प्रदेश १ मा जागिर छोड्ने जुनियर प्रहरीको लर्को , कारण यस्तो !

प्रदेश १ मा जागिर छोड्ने जुनियर प्रहरीको लर्को , कारण यस्तो !

ध्रुव भट्टराई

१३ भदौ, बिराटनगर । गत १२ साउनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधिकृतले सुनसरीको इटहरी चौकमा डिउटीमा रहेका हवल्दार हरिबहादुर बस्नेतलाई झापड हाने । प्रहरी पोसाकमा ‘नेम प्लेट’ छड्के किन लगाएको भन्दै बीच सडकमा झापड हानेपछि बस्नेतले राजीनामा दिए ।

पछिल्लो समय अनुशासनका नाममा प्रहरी संगठनभित्र गरिने यस्ता प्रकृतिका कारबाहीले पनि कतिपय जुनियर प्रहरी अधिकारीले जागिर छाड्ने गरेका छन् ।

सामान्य गल्तीमा पनि ग्रेड रोक्का, नैसियत र कारबाही वा निष्काशित गर्ने प्रवृत्ति रहेका कारण जागिर छोड्नु परेको राजीनामा दिने कतिपय अधिकारीले गुनासो गरेका छन् ।

एकातिर नैसियत र अर्कातिर पेन्सन हटाउने लगायतका चर्चाका निर्णयका प्रदेश नं १ प्रहरी कार्यालय महातहका कार्यालयहरुमा कार्यरत् जुनियर प्रहरी अधिकारीहरुले जागिर छाड्ने क्रम ह्वात्तै बढेको हो ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको रेकर्ड अनुसार ६ महिनाको अवधिमा विभिन्न कारण देखाउँदै २ सय ८ जनाले जागिर छाडेका छन् । जागिर छाड्नेमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी जवानसम्म छन् ।

गत फागुनमा २९, चैतमा ४४, बैशाखमा ४०, जेठमा ३०, असारमा ३२ र साउन अन्तिमसम्ममा ३३ जनाले जागिर छाडेका छन् ।

प्रदेश प्रहरी कार्यालय, बिराटनगरका एसपी आभूषण तिम्सिना भने प्रहरी संगठनमा कार्यरत् प्रहरी कर्मचारीको बुझाइमा समस्या हुँदा जागिर छाड्नेको संख्या बढेको बताउँछन् ।

‘सरकारले बजेट भाषणमार्फत सरकारी सेवामा पेन्सनका लागि आफूले पनि निश्चित रकम छुटाउनु पर्ने व्यवस्था गरेको छ’, उनले भने, ‘तर, सरकारको योजनालाई गहिरेर बुझ्ने भन्दापनि पेन्सन नपाइने हल्लामा परेर १६ बर्ष जागिर जीवन विताएका धेरै प्रहरी कर्मचारीले यो समयमा जागिर छाडेका छन् ।’

राजीनामा स्वीकृत नगर्ने

प्रहरी संगठनमा रहेका मुलुक भरका तल्लो तहका प्रहरीले जागिरबाट राजीनामा दिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)ले तत्काल राजीनामा स्वीकृत नगर्ने निर्देशन दिएको छ ।

प्रहरी हेडक्वार्टरले ७ वटै प्रदेश प्रहरी कार्यालयमार्फत् सबै मातहतका प्रहरी कार्यालयमा परिपत्र गरेर राजिनामा स्वीकृत नगर्न निदेशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि प्रदेश नं १ प्रहरी कार्यालयले राजीनामा स्वीकृत गर्ने कार्य रोकिएको एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाले हेडक्वाटरको निर्देशनपछि प्रदेश प्रहरी कार्यालय मातहतका १४ जिल्लाका ६ सय ५२ वटा इकालमा कार्यरत् प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगरिएको जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले कुनै पनि बहानामा जागिर छाड्नेको राजीनामा स्वीकृत नगर्ने साउन २१ गते परिपत्र गरिएको थियो ।

प्रहरीको जागिर अवधि, सेवा सुविधा र पेन्सनको विषयमा पनि अन्यौलता बढेको बेला प्रहरीबाट जागिर छाड्नेको संख्या बढेसँगै हेडक्वार्टरले तत्काललाई सबै विषय समाधान नहुञ्जेलसम्म जागिर छाड्न नपाइने निर्णय गरेको थियो ।

६ महिनामा १ सय ४५ प्रहरी कारबाहीमा 

प्रदेश नं १ अन्तर्गत १४ जिल्लामा कार्यरत डिएसपीदेखि जवानसम्म प्रहरी आचरण विपरित कार्यमा संलग्न भएको निष्कर्षसहित १ सय ४५ जना कारबाहीमा परेका छन् ।

गत फागुनदेखि साउन अन्तिमसम्म ६ महिनाको अवधिमा २५ जना निलम्बनमा परेका हुन् ।

जसमा संगठनको आचारण विपरित काम गर्ने प्रहरी कर्मचारी सबै भन्दा बढी गत चैत महिनामा ३१ जना कारबाहीमा परेको जनाइएको छ ।

आर्थिक बर्ष ०७४/०७५ को अवधिमा प्रदेश एक अन्तर्गत पर्ने १४ जिल्लाका ६ सय ५२ वटा इलाकामा कार्यरत् प्रहरी कर्मचारीमध्ये ३८ जनालाई जागिरबाट निलम्बित भएका थिए ।

१ नं प्रहरी प्रदेश कार्यालयका अनुसार प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लाका ६ सय ५२ वटा इकालमा १० हजार बढी प्रहरी कर्मचारी कार्यरत् छन् ।

श्रोत : अनलाइन खबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्