ऐतिहासिक बिराटनगर जुट मिल आजबाट पुनः सञ्चालनमा

ऐतिहासिक बिराटनगर जुट मिल आजबाट पुनः सञ्चालनमा

नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल आज (शुक्रबार) देखि पुनः सञ्चालन भएको छ । मिल ८ दशकअघि वि.सं. १९९३ असार ३० गते स्थापना भएको हो । भारत, कलकत्ताका तत्कालीन उद्योगपति राधाकृष्ण चमरिया र नेपालका श्री ३ जुद्ध शमशेरको योजनाअनुसार मिलको स्थापना गरिएको थियो ।

२००४ सालमा नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले मजदुर आन्दोलनको सुरुवात गरेको उक्त मिल लामो समयसम्म विभिन्न अबरोध तथा बन्द रहेको थियो । अहिले सञ्चालक समितिको सक्रियतामा मिललाई पुनः सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका प्रवन्ध निर्देशक निलहरी काफ्लेले उद्योगको विधिवत रुपमा सञ्चालनको सुरुवात गरिएको बताए । उनका अनुसार सुरुवाति लगानीको रुपमा हालसम्म १ करोड रुपैयाँ लगानि गरिसकिएको छ । “कम्पनीका अधिकांश मेशिनहरु चल्ने स्थितिमा थिएनन् । त्यस्तै कम्पनी भवन, ढोका, झ्याल लगायतका भौतिक पूर्वधारहरुकोमर्मत सम्भारको लागि रकम उक्त रकम खर्च गरिएको थियो,” उनले भने “त्यसका लागि काठमाडौं तथा हाल मिलमा कार्यरत विभिन्न इन्जिनियरका टीमहरुलाई परिचालन गरेका छौं ।”

अहिले पहिलेकै ६० प्रतिशत मेशिनहरु तथा अधिकांश भौतिक पूर्वाधारहरुलाई प्रयोगमा ल्याइएको छ । मिल सञ्चालन प्रारम्भ भएको महिनादिनभित्र करिब थप २ करोड रुपैयाँ लगानी गरिने कम्पनीको भनाइ छ ।

कम्पनी सञ्चानल भएसँगै २ सय ८५ संख्यामा कर्मचारी तथा  कामदारले प्रतिदिन रोजगार पाउने छन् । त्यस्तै दैनिक ३ लाख ३० हजार रुपैयाँको कच्चा पदार्थ उपभोग गरेर ६ देखि साढे ६ सय टन प्रतिदिन जुटका सामग्रीहरु उत्पादन गरिनेछ ।  मुख्य गरी कम्पनीले जुटको बोरा र जुटको सुत्ली उत्पादन गर्ने जनाएको छ । स्वदेशमा खपत नहुने भएकोले अधिकांश उत्पादित समग्रीहरु भारतमा निर्यात गरिने कम्पनीका प्रबन्ध निर्देशक काफ्लेको भनाइ छ ।

सञ्चालनको चार वर्षपछि  १० हजार संख्यामा रोजगारी सृजना गर्ने कम्पनीको दाबी छ । अगामी चार महिनाको अबधिमा मात्रै १२ सय जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । -बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्