विराटनगर, ३१ भदौ । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ जनाले भिडियो एक्सरे र ४७ जनाले ल्यावटेष्ट गराउँनुका साथै ३ सय २७ जना बिरामीले निःशुल्क उपचार सेवा लिए । गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि उपचारका लागि शिविरमा आएका थिए । यता, बेलवारी नगरपालिका–८ बिहिबारेमा सोमबार गरिएको शिविरमा ६ सय ८ जना बिरामीले निःशुल्क उपचार गराए । शिविरमा ८२ जनाको भिडियो एक्सरे, ६५ जनाको ल्यावटेष्ट र २१ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका ५५ जनालाई नोबेल अस्पताल रिफर गरिएको छ । शिविर चलिरहदा बर्षा भएतापनि बिरामीहरु बर्षातको प्रवाह नगरी उपचारका लागि आएका थिए ।
त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका–६ सुकचरमा बिहिबार सञ्चालित शिविरबाट ४ सय ३२ जना बिरामीले निःशुल्क उपचार पाए । स्थानीय नारायण माध्यमिक बिद्यालयमा भएको शिविरमा ६७ जनाको भिडियो एक्सरे, ३६ जनाको ल्यावटेष्ट र २८ जनाको ईसीजी गरिएको छ । त्यस्तैगरी, मोरङको ग्रामथान गाउँपालिका स्थित तेतरियामा पनि शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार १ सय ७६ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा २ सय ८३ जनाको भिडियो एक्सरे, १ सय ७३ जनाको इसीजी र २ सय ९० जनाको ल्याबटेष्ट गरिएको छ । शिविरमा हाडजोर्नी, दम, रुघाखोकी र आँखामा समस्या भएका विरामी बढी आएका थिए ।
नोबेलले गर्ने हरेक शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोली गएर मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको छ । गाउँ–गाउँमा शिविर चलाईदा उपचारमा धेरै सहज भएको शिविरमा आएका बिरामीले प्रतिक्रिया दिएका छन् । निःशुल्क शिविरबाट धेरै राहत मिलेको बिरामीहरुबाट प्रतिक्रिया आईरहेकाले पूर्वका बिभिन्न जिल्लामा शिविरलाई निरन्तरता दिईने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । बिपन्न बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएको नोबेलले गत आर्थिक बर्ष शिविरमार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको थियो ।