विराटनगर-इलामको सुर्योदय नगपालिका वडा नम्बर ५ मा अहिले होमस्टेको संख्या बढ्दो छ ।
होमस्टे सञ्चालन गरेर गरेर धेरैले राम्रो आम्दानी गरेका छन् भने धेरैले रोजगारी पनि पाएका छन् । सामुदायिक होमस्टे सञ्चालक समितिका अनुसार त्यहाँ करीब ४४ वटा होमस्टे सञ्चालनमा छ ।
सिजनमा दैनिक ७ हजारसम्म पर्यटक श्रीअन्तुमा सुर्योदय हेर्नका लागि पुग्ने गरेका छन् । तर त्यहाँ जाँदा जति नै.होमस्टेको आनन्द र रमाइलो छ, त्यहाँ भित्र काम गर्ने सहयोगीहरूको पीडा पनि त्यत्तिकै मनछुने छन् ।
देख्दा मनमोहक चिया बगानका बीचमा चिसो सिरेटोको आनन्द लिँदै श्रीमन्तुसम्मको सुर्योदय हेरेर फर्कँदा बसिने होमस्टेमा पहुनालाई भव्य स्वागत गरिन्छ । अनि फर्किने बेलामा फेरी त्यही ठाउँमा बसिरहुँ जस्तो स्नेहका साथ फिर्ता पठाउँछन् । होमस्टेबाट मानिसहरूले राम्रो आम्दानी गरेपनि त्यहाँ केही यस्ता दृश्य देखिए जसले मन निकै छोयो । सुर्योदय नगरपालिकाको एक होमस्टेका २ बहिनीहरू काम गर्दै गरेको देखियो । होमस्टे भित्रको खास कुरा के छ त ?
दृश्य नम्बर एक - शान्तिकला
सुर्योदय नगरपालिका ५ गोरखकी शान्तिकला लोप्चा १७ वर्षकी भइन् । उनी श्रीअन्तुकै फ्याफुल्ला होमस्टेकी सहयोगी हुन् । उनी श्रीजनक माध्यामिक विद्यालयको कक्षा ११ मा पढ्छिन् । होमस्टेमा बस्ने, काममा सघाउने, दिउँसो पढ्न जानु अनि बिहान-बेलुका होमस्टेमा सहयोग गर्नु उनको दैनिकी हो । उनी १ वर्ष भयो होमस्टेमा आएर काम सघाउन थालेको । उनको घरबाट विद्यालयसम्म पुग्नका लागि करीब ३ घण्टा लाग्ने भएको कारण उनी होमस्टेलाई सहयोग गर्न र आफू पढ्नको लागि श्रीअन्तुको फ्याफुल्ला होमस्टेलाई सहयोग गर्ने र आफ्नो उदेश्य पूरा गर्ने सुरमा लागेकी हुन् । ५ दिदी बहिनी मध्येकी साइली शान्तिकलाका २ दिदीको विवाह भइसकेको छ । लक्ष्मी कक्षा ५ देखि १० सम्म मामाघरमा बसेर पढिन् । तर उनलाई पढाई खर्च चलाउनै मुस्किल पर्न थालेपछि उनलाई आफैं कमाएर पढ्ने इच्छा जाग्यो । उनी एक वर्ष अगाडिदेखि यही फ्याफुल्ला होमस्टेलाई काम गरेर सघाउने तथा आफ्नो पढाइ खर्चको जोहो गर्न थालिन् । तर यहाँ काम गर्दा पनि उनले पाउने भनेको खान, बस्न र पढाइ खर्च मात्र हो । बिहान ६ बजेदेखि नै होमस्टेलाई सहयोग गर्ने अनि राति अबेरसम्म काम गर्दा कहिलेकाँही शान्तिकलालाई पढाइ नै छाडिदिउँ जस्तो पनि लाग्ने गरेको छ । उनले भनिन्, ‘आ, अब त पढ्दिनँ जस्तो लाग्छ ।’ तर उनले पढाइ नै छाडिहाल्नु पर्ने कारण भने बताइनन् ।
