काठमाडाै, २ पुस । संकटा क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। हलचोकस्थित एपिएफको मैदानमा सोमबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा रहेको मनाङसँग अंक बराबर गरेको छ।
संकटाले ९ खेलबाट २४ अंक जोडेको छ। संकटा भन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेल्दै समान अंक जोडेको छ। यद्यपी ऊ गोल अन्तरमा अगाडि छ। जितसँगै संकटाले उपाधि होडमा आफूलाई कायमै राखेको छ। संकटाको जितमा तम्पी अर्नेष्ट, दिपेश आले मगर र इलोन म्याक्सवेलले एक-एक गोल गरेका थिए। फ्रेन्डसका लागि प्रजिन तामाङले गोल गरेका थिए।
संकटासँग पराजित फ्रेन्ड्स ५ अंक सहित लिगको ११ औं स्थानमा यथावत छ। आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई हराउँदै लिगको छैठौं स्थानमा उक्लिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो। हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा बिजयी गोल गरे।
जितसँगै हिमालयन शेर्पाले ९ खेलबाट १४ अंक जोडेको छ। पुलिससँग समान अंक भएपनि गोल अन्तरका आधारमा शेर्पा क्लब पछाडि परेको हो। यता एनआरटीले नवौ चरणको खेलसम्म एक जित पनि निकाल्न सकेको छैन। एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ ।
यस्तै एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको दोस्रो खेलमा सरस्वती र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन्।
खेल अवधिभर दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन्। बराबरीपछि जावलाखेल ८ अंक जोड्दै दशौं स्थानमा छ भने सरस्वती १० अंक सहित नवौँ स्थानमा छ।