शनिवार बिशेष : नाटकमा जम्दै माेरङका स्कूले विद्यार्थी, नाटक सिक्ने देखि सिकाउने सबै विद्यार्थी

शनिवार बिशेष : नाटकमा जम्दै माेरङका स्कूले विद्यार्थी,  नाटक सिक्ने देखि सिकाउने सबै विद्यार्थी

विराटनगर, ३० भदाै ।  नाटकमा हजुर आमाको भूमिका निर्वाह गर्दै आएकी निराशा ढुंगेल १२ कक्षामा पढ्छिन् । उनले नाटक पर्खाल र घर भित्रको अर्को घरमा आमाको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा हरेक आमाको भूमिका उनको जिम्मेवारीको विषय बन्ने गर्छ । तर, उनी उमेरले बल्ल १७ वर्षकी मात्र भएकी छिन् । विगत ३ वर्ष पहिलादेखि नाटकमा भित्रिएकी उनले नाटक घरमै ७ वटाभन्दा बढी अभिनय गरेकी छन् । नाटक घर बाहिरको नाटकको त कति हो कति कुरै नगरौ । उनले भनिन्, ‘यही नाटक घरमा बसेर पढ्दै नाटक सिक्दै आएकी हुँ ।’

मनिषा बराल अहिले २१ वर्षकी भइन् । ७ कक्षादेखि नै नाटक गरेकी उनले अहिलेसम्म दर्जनौं नाटक गरिसकेकी छिन् । उनी नाटककै सिलसिलामा अहिलेसम्म विभिन्न देशमा समेत नाटक देखाउन पुगिसकेकी छिन् । अलि चुलबुले स्वभावकी मनिषालाई सधैं सानी नानीको भूमिका दिइन्छ । सानी कदकी भएकाले पनि उनको भूमिका बाल कलाकारको रुपमा वा साथीसंगीको रुपमा हुने गरेको छ ।झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पढ्दै गर्दा नाटक गर्न थालेकी उनले भारत र बंगलादेशमा नाटक देखाएकी थिइन् । उनले भनिन्, ‘७ कक्षा पढ्दादेखि नै भरत सरले नाटक गर्छौ ? भन्नुहुन्थ्यो, सरले सोध्दा हुन्छ भन्थें । त्यो बेला हामी ३ जना नाटक सिक्न गएका थियौं । नाटक घर नभएकाले हामीले भरत सर र राम सरकोे घरमा नाटक सिकेर गाउँमा देखाउन जान्थ्यौं ।’  उनी अहिले स्नातक तहमा पढ्दै आएकी छिन् ।

मनिषाकी साथी अनु श्रेष्ठले पनि नाटक गर्न थालेको ६ वर्ष बितिसकेको छ । उनी पनि माध्यमिक शिक्षामा आउँदादेखि नै नाटक गर्न थालेकी हुन् । उनले एकल नाटक पनि गिरन् । एक्लो भूमिकामा २ घण्टासम्म लगातार नाटक देखाउन सक्ने आँट भएकी अनुले अहिले अन्य स्कूले विद्यार्थीलाई पनि नाट्य कला सिकाउँछिन् ।यी कलाकारहरू ७ कक्षाको विद्यार्थी जीवनदेखि नै नाटकमा होमिएका हुन् । उनीहरू अहिले नाटकमा खारिसकेका छन् । तर, उनीहरूकै हाराहारीका धेरै स्कूले विद्यार्थी अहिले नाटकको मोहले तानिएर नाटक घरमा पुग्ने गरेका छन् । मोफसलमा मोरङको ग्रामथान गाउँपालिकामा रहेको झोराहाट नाट्य केन्द्र र विराटनगर महानगरपालिमा रहेको गुरुकूल नाटक घरमा नाटक हुने गरेको छ । यसरी नाटक देखाउन आउनेमा अधिकांश स्कूले विद्यार्थी नै खारिएर आएका कलाकारको रुपमा रहेका छन्  ।

