विराटनगरले जन्माएकाे खेलाडी, उसुमा चम्कँदै डोम समुदायकी एलिजा

विराटनगरले जन्माएकाे  खेलाडी, उसुमा चम्कँदै डोम समुदायकी  एलिजा

विराटनगर, १८ मङ्सिर ।  मधेसी दलित भनेर चिनिने डोम समुदायमा जन्मिएकी एलिजा मरिक १७ वर्षकी भइन्। अति नै पिछडिएको अल्पसंख्यक समुदायमा जन्मिएकी एलिजा उसु खेलाडी हुन्। उसु खेलमै आफ्नो भविष्य खोज्ने क्रममा चम्किँदै गएकी एलिजा पछिल्लो समय नेपालमा मात्र नभई, भारतमा समेत चर्चित बनेकी छन्। तीन वर्षको छोटो खेल जीवनमै एकपछि अर्को उपलब्धि हासिल गरिरहेकी उनी उसुमार्फत भारतमा पनि चर्चाको पात्र बनेकी छन्।

एलिजाको परिवारका अन्य सदस्य पनि उसुमै सक्रिय छन्। ‘पारिवारिक वातावरणले मलाई पनि उसु खेलमा लाग्न मद्दत ग¥यो,’ एलिजा भन्छिन्, ‘यसैमा मेहनत गरेर अघि बढिरहेकी छु।’ एलिजाका बुवा विनोद मरिक उसुका राष्ट्रिय प्रशिक्षक तथा पूर्वखेलाडी हुन्। आमा अञ्जु पनि उसु खेलाडी हुन्। विनोद र अञ्जुका छोरा तथा एलिजाका भाइ १३ वर्षीय एलिस पनि उसु खेल्छन्।

विराटनगरमा केही समयअघि भएको इन्डो—नेपाल उसु च्याम्पियनसिपमा उनी भारतीय खेल पदाधिकारीको आँखामा परेकी हुन्। भारतको विहार उसु संघ दरभंगाका प्रशिक्षक रूपक सिंह र सञ्जीवकुमार यादवको रोजाइमा परेपछि उनले भारतमा पुगेर ठूलो सफलता पनि हात पारिन्। पछिल्लो समय यी नेपाली चेली विहार उसु संघ दरभंगामा आबद्ध भएर आफ्नो खेल जीवनलाई अघि बढाउँदै छिन्।

यसै वर्षको मार्चमा हरियाणास्थित कुरुक्षेत्र विश्वविद्यालयमा आयोजना गरिएको भारतको १६औं जुनियर राष्ट्रिय उसु प्रतियोगितामा दरभंगाबाट सहभागिता जनाएर उनले स्वर्ण पदक हात पारिन्। उक्त प्रतियोगितामा एलिजाले भारतका अन्य २३ प्रतिस्पर्धीलाई पछि पार्दै एउटा स्वर्ण र दुईवटा कांस्य पदक जितेकी थिइन्। ‘नेपालबाट भारतीय क्लबमा आबद्ध भई दिग्गज भारतीय प्रतिस्पर्धीलाई पछि पार्नु चानचुने विषय होइन’, प्रशिक्षकसमेत रहेका एलिजाका बुवा विनोद भन्छन्।

विनोदका अनुसार भारतमा एलिजाले प्राप्त गरेको सफलतापछि भारतकै मेरठस्थित अर्को क्लबले पनि उनलाई राम्रो अवसरको प्रस्ताव गरेको थियो। ‘नेपालमा हुने ११औं राष्ट्रिय प्रतियोगिताको तयारी गर्नुपर्ने भएकाले हामीले उक्त प्रस्ताव स्वीकार गरेनौं,’ एलिजा भन्छिन्’, ‘अहिले म आफ्नो सम्पूर्ण ध्यान आगामी पुसमा विराटनगरमै आयोजना हुने ११औं राष्ट्रिय उसु प्रतियोगितामा केन्द्रित गर्दैछु।’

मंगलबार उनी केही दिनका लागि भारतको तामिलनाडुतर्फ लागेकी छन्। तामिलनाडुमा भारतको १७औं जुनियर राष्ट्रिय उसु च्याम्पियनसिप हुँदैछ। उनले त्यो प्रतियोगितामा सहभागी भएर फर्किएपछि राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्ने बताइन। दुई वर्षअघि भारतको सिलोङमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा नीमा घर्तीमगरले स्वर्ण पदक हात पारेपछि त्यसले आफूमा थप हौसला बढाएको एलिजाको भनाइ छ।

