेर चुनाबी अभियानमा लागेकोले पनि आफ्नो पक्षमा माहोल बन्दै गएको माओवादी केन्द्रको दावी छ ।

आकांक्षी बढ्दै निर्वाचन नजिकिँदै जाँदा बिराटनगरमा प्रमुख दलबाट मेयर र उपमेयरका आकांक्षी पनि बढ्दै गएका छन् । मेयर र उपमेयर बन्ने होडमा पूर्वमन्त्रीदेखि पूर्वसांसदसमेत देखिएका छन् । यस्तै अघिल्लो संसद र संविधानसभाको निर्वाचनमा उम्मेदवार भएर पराजित भएकाहरु पनि मेयरको दौडमा छन् ।

नेपाली काग्रेसबाट मेयरमा जिल्ला सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, फूलकुमार लालवानी, विश्वनाथ रिजाल, मनोज बस्नेत, डिला संग्रौलालगायतको नाम चर्चामा छ । यस्तै उपमेयरमा सुनिता घिमिरे, प्रमिला थापा, रेखा पराजुली, विजेता अधिकारी, सुनकुमारी कार्की विन्दा कार्की र रीता पोख्रेल चर्चामा छन् ।

एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डितदेखि एमाले मोरङ अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मी र एमालेका नगर इञ्चार्ज सागर थापाको नाम चर्चामा छ । उनीहरुमध्ये रेग्मी उम्मेदवार हुने संभावना छ । उपमेयरमा एमालेबाट सावित्रा रेग्मी, विमला घिमिरे, शिल्पा कार्की र लीला रिजालको नाम चर्चामा रहेपनि शिल्पा कार्कीको संभावना रहेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले भोगेन्द्र यादवलाई मेयरर नमिता न्यौपानेलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । विराटनगरका करिब आधा मतदाता मधेसी समुदायको रहेको कारण यादवलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । यस्तै उममेयरका उम्मेदवार न्यौपाने सक्रिय महिला नेतृ हुन् । अन्य दलबीच उम्मेदवार बन्न हानथाप भइरहेको बेला माओवादीले सर्वसम्मत रुपमा उम्मेदवार छान्नु, युवाहरुलाई मैदानमा उतार्नु र सन्तुलन मिलाएर उम्मेदवारी दिनुले उसको पक्षमा सकारात्मक मनोविज्ञान मतदातामा बनेको पाइएको छ ।

मधेसी दलहरुले निर्वाचनमा जाने कि नजाने निर्णय गरिसकेका छैनन् भने निर्वाचना जाने बताएको फोरम लोकतान्त्रिक र राप्रपाले पनि उम्मेदवारबारे कुनै धारणा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्