इलामका चिया मजदुरको आन्दोलन ३५ औँ दिनमा, सरकार र व्यवसायी दुवै मौन

इलामका चिया मजदुरको आन्दोलन ३५ औँ दिनमा,  सरकार र व्यवसायी दुवै मौन

कोकिला ढकाल

इलाम, वैशाख २२ । सरकार आफैँले तोकिदिएको ज्याला र अन्य सेवा सुविधा कार्यान्वयन गराउने विषयमा सरकार नै मौन बसेपछि चिया श्रमिकले थालेको आन्दोलन लम्बिएको छ । श्रमिकको आन्दोलन सुरु भएको ३५औँ दिनसम्म पनि सरकार र व्यवसायी दुवै मौन बसेका छन् । सरकारी नियमअनुसार कुनै पनि निर्णय वा सूचनाको परिपक्वता ३५ दिनमा पूरा हुन्छ ।

सरकारी स्वामित्वमा रहेका इलामका इलाम चिया बगान, कन्याम, चिलिमकोट र सोक्तिम चिया बगानका श्रमिकले आफू कार्यरत बगान तथा प्रतिष्ठानमा भेला भएर दैनिक डेढ घण्टा धर्ना दिइरहेका छन् । सरकारी स्वामित्वमा रहेका झापाका वर्ने, टोकला, बाह्रदर्शीसहित न्युगिरि, मित्तल, सती घट्टालगायतका निजी बगान र उद्योगमा पनि श्रमिकले आन्दोलन जारी राखेका छन् ।  अब एक साताभित्र आन्दोलनको निकास कतैबाट नहुने हो भने यो वर्षको पहिलो टिपाइ ‘फस्ट फ्लस’ को चिया नस्ट भएर जान्छ, कन्याममा कार्यरत मजदुर नेता विष्णु भट्टराईले भन्नुभयो । तीन–चारपटक टिपाइ हुने यो सिजनको चिया अब एक टिपाइसम्म हुनसक्छ ।
यो भनाइ सरकारी सूचनाहरूका लागि ३५ दिनको समय व्यतित भएपछिको दोहोरो दस्तुर तिरेर आवेदन गर्न पाइने जस्तै थप समयको हो ।

मुख्य सिजनको चिया नस्ट हुँदै गर्दा बगान व्यवस्थापन पक्ष पनि चुप लागेर बसेको छ तर, ३५औँ दिनसम्म आन्दोलनमा होमिएका श्रमिक भने आन्दोलनको अवधिको पनि दैनिक ज्याला छोड्ने पक्षमा छैनन् ।
श्रमिकहरूको आन्दोलन चलिरहेका बेला केही दिन अघि पूर्वप्रधानमन्त्री झलनाथ खनालले कन्याममै पुगेर श्रमिकहरूसँग सरकारले तोकेको ज्यालासहित सेवा सुविधाका विषयमा छलफल गर्नुभएको थियो । आफू काठमाडौँ फर्किएर सरकारलाई यहाँको अवस्थाको विषयमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका खनाल काठमाडौँ फर्किएको साता दिनभन्दा बढी हुँदासम्म कुनै जानकारी नआएको श्रमिकहरूको गुनासो छ ।

गत वैशाख १५ मा पशुपतिनगरको अध्यागमन कार्यालयको उद्घाटन गर्न इलाम आइपुग्नुभएका गृहमन्त्री राबहादुर थापा बादलले आफ्नो भाषणमै चिया श्रमिकको समस्याका विषयमा कृषि र अर्थ मन्त्रालयसँग छलफल चलाएर समस्याको समाधानका निम्ति पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो तर, गृहमन्त्रीको आश्वासनले पनि श्रमिकहरूको समस्यामा केही हुन नसकेको अर्का मजदुर नेता रमेश खड्का बताउनुहुन्छ ।

मन्त्री र नेताहरूले जति काम गर्छौं भनेर प्रतिबद्धता जनाए पनि, आश्वासन दिए पनि राजधानी फर्किएपछि सबै बिर्सने हुन्, खड्काले भन्नुभयो । सरकार आफूले बनाएर जारी गरेको कानुन नमानी व्यवसायीलाई नै काँध हालेर बसेको छ, तर योपटक हाम्रो आन्दोलन अन्तिम आन्दोलन हो, निकास नआई आन्दोलन छाड्दैनौँ ।
चिया श्रमिक र श्रमिकका सरूगठनहरूले शुक्रबारमात्र आगामी वैशाख २४ गतेका लागि नयाँ कार्यक्रम तय गरेका छन् । दैनिक आन्दोलन चलाइरहेका श्रमिकहरूले २४ गते भने झापाको विर्तामोडस्थित मुक्तिचोकको खुला सडकमा सुतेर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेपाल चियाबगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताउनुभयो । चिया श्रमिक गत चैत १७ देखि काम छोडेर आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्