सुनसरी र मोरङका कृषक मारमा : उखु पेल्ने काम समयमा नहुँदा भुक्तानी पाउनमा ढिलाइ

सुनसरी र मोरङका कृषक मारमा : उखु पेल्ने काम समयमा नहुँदा भुक्तानी पाउनमा ढिलाइ

जयकृष्ण यादव

इनरुवा, वैशाख २२ गते ।

उखु पेल्ने काम समयमा नहुँदा सुनसरी र मोरङका कृषकले यस वर्ष पनि भुक्तानी पाउनमा ढिलाइ भएको छ । मङ्सिरदेखि नै उखु पेल्नुपर्नेमा त्यसो नभएकाले भुक्तानीमा ढिलाइ भएको हो ।
पुसमा मात्रै उखु पेल्न सुरु हुँदा उखु नै सुकेकाले किसानले सोचे अनुसारको प्रतिफल नपाएको रामनन्द मेहताले बताउनुभयो । ढिलो मिल चलेकाले भुक्तानीमा पनि ढिलाइ हुने भएको छ । यही अवस्थामा भुक्तानी भए किसानले असारसम्म कुर्नुपर्ने अवस्था आउने मेहताको भनाइ छ ।

सुनसरीको बर्जु गाउँपालिका–५, अमाहिबेलाहाका किसान रामविलास मेहताले दुई बिघाको उखु काटेर यस वर्ष पेल्दा गर्दा एक लाख रुपियाँ मात्रै आम्दानी हुने देखिएको बताउनुभयो । उहाँले समयमा मिलले पेल्ने काम सुरु नगर्दा उखु सुकेका कारण आम्दानी घटेको गुनासो गर्नुभयो ।ukhu
इस्टर्न सुगर मिल्सका उखु विभाग प्रमुख सुरेशप्रसाद मेहताका अनुसार ढिलो गरी उखु कटान सुरु भएको र पेल्ने कामसमेत ढिलो भएकाले उत्पादन तौल घटेको छ ।
उहाँले मिलले लिएको १४ लाख ५० हजार क्विन्टल उखु पेल्ने लक्ष्यसमेत पूरा नभएको बताउनुभयो । उहाँले यसपालि मिलले वैशाख ९ गते मिल बन्द हँुदासम्म ११ लाख ८७ हजार ३५६ क्वीन्टल उखु कटान भई पेलिएको बताउनुभयो । उहाँले मिलमा दैनिक २२ देखि २४ हजार क्विन्टल उखु पेलिएको र कुल पेलिएको उखुको प्रतिक्विन्टल ४४१ रुपियाँका दरले भुक्तानी दिइरहेको जानकारी दिनुभयो ।

प्रमुख मेहताका अनुसार ढिलो भए पनि ११ लाख ८७ हजार ३५६ क्विन्टल उखु पेल्ने काम सकिएको छ । उहाँले माघमा उखु बिक्री गरेका कृषकलाई सबै भुक्तानी दिएको र फागुनदेखिका किसानलाई भुक्तानी गरिरहेको बताउनुभयो ।
गाउँमै उखुको क्रसिङ गर्ने मिल भएकाले बढी उखु लगाएको तर सोचे जति आम्दानी गर्न नसकेको मेहताको भनाइ रहेको छ । यस्तै, सुनसरीको देवानगञ्जका कृषक सुकदेव मेहताले समयमा उखु कटान नभएपछि कृषकलाई एक बाली घाटा लागेको र अर्को तिर भुक्तानी समेत ढिलो भएको बताउनुभयो ।
उखु पेल्ने काम समयमै भएको भए किसानले हिउँदे मकै, गहुँ र तरकारी बालीसम्म लगाउन पाउँथे तर यो वर्ष सुनसरीको बर्जु गाउँपालिका–५ स्थित इस्टर्न सुगर मिल्सले माघको पहिलो हप्तादेखि मात्रै उखु काट्ने पुर्जी जारी गरेकाले उक्त बाली लगाउनबाट समेत कृषक वञ्चित भएका छन् ।

उखु कटान मङ्सिर वा ढिलोमा पुस १५ गतेदेखि सुरु हुनुपर्नेमा यस वर्ष माघ दोस्रो साताबाट मात्रै सुरु हुँदा र वैशाख ९ गतेसम्म चलेकाले आफूहरू हिउँदे बाली लगाउनबाट वञ्चित भएको कृषकले गुनासो पोखेका छन् ।
सरकारले तोकेको समर्थन मूल्यमा उद्योगीहरूले उखु खरिद गर्न नमानेपछि उखु कटानमा ढिलाइ भएको थियो । ढिलो गरी उखु कटान सुरु हुँदा उखु फुलेर र सुकेर तौल घटेको र अर्को बाली पनि लगाउन नपाएको कृषकको गुनासो छ ।
सुनसरी, झापा र मोरङमा उखु उत्पादन गर्दैआएका कृषकको उखु फुलेर र सुकेर वजन घट्नुका साथै नयाँ बालीको फाइदा समेत गुमेको कोसी उखु उत्पादक सङ्घका अध्यक्ष शिवलाल चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्