‘नीमा जस्तै खेलाडी हुने रहर बोकेर कडा परि श्रम गरिरहेकी छु। धेरै ठाउँमा राम्रो सफलता पनि पारेकी छु’, उनी भन्छिन्। पारिवारिक वातावरण नै उसुमय भएकाले आफूलाई सहज भएको उनको अनुभव छ। प्राविधिक विषयमा अध्ययन पनि सँगसँगै अगाडि बढाउने एलिजा शारीरिक रूपमा फिट रहन र आत्मरक्षाका लागि उसु सर्वोत्कृष्ट खेल भएको बताउँछिन्।

२०७२ सालमा पोखरामा आयोजित राष्ट्रपति रनिङ सिल्डमार्फत उनले उसु खेलमा ‘डेब्यु’ गरेकी हुन्। त्यहाँबाट सुरु भएको उनको खेल जीवनले मनग्य सफलता हात पार्दै जाँदा परिवारका सदस्य पनि औधी खुसी छन्। बुवा विनोदको प्रशिक्षणमा थाउलो एरिनामा उत्रिएकी एलिजाले आफ्नो ‘डेब्यु’ खेलमै दोस्रो स्थान हात पारेकी थिइन्। त्यो सफलताले नै उनको आत्मविश्वास बढाएको थियो।

यसैगरी २०७३ सालमा भएको नवौं राष्ट्रपति रनिङ सिल्डमा पनि उनले दोस्रो स्थान हात पारेकी थिइन्। ‘नेपालमा हुने प्रतियोगिताहरूमा अब पहिलो हुने क्षमता राख्छु,’ एलिजा भन्छिन्। उनी विराटनगरकै आदर्श स्कुलको कक्षा ११ मा अध्ययनरत छिन्। उनी पढाइमा पनि अब्बल छिन्। उनका बुवा विनोद सानैदेखि रंगशालास्थित कभर्डहलमा उसु खेल्थे। आमा अञ्जु पनि विनोदकै शिष्या हुन्। खेल जीवनलाई अघि बढाउने क्रममै माया बसेपछि १८ वर्षअघि उनीहरूको विवाह भएको थियो।

परिवारको कान्छो सदस्य १३ वर्षका एलिस पनि राम्रो उसु खेलाडी हुन्। उनी पनि नेपाल र भारतका विभिन्न प्रतियोगितामा सहभागी भइसकेका छन्। आमा अञ्जुले पनि छोरीको खेल कौशलबाट आफू प्रभावित भएको बताइन। ‘छोरीको खेल देखेर म औधी खुसी छु,’ उनी भन्छिन्, ‘नेपालमा खेलकुदलाई राम्रो स्थान र महत्व दिने हो भने मेरो छोरीको भविष्य यहीँबाट बन्ने थियो।’ हाम्रो देशमा खेलाडीले आफ्नै भरमा खेल्नुपर्ने बाध्यता रहेको अञ्जुको भनाइ छ।

क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक शिवनारायण श्रेष्ठ पनि एलिजाको खेल कौशलबाट प्रभावित छन्। उनले मधेसी दलित भनेर चिनिने डोम समुदायमा जन्मिएर एलिजाले खेलकुदको क्षेत्रमा यत्रो विकास गर्नु चानचुने कुरा नभएको बताए। ‘खेलकुद र खेलाडीको भविष्य सुनिश्चित गर्न सरकार तथा खेल निकायहरूले स्पष्ट खाका बनाउनु आवश्यक छ,’ उनी भन्छन्, ‘हाम्रो मुलुक राम्रा र असल खेलाडी उत्पादन गर्न सक्षम छ भन्ने एउटा उदाहरणका रूपमा एलिजालाई पनि लिन सकिन्छ।’

नेपालमा धेरै प्रतिभावान् खेलाडी उत्पादन भए पनि भविष्य सुनिश्चित नहुँदा खेलाडी पलायन हुनु परिरहेको उनको भनाइ छ। ‘हामीसँग खेल क्षेत्रमा धेरै ठूलो सम्भावना छ। खेलाडी पनि क्षमतावान् छन्,’ शिव भन्छन्, ‘तर, भविष्य सुनिश्चित हुने सम्भावना नदेखेपछि धेरै खेलाडी पलायन भइरहेका छन्। खेलाडी पलायन हुने परम्पराको अन्त्य गर्नु ठूलो चुनौतीको विषय बनेको छ।’ अन्नपुर्ण पाेष्टमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्