शनीवारीय बिशेष : झोराहाटले धानेको साहित्य, बाँसघारीको नाटकघरमा सहित्य उत्सव

शनीवारीय बिशेष : झोराहाटले धानेको साहित्य, बाँसघारीको नाटकघरमा सहित्य उत्सव

विराटनगर, २२ वैशाख ।
बाँसघारी भित्र एउटा सानो टिनले छाएको घर छ । बाहिर टेन्ट टाँगिएको छ । भित्र कल्याङकुलुङ आवाज आईरहेको छ । भित्र कोही कविता भनेका, कोही गित गाई रहेका अनी कोही आफ्ना भावना र सिर्जना अभिब्यक्त गरिरहेका । मान्छेहरुको भिडभाड पनि छ । एक्कै छिन अघि मात्र एक जना मन्त्री आएर खै केके भनेर गएछन् । मन्त्रीले भनेका कुरामा पनि उनीहरुको छलफल चल्दै थियो । कोही बाहिर केही खाँदै गरेको जस्तो पनि देखियो ।  हुन पनि साहित्यीक जमघटमा यस्तै नै हुन्छ । रमाईलो वातावरण थियो शुक्रवार दिनभर नै मोरङको ग्रामथान गाउँपालिकाको झोराहाट नाट्य केन्द्रमा । नाटकघर स्थापना भएको तेश्रो बर्षको अबसरमा यहाँ साहित्य उत्सवको आयोजना गरिएको छ । शुक्रवार विहान ११ बजे देखि शुरु भएको उत्सवमा बिभिन्न कार्यक्रम हुँदै राती अबेरसम्म यस्तै नै गतिबिधि जारी थियो ।
गजल सन्ध्या
यतिवेला झोराहाटमा देश भित्र र बाहिरका बिभिन्न जिल्लाका सहित्यकार कलाकर्मी तथा रंगकर्मीहरुको जमघट छ । शुक्रवार राती रंगमञ्चमा सिर्जना प्रस्तुत गरिरहँदा गजलकार मधु पोखरेलको गजल ‘जव रात ढल्दै थियो’ ले सबैको वाह ππ वाही पायो । सन्ध्याकालिन साहित्य वाचनमा १४ जनाले गजल सुनाए । एक नम्बर प्रदेशका १४ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी सबै जिल्लाका एक एक जनाले गजल वाचन गरेको झोराहाट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागार्इँले जानकारी दिए ।
बिहानी कविता
दिउँसो बन्द वाकस नाटकमा रमाएका कलाकर्मीहरु रातीको सन्ध्याकालिन साहित्यमा झुमेका थिए । आज बिहानै देखि कविताको लहड शुरु भएको छ । बिहानी सहित्यमा सिमापारीका कविताहरु प्रस्तुत भएका छन् । सिक्किमका गोपाल ढकाल, राधा बाँस्तोला पाण्डे, शेरबहादुर कार्की, दीपा राई, दार्जिलिङका जीवन लिवाङ, विकास आले, कृतिका दाहाल, शरण मुस्कान, अमर लाछिकाठी गुरुङ रहेका छन् । सिक्किमकी जीविका अश्रु्को संयोजकत्वमा नेपाली भाषी भारतीय सहित्यकारहरुको जोडदार प्रस्तुती रहेको छ । त्यस अघि बिहानै छन्दका कविताहरु समेत वाचन भएका छन् । विष्णु न्यौपाने, खगिन्द्र खुसी, विन्दु दाहाल, नारायण पौडेल, रीता पोखरेल, रोहित पराई, द्धारिका रिजाल र हरि कट्टेलको प्रस्तुतीले सहभागीलाई छन्दको कविताले लोभ्याएको थियो । छन्दमा कविता, कवितामा छन्दकी संयोजक टीाक आत्रेयले छन्दमा कविता लेख्ने क्रम अन्य विधाको तुलनामा कमी देखिएकोले झोराहाटले छन्दमा यस्तो हुन्छ है भनेर सन्देश दिन सफल भएको बताईन् ।
गाउँमा कविता
आजभन्दा करिब २ बर्ष पहिला शुरु भयो एउटा फरक अभ्यास गाउँमा कविता । गाउँका केही मान्छेहरुलाई बोलाउने अनी त्यहीँ उपस्थित गराएर कविता भन्ने अनी सुनाउने । २०७३ बैशाख ८ गतेदेखि गाउँमा कविताको श्रृङखला शुरु भएको हो । देश भित्रका मात्र हैन देश बाहिर रहेका नेपाली भाषी कविहरुले यहाँ आउने अनी कविता सुनाउने थलोको रुपमा नाटक केन्द्रले नयाँ अभ्यासको थालनी ग¥यो । यसको उद्देश्य भनेको एउटै थियो देश र विदेशमा रहेका साहित्यकारलाई झोराहाटमा ल्याउनु अनी साहित्य केन्द्रको रुपमा झोराहाटलाई स्थापित गराउनु । नाट्य केन्द्रका अध्यक्ष गुरागाईँ भन्छन्, ‘देशमा नाम कहलिएका १ सय बढी साहित्यकार कविहरुले गाउँमा कविताको यात्रामा आफ्नो कविता झोराहाटमा आएर सुनाईसकेका छन् ।’ गाउँमा कविताको २५ औ श्रृङ्खला पुरा भईसकेको छ । आजको गाउँमा कविताको श्रृङ्खलामा खेम नेपाली, गंगा सुवेदी, सरस्वती श्रेष्ठ सरु र अभागी थेगुवाले कविता सुनाउने छन् ।
