काठमाडौँ–तराई द्रुतमार्गको डीपीआर तयार गर्न कोरियाको कम्पनी छनोट

काठमाडौँ–तराई द्रुतमार्गको डीपीआर तयार गर्न कोरियाको कम्पनी छनोट

भउचप्रसाद यादव

काठमाडौँ, असोज ४ । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रूतमार्ग निर्माणका लागि चार महिना भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कम्पनी छनोट भएको नेपाली सेनाले जनाएको छ ।

द्रूतमार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथि योगेन्द्रबहादुर खाँणले काठमाडौँ–तराई द्रूतमार्ग निर्माणका लागि दक्षिण कोरियाको सुसुङ कम्पनी छनोट भएको जानकारी दिनुभयो ।
उक्त कोरियाली कम्पनीलाई छनोट भएको जानकारी तथा सम्झौता गर्नका लागि कन्ट्रयाक्ट अवार्डसम्बन्धी पत्र पठाइसकिएको बताउँदै उहाँले यस महिनाको दोस्रो हप्ताभित्र सम्झौता सम्पन्न हुने जानकारी दिनुभयो ।
छनोट भएको १५ दिनभित्र सरोकारवाला पक्ष र सम्बन्धित कम्पनीबीच सम्झौता भइसक्नुपर्ने प्रावधान सार्वजनिक खरिद ऐनमा रहेको छ । सम्झौता भएको चार महिनाभित्र डिपीआर तयार भइसक्ने जानकारी समेत आयोजना प्रमुख खाँणले दिनुभयो ।

डीपीआर तयार गर्न सार्वजनिक खरिद ऐनअनुसार ग्लोबल बोलपत्र आह्वान भएकोमा १७ वटा कम्पनीले बोलपत्र भरेका थिए, जसमध्ये छ वटा कम्पनी ‘शर्ट लिष्टिङ’ मा छनोट भएको जानकारी उहाँले दिनुभयो । ‘शर्ट लिष्टिङ’ मा परेकामध्ये ‘क्वालिटी बेस सेलेक्सन सिस्टम’ को आधारमा उक्त कोरियाली कम्पनी छनोट भएको उहाँले बताउनुभयो ।
कोरियाली कम्पनीले करीब १० करोड १५ लाख रुपियाँको लागतमा डीपीआर तयार गर्नेछ । डीपीआर तयार भइसकेपछि निर्माण प्रक्रियाले थप गतिले लिने उहाँले बताउनुभयो । सेनाका अनुसार, गत आर्थिक वर्षमा यस आयोजनाको भौतिक प्रगति सत् प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत भएको थियो ।

रुख कटान अन्तिम चरणमा
द्रूतमार्गमा पर्ने रुख कटानको काम अन्तिम चरणमा रहेको जानकारी आयोजना प्रमुख खाँणले दिनुभयो । उहाँका अनुसार रुख कटानको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ । बीस हजार ३०९ वटा रुख काट्नुपर्नेमा १९ हजार ६१९ वटा रुख काटिसकिएको जानकारी उहाँले दिनुभयो ।

काठमाडौँको मखबेंसी, मकवानपुरको लेनडाँडा, बुदुने र सिस्नेरीमा तथा बाराको बागदेव भन्ने स्थानमा स्थायी रुपमा बेस क्याम्प र ललितपुरको खोकना, मकवानपुरको राजदमार तथा बाराको निजगढ लगायतको ठाउँमा अस्थायी बेस क्याम्प खडा गरी निर्माण कार्यलाई तीब्रता दिइएको सेनाले जनाएको छ ।
द्रुतमार्गको मार्गाधिकार क्षेत्रभित्र परेका निजी तथा ऐलानी जग्गाको मुआब्जा र घर टहराहरुको क्षतिपूर्ति बितरण सम्बन्धमा काठमाडौँ तथा मकवानपुर जिल्लाका अधिकांश कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

ललितपुरमा ७.९, काठमाडौँमा चार, मकवानपुरमा ५६.७ र बारा जिल्लामा ७.६ गरी कुल लम्बाई ७६.२ किलोमिटर रहेको यस द्रूतमार्गको चौडाई समथर भूभागमा २७ मिटर र पहाडी भूभागमा २५ मिटरको हुनेछ ।
काठमाडौँको प्रस्तावित बाहिरी चक्रपथको सानो खोकनादेखि बारा जिल्लाको निजगढसम्म सो मार्गको दुरी ७३ किलोमिटर रहेको छ । यो मार्गको निर्माणपछि यो मार्ग प्रतिघण्टा ८० किलोमिटरको गतिमा सवारी गुड्ने क्षमताको हुनेछ । समतल सतहमा यो मार्गको चौडाई २२ मिटरको हुनेछ ।
आयोजनाका अनुसार, यस प्रस्तावित द्रूतमार्गमा १.३५० किलोमिटरको सुरुङमार्ग तथा ९६ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । यो मार्ग सिधै निजगढ जाने भएकाले बीचमा हेटौंडा पुग्न १७ किलोमिटर मात्र दुरी बाँकी रहन्छ ।

वार्षिक तीन अर्ब रुपियाँ बचत

यो सडक निर्माण भएपछि बार्षिक तीन करोड ३० लाख लिटर पेट्रोल र डिजेल बचत हुने एसियाली विकास बैङ्कको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार, यो सडक बनेपछि दक्षिण तराईबाट पश्चिम भएर राजधानी आउनुपर्ने बाध्यता हट्नुका साथै छोटो दुरीका कारण सवारी साधनमा प्रयोग हुने डिजेल र पेट्रोलमा मात्रै वार्षिक करीब तीन अर्ब रुपियाँको बचत हुनेछ ।
यस मार्गले राजधानीलाई बढीमा डेढ घण्टाको समयमा तराईसँग जोड्ने छ । हाल प्रयोगमा रहेको बाराबाट नारायणगढ–मुगलिङ्–काठमाडौँ सडक खण्ड २६० किलोमिटर छ । यसबाट करीब १८० किलोमिटर दुरी छोटो हुनुका साथै छ घण्टा समय कम लाग्नेछ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरवको यो सडक आयोजनाको निर्माण कार्य चार वर्षमा सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो भने विगतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको द्रूतमार्ग आयोजना निर्माणको जिम्मा औपचारिक रुपमा २०७४ साउन २७ गतेबाट नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्