विद्यार्थी सबै कलाकार : नाटकको स्वाद लिन अधिकांश उमेर पुगेका नै आउँछन् । घरखेतीको काम सकेर फुर्सदमा रहेका किसान दाजुभाईको रोजाइमा पनि नाटक पर्छ । तर, यी सबैलाई रुवाउने र हसाउने सबै काम ११–१२ कक्षामा पढ्ने विद्यार्थीले गर्छन् । उनीहरू सहजै हाँस्छन्, अनि सहजै रोइदिन्छन् । यसरी नाटक देखाउनेमध्ये सुनिता कट्टेल र प्रदिप सरदार १२ कक्षामा पढ्छन् । उनले ७ वर्षदेखि नाटक खेल्दै आएका छन् । ६ कक्षादेखि नै स्कूलमा नाटक गर्दै आएका उनीहरु पनि धेरै नाटक अभिनय गर्नेमा पर्छन् । अनी अहिले नाटक सिकाउने काम पनि गर्दै आएका छन् । सुरज माझी अहिले १९ वर्षका भए । उनी आजभन्दा ४ वर्ष अगाडिदेखि नियमित नाटक गर्दै आएका छन् । ९ कक्षामा नाटक गर्न थालेका उनले अहिले पनि नाटकलाई निरन्तरता दिँदै आएका छन् । उनी अहिले बीएडमा अध्ययनरत छन् । अनिल सरदार १६ वर्षका भए, उनी ११ कक्षामा अध्ययनरत छन् । अनिलले अहिलेसम्म ८ भन्दा बढी नाटक गरिसकेका छन् । विद्यार्थीहरू अर्जुन माझी, दिक्षा चौधरी, निराजन चौधरी, बिमल साम्बा, शिवकुमार बिष्ट,  अस्मिता चौधरी, यशोदा भट्टराई, सुनिलप्रसाद देवकोटा, खुसी शर्मा, कबिता पौडेल, अर्जुन चौधरी, प्रजिता श्रेष्ठ, एलिजा बराईली, टिकाराज लावती, रुपेश खतिवडा, नितेश गुरागाई, संजिव लुइँटेल, एमिसा दाहाल, कृतिका दाहाल, अनिल सरदार र विनोद राई नियमित नाटक गर्दै आएका छन् । जसमध्ये ४ जना कलाकार कक्षा ७ देखि १० मा अध्ययनरत छन् । उनीहरू साँझ नाटक देखाउँछन् र दिउँसो विद्यालय जान्छन् ।

मुना–मदनमा पनि विद्यार्थी कलाकार

विराटनगरबाट काठमाडौं गएर  पछिल्लो समय चलेको नाटक भनेको मुना–मदन हो । मुनामदन सिल्पी थिएटरमा भदौ २६ गतेसम्म चलेेकाे थियाे ।  मुना–मदनमा पनि अधिकांश कलाकार विद्यार्थी छन् । १० जना कलाकारमध्ये ८ जना विद्यार्थी हुन् । संवित राई, बिना राई, एन्जन पौडेल, लकेश राई, सरिता ढुंगाना, मनाङ लावती, पवित्रा खड्का, सुष्मा निरौला विद्यार्थी हुन् । स्कूले जीवनमा नाटकको रसाश्वादन गरिरहँदा भविष्य नै अन्योलमा हुने हो कि भन्ने चिन्ता विद्यार्थी कलाकारमा देखिन्छ ।

विद्यार्थी कलाकार एन्जन पौडेलको पनि नाटकले पढाइमा असर पारिरहेको छ । उनको कक्षा २१ गतेदेखि शुरू भएको हो । तर, नाटकको कारण कुनै पनि कक्षामा उनी जान पाएका छैनन् । उनी भन्छन्, ‘केही कुरा पाउनको लागि केही गुमाउनुपर्ने रहेछ । त्यही भएको हो ।’ उनको एउटा विषयको ‘ब्याक’ थियो । त्यो विषयको परीक्षा नदिएर उनी नाटकको स्वादमा काठमाडौं पुगेका हुन् । नाटकमा केही अप्ठ्यारा पनि छन् । तर, त्यसलाई व्यवस्थापन गर्दै लगेको उनले सुनाए ।

कलाकारितामा आकर्षण : उमेर पुगेका कलाकार बिहे भएर वा कामको शिलशिलामा बाहिरिने क्रम बढेपछि नाटकलाई जोगाइराख्न विद्यालय अभियानमा नाटकका अभियन्ता लागेका हुन् । पछिल्लो समयमा हरेक विद्यालयमा नाटकको अभ्यास गराइन्छ । झोराहाट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाईले अहिले पनि मोरङका ५ स्थानमा ७५ जना विद्यार्थीलाई नाटकको बारेमा तालिम दिइरहेको बताए । नाटक भनेको अभ्यास भएकाले अभ्यासको माध्यमबाट विद्यार्थीलाई धेरै कुरा सिकाइने र उनीहरू नाटकप्रति आकर्षित हुनुले नै अहिले जमेर देखिएका कलाकार विद्यार्थी कलाकारको रुपमा देखिएको उनले बताए ।  (प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्