संस्कृति संंरक्षणमा झोराहाट नाट्य समुह ।।
झोराहाट नाट्य समुहले लोप हुन लागेको बिभिन्न समुदायको संस्कृती झल्कने गितसंगित नाटकलाई उत्सवको रुपमा बिभिन्न समयमा संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । लोप हुँदै गएको सन्थाल जातीको नृत्य तथा बिशेषत महिलाले मात्र नाच्ने लोकनृत्य संगिनी नाच समेतको संरक्षण गर्दै आएको छ । पुराना संस्कृती हराउन थालेको भन्दै त्यसको संरक्षणको लागि पनि काम गर्दै आएको रंगमञ्चमा सिर्जनाका संयोजक उमेश लुईँटेलले जानकारी दिए । गितको माध्यामबाट मात्र नभई समाजमा हुने बिकृतीलाई नाटक माध्यामबाट पनि एकै ठाउँमा प्रस्तुत गरिन्छ । लुईटेलका अनुसार हराउँदै जान थालेको संस्कृतीको संरक्षणका लागि हरेक शुक्रवार राती ‘रंगमञ्चमा सिर्जना’ आयोजना हुँदै आएकोछ ।
नाटकघरको योजना
एउटा बाँसघारी भित्र कसरी नाटक घर बन्ला र ? भनेर धेरैले सोच्थे । तर एकदिन त्यही दिन आयो नाटक घर पनि बन्यो अहिले त्यो नाटक घर निर्माण भएको ३ बर्ष पुरा भएको छ । यो नाटक घर बनाईएको जग्गा नाटकघर स्वयम आफ्नो भने हैन । अहिले भाडामा लिएर नाटक घर निर्माण गरिएको हो । १० कठ्ठा जग्गा १० बर्षको लागि भाडामा लिएर बनाईएको नाटकघरले नाटकको बिँडो जोगाउने उद्देश्य राखिएको झोराहाटवासी वताउँछन् । नाटक घरकै आफ्नो जमिन नभएकोले भोलीका भविश्य अन्यौलमा छ । २० लाखको लागतमा गाउँमा यसरी नाटक घरनिर्माण गरेर गाउँमा पनि रंगकर्मको संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण यो नाटकघरले दिएको छ । यही नाटकघरमा आएर धेरै नेताहरुले नाटक हेरेर आँसु बगाई सकेका छन् ।
नाटकको माध्यामबाट सामाज रुपान्तरणमा योगदान दिनको लागि अहिले नाटक घर मार्फत ५० जना कलाकार बिभिन्न समयमा उपस्थित भएर नाटकको बिषयमा छलफल गर्ने र स्थानीयता झल्काउने काममा ब्यस्त छन् । ति मध्य पनि नियमित २५ जनाले नाटकमा सहभागी हुँदै आएको गुरागाईँ बताउँछन् । अहिले आवासीय रुपमा ५ जना कलाकार यही नाटकघरमा बसेर नाटकीय कर्ममा त सक्रिय छन् ।
नाटक घर निर्माण भएपछि यहीँबाट १० वटा बढी नाटक मञ्चन भईसकेको छ। पाहुना घरकी साहुनी, झुुडक्की, छिमेकी, पर्खाल, घरभित्रको अर्कोघर, जुनकीरी, बहुलाकाजीको सपना, बन्द वाकस खडकडी यहाँबाट मञ्चन भईसकेका नाटक मध्यका केही प्रतिनिधि नाटक हुन् ।
रंगकर्मकै लागि जागिर छाडेँ
नेपाली रंगमञ्चमा लाग्नको लागि आफ्नो घरको जायजेथा बेच्न या भएको जागिर नै छाड्न त मान्छेले कहाँ नै पो सक्ला र तर यो नाटक घर निर्माणको क्रममा ३ बर्ष अध्ययन बिदा बसेका यस नाटक केन्द्रका अध्यक्ष भरत गुरागाईँले रंकगकर्मकै लागि भएको सरकारी जागिर छाडेका छन् ।२०४८ साल मंसिर १३ गते शिक्षकमा जागिर खान शुरु गरेका उनले २०७४ फागुन २८ गते देखि उनले रंगकर्मको लागि जागिर छाडेको बताए । जागिर खाने समय अझै १० बर्ष रहेको भएपनि समाज रुपान्तरणको लागि रंगमञ्चको माध्यामबाट केही गर्न सकिन्छ भन्ने उदेश्यले जागिर नै छाडेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्