विराटनगरका रिजालको समूहले कोहलपुर र बालाजुबाट पनि खानेपानीका ट्यांकी उत्पादन गर्ने

विराटनगरका रिजालको समूहले कोहलपुर र बालाजुबाट पनि खानेपानीका ट्यांकी उत्पादन गर्ने

विराटनगर,२४ बैशाख । विगत अढाई दशकदेखि खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इन्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुर र काठमाडौंको बालाजु औद्योगिक क्षेत्रबाट पनि ट्यांकी उत्पादन गर्ने भएको छ।

कोहलपुर नगरपालिकाको पिप्री भन्ने स्थानमा १४ कट्ठा जमिन लिएर तथा बालाजू औद्योगिक क्षेत्रमा गरी दुबै स्थानमा पूर्वाधार निर्माणको काम सुरु भइसकेको उद्योगले जनाएको छ।उद्योगका सञ्चालक नवीन रिजालका अनुसार हाल सुनसरीको इटहरी र ललितपुरको सानोगाउँ गरी दुई स्थानबाट ट्यांकी उत्पादन भइरहेको छ।

कोहलपुर र बालाजु दुबै स्थानबाट आठ महिनापछि उत्पादन सुरु गर्ने लक्ष्य रहेको सञ्चालक रिजालले बताए । यसपछि चार स्थानबाट ट्यांकी उत्पादन गरिनेछ ।उद्योगले रिजालको, पोलिटैङ्क, शीतल र पशुपति गरी चार ब्रान्डमा ६ प्रकारका ट्यांकी उत्पादन गरिरहेको छ। उद्योगले ब्लो प्रविधिमा आधारित रहेर पानी नतात्ने खालका ५ लेयरका ट्यांकीको उत्पादन विश्वमै पहिलो पटक गरेको दाबी गर्दै आएको छ।

जर्मन प्रविधिमा आधारित पानी नतात्ने ट्यांकी रिजालको उद्योगबाहेक अन्यत्र निर्माण नगरिने उद्यमी रिजालको दाबी छ।
कोहलपुर र बालाजुबाट अझ उच्च प्रविधि र स्तरका ट्यांकी उत्पादन गरिने उनले जानकारी दिए।उद्योगले सुनसरीको इटहरीमा वार्षिक ६५ हजार थान र सानोगाउँमा २५ हजार थान ट्यांकी उत्पादन गर्दै आएको उल्लेख गर्दै उनले कोहलपुर र बालाजु दुबै स्थानबाट तत्काल पहिलो चरणमा २५/२५ हजार थान ट्यांकी उत्पादन गरिने जनाए।

बजारको मागअनुसार भविष्यमा उत्पादन क्षमता बढाइने उनको सोचाइ छ ।‘दुबै स्थानका उद्योग जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटिक हुन्’, रिजालले भने, ‘फुल्ली अटोमेसनका कारण श्रमिकको सङ्ख्या दुबै उद्योगमा स्वाभाविक रूपमा कम लाग्ने छ । दुबै उद्योगमा बढीमा ८०/८० श्रमिक हुने अनुमान छ ।’

इटहरीस्थित उद्योगबाट पश्चिम नेपालमा ट्यांकी पुर्याउँदा २ सय रुपैयाँ ढुवानी खर्च लागेको चर्चा गर्दै उनले ढुवानीकै कारण उद्योग प्रतिस्पर्धामा आउन नसकेको स्पष्ट पारे ।‘पश्चिम नेपाल र काठमाडौंमा नै उद्योग स्थापना गरेपछि ढुवानी खर्चको समस्याबाट कम्पनीलाई राहत मिल्ने आशा छ’, रिजालको भनाइ छ, ‘यसपछि हामी स्थानीय बजारमा प्रतिस्पर्धी हुन सक्नेछौँ।’

‘रिजालको ब्लो’ ब्रान्डको पानी नतात्ने ट्यांकी बनाउन आफ्नो उद्योगले धेरै चुनौती खेपेको उनले सुनाए।‘हामीले धेरै इन्जिनियर र विशेषज्ञसित छलफल गर्यौ, रिजालको कथन थियो, ‘अन्तिममा जर्मनीको एउटा कम्पनीले हामीले भनेजस्तो मेसिन उपलब्ध गराउने भयो। सात वर्षको परिश्रमपछि हामी पानी नतात्ने ट्यांकी उत्पादन गर्न सफल भयौँ ।’

विशेषतः तराई क्षेत्रका उपभोक्ता र तिनमा पनि पश्चिम तराईका उपभोक्ताले यस्तो ट्यांकीको माग बढी गरेको उनको अनुभव छ।खानेपानीको ट्यांकी अति आवश्यक वस्तुमा परेकाले सरकारले यसमा अन्तःशुल्क लगाउनु नहुने रिजालको आग्रह छ।चालु आर्थिक वर्षदेखि सरकारले पानी ट्यांकीमा ५ प्रतिशत अन्तःशुल्क लगाएको उल्लेख गर्दै उनले आम जनताले प्रयोग गर्ने अत्यावश्यक क्षेत्रमा अन्तःशुल्कको भार लगाइनु नहुने जिकिर गरे।

नवीनको नेतृत्वमा रहेको रिजालको समूहले सिपिभिसी, एचडिपिई र पिभिसी पाइप, ग्यास गिजर, ग्यास र खानेपानीका ट्यांकी उद्योगहरू सञ्चालन गरिरहेको छ।व्यापार विस्तारका लागि आफ्नो समूहले यसै वर्षदेखि पोखरा, नेपालगञ्ज, नारायणघाट र बालाजुमा पनि कार्यालय स्थापना गर्न लागेको उनले बताए। अनन्त/बिजमाण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्