भारतीय मूलका लियो वराडकर आयरल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

भारतीय मूलका लियो वराडकर आयरल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । आयरल्यान्डको सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलका नेता चुनिएपछि भारतीय मूलका लियो वराडकर आयरल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनले अस्ति भएको पार्टीभित्रको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी साइमन कोवेनीलाई ६० प्रतिशत मत ल्याएर पराजित गरेका थिए ।

बीबीसीका अनुसार लियो वराडकरका दुई कुरा अहिले निकै चर्चामा छन्, पहिलो उनले आफू समलिङ्गी भएको कुरा सार्वजनिक रूपमै स्वीकार गर्दै आएका छन् र दोस्रो उनी भारतीय मूलका व्यक्ति हुन् ।

वराडकरले अब केही हप्ताभित्रै फाइन गेलका पूर्वनेता एन्डा केनीबाट प्रधानमन्त्रीको पदभार ग्रहण गर्दैछन् । ३८ वर्षीय वराडकर आयरल्यान्डमा अहिलेसम्मकै सबैभन्दा युवा प्रधानमन्त्री हुनेछन् ।

आयरल्यान्डमा सन् १९९३ सम्म समलैङ्गिकतालाई अपराध मानिन्थ्यो । वराडकर युरोपको सबैभन्दा रूढिवादी देश मानिने आयरल्यान्डमा उदारवादको दृष्टान्त बनेर उदाउँदै छन् । यद्यपि श्रमिक अधिकार र प्रगतिशील विषयमा आफ्ना विचारहरूलाई लिएर उनको आलोचनासमेत हुँदै आएको छ ।

विपक्षीहरूले उनका विचारमा दक्षिणपन्थी दृष्टिकोण पाइने भनेर आलोचना गर्ने गरेका छन् ।
वराडकरको चुनावी अभियान सामाजिक र आर्थिक मुद्दाहरूमा केन्द्रित थियो । प्रधानमन्त्री बन्ने निश्चित भएपछि उनका सामु सबैभन्दा ठूलो चुनौती आयरल्यान्डको अर्थव्यवस्थालाई ठिक बाटोमा ल्याउनु र बे्रक्सिटपछि बिग्रेको परिस्थितिबाट देशलाई मुक्त गर्नुछ ।
वराडकरको जन्म १८ जनवरी १९८९ मा डब्लिनमा भएको थियो ।

उनका पिता अशोक मुम्बईबाट आएका एकजना डाक्टर थिए, जसले आयरिस मूलकी नर्स मरियमसँग विवाह गरेका थिए । वराडकरका मातापिताको भेट इङ्ल्यान्डमा भएको थियो । पछि सन् ७० को दशकदेखि उनीहरू आयरल्यान्डमा बस्न थाले । त्यतिखेरको आयरल्यान्ड आजको आयरल्यान्डभन्दा निकै भिन्न थियो । १९९० को दशकसम्म यहाँ समलैङ्किता र तलाक गैरकानुनी थिए । यहाँ निकै थोरै मात्र प्रवासी बस्थे र यो देश युरोपेली संघको एक गरिब सदस्य देश थियो ।

वराडकर आफ्ना पिताजस्तै पेसाले एक जना डाक्टर हुन् । उनी २४ वर्षको उमेरमै काउन्सिलर बनेका थिए र २००७ मा आयरल्यान्डको संसद्मा चुनिएका थिए ।
व्यापारिक कर निकै कम रहेकाले पछि गएर आयरल्यान्डमा बाहिरी लगानीकर्ताहरू ओइरिए र यो देश विश्वका धनी देशमध्ये एक बन्न पुग्यो । सन् २००८ मा विश्वव्यापी मन्दीका कारण आयरल्यान्डको अर्थव्यवस्था धरासायी भयो र यस देशमाथि ७१ अर्ब डलर विदेशी ऋण लाग्यो । सन् २०११ मा फाइन गेल पार्टी सत्ताधारी गठबन्धनको सबैभन्दा ठूलो दल बन्यो ।

वराडकर परिवहन, पर्यटन र खेलकुदमन्त्री बने । पछि गएर उनी स्वास्थ्यमन्त्रीसमेत बनेका थिए । केही समयअघि उनी आयरल्यान्डको समाज कल्याण विभागका प्रमुख बनेका थिए ।
उनी आयरल्यान्डमा सञ्चारमाध्यमले स्थापित गरेका नेताका रूपमा पनि चिनिन्छन् । वास्तवमा उनी सिधा र स्पष्ट कुरा गर्ने नेताका रूपमा परिचित छन् । उनकै वाक्पटुताका कारण समलैङ्गिकतालाई घृणा गर्ने देश आयरल्यान्डमा समलैङ्गिक विवाहबारे भएको २०१५ को जनमत सङ्ग्रहमा यस्तो विवाहलाई समर्थन दिने जनअभिमत प्राप्त भएको थियो ।
उनी अत्यन्त ऊर्जावान्, फूर्तिला र चलाख नेता मानिन्छन् । उनले आफूलाई फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोजस्तै प्रभावशाली अन्तर्राष्ट्रिय व्यक्ति ठान्ने गरेका छन् । तर बीबीसी लेख्छ, उनको वास्तविक परीक्षा चाहिँ अब सुरु हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्