लेप्चा समुदाय लोपोन्मुख जाति मध्येको एक हो । कमैले मात्र पढेलेखेका छन्, यो समुदायमा । सुर्योदय नगरपालिकामा बढी मात्रमा रहेको लोप्चा जातिको आम्दानीको श्रोत कमजोर रहेको बताइन्छ । जनक माध्यामिक विद्यालयमा शान्तिकलासँगै अर्का एकजना अपनास लेप्चा मात्र कक्षा ११ सम्म पढ्न थालेका छन् । आधारभूत तहसम्म आफ्नै गाउँको विद्यालयमा पढेका उनीहरूलाई उच्च माध्यामिक तथा उच्च शिक्षाका लागि पढ्न यसैगरी अरूको सहयोग लिनु पर्ने बाध्यता रहेको छ ।
दृश्य नम्बर दुई - सुनिला
श्रीअन्तु कै होमस्टेमा पाहुनाको लागि स्वागत गर्न तयार रहेका होमस्टेमाहरूमा त्यहीँका भन्दापनि बाहिरबाट आउने अनि होमस्टेमा सहयोग गरेर पढाइको जोहो गर्ने मध्येकी सुर्योदय नगरपालिका वडा नम्बर ४ तिनघरेकी सुनिला राई पनि हुन् । उनी १६ वर्ष की भइन् । अहिले उनी श्रीअन्तुमै रहेको श्रीजनक माध्यामिक विद्यालयमा कक्षा ९ मा पढ्छिन् । उनका बुबा आमा पनि श्रीअन्तुमै बसेर होमस्टेलाई सहयोग गर्छन् । तर काम गर्ने होमस्टे भने फरक-फरक हुन् । पाहुनाहरू होमस्टेमा आएको बेला उनी राति १ बजेसम्म काम गर्नुपर्ने सुनाउँछिन् । 'राति १ बजेसम्म काम गर्छौ,' उनले भनिन्,'बिहान त अल्छी लागेको हुन्छ, ८ बजेसम्म सुत्छौं ।' उनले यो होमस्टेमा काम गर्न थालेको ३ वर्ष पूरा भइसकेको छ । उनको पनि घरबाट विद्यालय टाढा भएकाले होमस्टेमा काम गर्दै पढ्नुपर्ने बाध्यता आइपरेको हो ।
यसरी गाउँबाट आफ्नो बाध्यतासँगै भविष्य खोज्दै आएका यी किशोरीहरूलाई होमस्टे सञ्चालकहरूले भने परिवारको जस्तै व्यवहार गर्ने गरेका छन् । श्रीअन्तु सामुदायिक होमस्टेका अध्यक्ष धन कुमार आलेले सहयोगी बहिनीहरूले काममा सघाउने गरेको बताउँछन् । कसको को आफ्नो मान्छे हो भन्ने समेत श्रीअन्तु पुगेका पाहुनाले थाहा पाउँदैनन् ।
होमस्टे भनेका व्यक्तिका घरमा आएका पाहुनाका लागि राखिने घर हो । यहाँ घरमै पाहुनालई खाना खुवाइन्छ र सुत्ने व्यवस्था गरिन्छ । त्यो पनि सस्तो दरमा । श्रीअन्तुमा भञ्ज्याङ तल र भञ्ज्याङ माथि गरी २ भागमा विभाजित गरेर ४४ वटा होमस्टे सञ्चालनमा छ । यी होमस्टेले आफैंले उत्पादन गरेका परिकार खुवाउने गरिन्छ । तर सधैं त्यो सम्भव पनि छैन । स्थानीय उत्पादन अभावका कारण बाहिरबाट पनि खाद्यान्न लानु परेको होमस्टेका सञ्चालकहरू बताउँछन् ।