विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्रीमा रोक

विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्रीमा रोक

नवराज कट्टेल

विराटनगर, मङ्सिर ९ गते । सञ्चालकबीच आधिकारिकता किचलोका कारण विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्री रोकिएको छ । सुतलीपछि बोरा उत्पादन थालेको जुट मिल सञ्चालक आधिकारिता विवादको उल्झनमा फेरि फसेको हो ।
जुट मिलले गत भदौ २६ गतेदेखि सुतलीको परीक्षण उत्पादन थालेको थियो । लामो समय त्यसै बसेका मेसिनको परीक्षण सफल भएपछि उत्पादन गरिएको २६ टन सुतली उद्योग परिसरमै थन्किएको छ । तिहारअघि नै उत्पादन भएको सुतली बिक्री गर्न आवश्यक पर्ने निर्णय प्रक्रियासमेत सञ्चालकको आधिकारिकतामा अड्किएको हो ।
सञ्चालकबीचको विवाद उच्च अदालत मोरङमा विचाराधीन अवस्थामा छ । अध्यक्ष वसन्त वन आधिकारिक नभएको भन्दै तत्काल काम–कारवाही रोक्न मागसहित उद्योगका अफिसियट मेनेजर रहेको दाबी गर्दै राजेन्द्र कार्कीले मुद्दा दायर गर्नु भएपछि अदालतले परामादेश जारी गरेको छ । अदालतमा मुद्दा विचराधीन रहेपछि उत्पादन भएको सुतली बिक्रीका लागि प्याकेजिङ गरेर राखिएको छ ।
सुतली बिक्री रोकिए पनि बोरा उत्पादनको काम भने थालिएको छ । उद्योगका गुणस्तर नियन्त्रक सुचेन्द्र झाका अनुसार उद्योग परिसरमा रहेका २७० लुम (जुट सिलाउने) मेसिनमध्ये एक सयवटाको परीक्षणसमेत सफल भएको छ । उद्योगमा लुमसहित झण्डै चार सय मेसिन छन् ।

उत्पादन भएको सुतलीलाई प्याकिङका लागि आवश्यक टन बोरा जुट मिलका दुईवटा लुम मेसिन सञ्चालन गरेर बनाइएको हो । परीक्षणका रूपमा चलाइएका लुमबाट प्याकिङका लागि बोरा उत्पादन गरी सँगै अब धान तथा चामलमा प्रयोग हुने बोराको काम थालिएको झाले जानकारी दिनुभयो । एउटा लुम मेसिनले दैनिक १५० केजी बोरा उत्पादन गर्नसक्दछ ।
यसअघि उद्योगले उत्पादन गरेको ७२ र ९० इन्चको सुतलीलाई प्याकिङ गरेर ट्रेडमार्कसहित तयारी अवस्थामा बिक्रीका लागि भण्डारण गरेर राखिएको छ । बोरा उत्पादनका लागि नयाँ जुटको खरिद प्रक्रिया बढाउन असजिलो भए पनि उद्योगमा स्टक रहेको जुट प्रयोगमा ल्याइएको छ । अहिले उद्योगमा १०४ गजको मोटो र १०६ गजको पातलो बोराका बुन्नका लागि लुम चल्न थालेका छन् । नियन्त्रक झाका अनुसार उद्योगभित्रै दुई संरचनाहरू छन् ।(गोर्खापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्