के विराटनगर नाटकै हेर्दैन? – सुरज सुवेदी

के विराटनगर नाटकै हेर्दैन? – सुरज सुवेदी

सुरज बिराटनगरले नाटक हेर्छ कि हेर्दैन?’ भेटेको एकै छिनमा सोमनाथ दाइले सोधेको प्रश्न थियो यो। म मण्डला थिएटरमा पुगेको थिएँ।  

यदि यो प्रश्न मलाईनै सोधिएको भए भन्ने थिएँ ‘हेर्छ। बिराटनगरले नाटक नहेरेको भए म पनि नाटक हेर्ने थिइनँ।’ ‘मलाई नाटकको स्वाद बिराटनगरलेनै चखाएको हो।’ मैले धेरैपल्ट यस्तो लेखिसकेको छु ।

तर यसपालि सोधिएको प्रश्न अलिक गम्भीर थियो। एकपल्ट बिराटनगरको टुर गरेर फर्किएका नाटकका निर्देशकले यो प्रश्न सोधेका थिए। वहाँले प्रश्न मलाईनै सोधेको भए पनि मैले त्यसको जवाफ दिन सकिन। बरु उल्टै सोधेँ ‘किन यो प्रश्न दाइ?’

सोमनाथ दाइलाई यसपल्ट पनि बिराटनगरले नाटक हेर्छ कि हेर्दैन भन्ने चिन्ता लागेको थियो। तर मलाई लाग्छ यो चिन्ता सोमनाथ दाइलाई वा नाटक टोलीलाई भन्दा पनि स्वयम् बिराटनगरलाई लाग्नुपर्ने हो।

इतिहास साक्षी छ नाटकले सहरको सभ्यतामा योगदान पुर्‍याउँछ। नाटकको इतिहास पढ्दा ग्रिसलाई सबैले संझिनुको कारण पनि त्यही हो। सहरमा नाटक हुने भनेको नाटक हेर्ने मान्छेहरू हुनु हो, नाटक हेर्ने मान्छेहरू हुनु भनेको कला बुझ्ने मानिसहरू हुनु हो। कला बुझ्ने मानिसहरू हुनु सहरको लागि गर्भको विषय हुनुपर्छ किनकि त्यसले कलाकार जन्माउँछ। कलाकार हुनु भनेको नाटक हुनु हो। यो एउटा चक्र जस्तो यथार्थ हो। नाटकघरको स्टेजमा भएको वास्तविक अभिनय हेरेर प्रभावित हुने धेरै व्यक्तिहरू हुनेछन् जो भोलि कलाकार हुनेछन्। तिनले हुर्किएर बिराटनगरकै कथा भन्नेछन्।

नाटक हुनु भनेको सहरको कथा हुनु हो।

यो सत्य हो कि बिराटनगरमा काठमाण्डौमा जस्तो नियमित नाटक हुँदैनन्। त्यसैले धेरै मानिसलाई नाटक हुने बारेमा थाहानै हुँदैन। प्रचारप्रसार पनि हुँदैन। यस्तोमा जोखिम मोलेर केही नाटक त्यहाँ पुग्छन् र दर्शक नपाएर फर्किन्छन्।

कारण किन हो त?

कुनै एक समूहले आयोजना गरेकाले? कुनै एक व्यक्तिले सहजीकरण गरेकाले? वा त्यसले गरेकोमा म किन जान्छु भनेर बाँकी सबैले असहयोग गरेकाले? पर्याप्त हल्ला वा प्रचारप्रासर नगरेकाले? वा अरू केही?

कारण के के हुन् तपाईँहरूलाईनै थाहा छ। तर त्यसको असर तपाईँहरूलाई थाहा छैन।

बिराटनगरमा पुगेर नाटकले दर्शक नपाउनु नाटकको असफलता हैन। किनकि त्यो नाटक पहिलानै काठमाण्डौमा सफलता बोकेर यात्रामा निस्किएको हो। उसलाई नाटक सफल नहुँदा खासै ठुलो असर पर्दैन सिबाय कलाकारहरूलाई खाली दर्शकको सामुन्ने प्रस्तुत गर्ने लाग्ने अल्छी । तर त्यसले अर्को ठुलो असर कहाँ पुर्‍याउँछ भने नाटक निर्माता वा निर्देशकलाई ‘बिराटनगरमा नाटक लगेमा चल्दैन’ भन्ने थाहा हुन्छ। त्यसले आगामी दिनमा त्यता नाटक लिएर जाने अरू इच्छाहरू पनि मर्छन्। त्यो स्वाभाविक पनि हो।

समाचारमा सुनिरहेको थिएँ कि बिराटनगरको गुरुकुलमा अर्को थिएटर पनि थपिँदै छ। थिएटर थपिनु पक्कै पनि खुसीको कुरा हो तर त्यसले नाटक थप्छ भन्ने बारेमा आशावादी हुने ठाउँ कमजोर हुँदैछ किनकि सहिद मैदान हुनासाथ फुटबल प्रतियोगिता हुन्छ भन्ने हुँदैछ। ठाउँ हुनु पहिलो सर्त हो तर त्यो मात्र पूर्ण चिज हुँदै हैन।

यसपल्ट नाटक एन्टीगोनी लिएर तिनै सोमनाथ खनाल र मण्डलाको टिम बिराटनगर ओर्लिँदैछ। संयोगले त्यो टिममा म पनि सामेल छु। एन्टीगोनी नाटक काठमाण्डौमा बनेका उत्कृष्ट नाटकहरूमध्ये एक हो। यो नाटक बिराटनगर हुँदै थिएटर ओलम्पिकमा सहभागी हुन गुवाहाटी र दिल्ली सम्म पुग्दै छ। बिराटनगरलाई गतिलो नाटक हेर्न अवसर फेरी आइपुगेको छ। यही १३ मार्चदेखि १५ मार्चसम्म (फागुन २९, ३० र चैत्र १  गते)।

मलाई थाहा छैन मेरो यो लेखले केही फरक पार्छ कि पार्दैन। यदि यो लेख कसैले लेखेको हुन्थ्यो र म यति बेला बिराटनगरमा हुन्थेँ भने म जसरी पनि नाटक हेर्न पुग्थेँ। यस्तो लेखनै नपढी पनि पहिला पुगेको हुँ। त्यस बेला भएको नाटक महोत्सवमा हेरेका पाँचवटा नाटकहरू अहिले पनि सम्झिरहेको छु। तिनले मेरो बुझाइमा ठुलो असर पारेका छन्।

मलाई आशा छ तपाईँहरू नाटक हेर्न आउनुहुनेछ। एक्लै हैन साथीहरू लिएर आउनुहुनेछ। हल्ला गर्दै आउनुहुनेछ।

तपाईँ यसपल्ट आउनुभयो भने अरू धेरै नाटकहरू काठमाण्डौबाट हिँड्नेछन्।

Twitter: @skyasesh  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्