गरिखानेको कथा : उर्लाबारीका दुई युवा च्याउ खेती गरेर मासिक लाखौ कमाउछन

गरिखानेको कथा : उर्लाबारीका दुई युवा च्याउ खेती गरेर मासिक लाखौ कमाउछन

सरोज बस्नेत

उर्लाबारी, भदौ २०, च्याउ खेती गरेर मोरङ, उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिहेका छन् । कृषकहरुले मेहनत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, बस्नेत दाजुभाई ।

उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोपाल बस्नेत विगत चार बर्षदेखि ब्यवसायिक रुपमा च्याउ खेती गरिरहेका छन् । स्वदेशमै केही गर्न सकिन्छ भन्ने आँटले च्याउ खेती गरेर मासिक लाख रुपैयाँभन्दा बढी कमाउन सफल भएपछि ३०/४० हजारका लागि विदेशिनु नपर्ने देबेन्द्रको भनाई छ । सहोदर बस्नेत दाजुभाई मिलेर आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । 

१८ बर्षदेखि च्याउ खेती सञ्चालन गर्दै आएको भएपनि ब्यवसायिक रुपमा भने चार बर्षदेखि उत्पादन गर्दै आएको देबेन्द्रले बताए । एक हजारबाट थालेको च्याउ खेती यतिबेला एक करोडको लगानीमा सञ्चालन भइरहेको उनले जानकारी दिए । उनीहरुले च्याउ बिक्रीका लागि दुई वटा गाडी किनेका छन् । दैनिक तीनदेखी पाँच सय केजी सम्म च्याउ उत्पादन गर्दै बस्नेत दाजुभाईले ५० हजारभन्दा बढीको च्याउ बिक्री गर्दै आएका छन् । बस्नेत दाजुभाईले च्याउका साथै विउ पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन् । उनीहरुले दैनिक काठमाडौं, पोखरा, हटौडा, महेन्द्रनगर, दाङसहित पूर्वका अधिकांश स्थानहरुमा च्याउको बिउको विक्री गर्ने गरेको देबेन्द्र बताए ।

उनीहरुले कन्यू, डल्ले, सिताके, हवाइट मिल्के र पिङ्क च्याउ उत्पादन गर्दै आएका छन् । १० कट्ठा क्षेत्रफलमा च्याउ खेती गर्दै आएका यी दाजुभाईले २५ जनालाई रोजगारी समेत दिएका छन् । उनीहरुलाई प्रतिब्यक्ति आठ हजारदेखि पन्ध्र हजारसम्म तलब दिने गरेको देबेन्द्र बताए । ‘३०/४० हजार रुपैयाँ कमाउन हाम्रा दाजुभाईले मरुभूमीमा रगत बगाउनुभएको खबर दिनहुँ सुनेका छौँ, देबेन्द्रले भने‘हामीले आँट लिएर यही श्रमपसिना बगाएर लाख रुपैयाँ कमाएका छौँ ।’ जुनसुकै समय च्याउ खेतीका लागि उपयुक्त मौसम भएकाले आफ्नै जग्गामा उनीहरुले खेती गर्दै आएका छन् । च्याउ प्रतिकिलो खुद्रा दुई सयमा बिक्री हुने गरेको छ । उनीहरुले प्रदेश नं. १ मै पहिलो पटक च्याउ बोयल प्रविधिको प्रयोग भित्र्याएका थिए । सो प्रविधिबाट एकै पटकमा ६ वटा ड्रममा पराल बोयल गर्न सकिन्छ ।

सो प्रबिधिबाट ७० प्रतिशतसम्म इन्धन बचत गर्न सकिने देबेन्द्र बताउँछन् । च्याउलाई दुई देखी तिन दिनसम्म राख्न सकिने र्यापिङ मेसिन नहुँदा उत्पादित च्याउलाई स्टोर गर्न नसकेको उनले गुनासो गरे । च्याउ उत्पादन बढी हुँदा त्यसलाई बजारमा बिक्री गर्न समस्या हुने गरेको उल्लेख गर्दै च्याउ खेतीबाटै मनग्गे कमाई गर्न सकिने उनको अनुभव छ । देबेन्द्रका भाई गोपाल चार बर्ष साउदी बसेर फर्किएका हुन् । उनी चार बर्षअघि स्वदेश फर्किएर च्याउ उत्पादनमा दाजु देबेन्द्रलाई सहयोग गर्दै आएका छन् ।

विदेशको भन्दा आफ्नै देशको कमाईप्रति उनी सन्तुष्ट छन् । ब्यवसायिक रुपमा च्याउ उत्पादन गर्दै आएको भएपनि अहिलेसम्म सरकारी अनुदान भने नपाएको बस्नेत दाजुभाईको गुनासो छ । २०५३ सालमा झापा बाहुनडाँगीका हिरन्डे भट्टराईसँग च्याउ खेतीका बारेमा औपचारिक प्रशिक्षण लिएका बस्नेत दाजुभाई सफल च्याउ कृषकका रुपमा पूर्वमा कहलिएका छन् । उनीहरुको च्याउ झापाको विर्तामोडदेखि सुनसरीको धरानसम्मका बजारमा पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्