विश्वकप क्रिकेटको रोमान्चक , कसले मार्ला बाजी ?

विश्वकप क्रिकेटको रोमान्चक , कसले मार्ला बाजी ?

प्रजित शाक्य

विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटरहरू यतिबेला बेलायतमा छन् । विश्वकप क्रिकेटलाई लोकप्रियताको आधारमा विश्वकप फुटबलपछिको दोस्रो ठूलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै हुनथालेको छ ।

विश्वकप क्रिकेटको यो १२ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको थियो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन, सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जितेथ्यो । सो समय वेस्ट इन्डिज अपराजेय थियो । वेस्ट इन्डिजको धाकलाई चुनौती दिने कुनै देशको टिम थिएन ।

सन् १९९३ मा भएको तेस्रो संस्करणमा पनि वेस्ट इन्डिज प्रमुख उपाधि दाबेदार थियो । वेस्ट इन्डिज सहजै फाइनलमा पुग्यो पनि । तर उसले उपाधि भिडन्तमा तुलनात्मक रूपमा कमजोर आँकिएको भारतलाई हराउन सकेन र उपाधि जितको ह्याट्रिक बनाउनबाट चुक्यो । त्यसपछि वेस्ट इन्डिजले अहिलेसम्म पुनः ट्रफीमा आफ्नो नाम लेखाउन सकेको छैन । यसबीच सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरी अस्ट्रेलियाले सबभन्दा बढी पाँच पटक विश्वकप जितेको छ । सन् १९९२ मा पाकिस्तान, सन् १९९६ मा श्रीलङ्का र सन् २०११ मा भारत विश्व च्याम्पियन बने ।

cricket
विश्वकपको नयाँ संस्करण इङ्गल्यान्डमा सुरु भएको दुई दिन बितिसक्यो । यसपटक कसले उपाधि जित्ला त ? अनुमान गर्न कठिन छ । किनभने विश्वकपमा सहभागी दसै राष्ट्र एकले अर्कालाई हराउन सक्षम छन् । यसैलै विश्वकप उपाधि विजेताको ठोकुवा गर्न गलत नै सावित हुन्छ । यद्यपि हामी विश्वकपमा खेल्ने टिमहरूको सम्भावनाका बारेमा चर्चा गर्नेछौँ ।

घरेलु टिम इङ्गल्यान्डलाई प्रमुख दाबेदारको रूपमा लिइएको छ । क्रिकेटको जननी राष्ट्र हो इङ्गल्यान्ड तर इङ्गल्यान्ड एकदिवसीय विश्वकप च्याम्पियन बन्न सकेको छैन । तीन पटक फाइनलमा पुगेर पनि च्याम्पियन बन्न नसकेको इङ्गल्यान्डलाई यसपटक प्रमुख दाबेदार मानिएको छ । यसका केही कारण छन् । आइसीसी वरीयतामा शीर्ष स्थानमा छ इङ्गल्यान्ड । सन् २०१७ मा च्याम्पियन्स ट्रफीको सेमिफाइनल हारेपछि इङ्गल्यान्डले एकदिवसीय शृङ्खला हारेको छैन । यसबीच उसले अस्ट्रेलिया (दुई पटक), न्युजिल्यान्ड, भारत र श्रीलङ्कालाई एकदिवसीय शृङ्खलामा हराएको थियो । यस वर्ष वेस्ट इन्डिजविरुद्धको शृङ्खला २–२ ले बराबरीमा सकिनु इङ्गल्यान्डका लागि कमजोर नतिजा भएको छ । विश्वकपमा खेल्ने टिममा इङ्गल्यान्ड मात्र यस्तो टिम हो जसमा चार ब्याट्सम्यान (जोय रुट जस बट्लर, जोनी बेरिस्टा र इयोन मोर्गन) आइसीसी वरीयताका शीर्ष २० मा छन् ।

यसैगरी घरेलु मैदान र दर्शक इङ्गल्यान्डका लागि सबभन्दा ठूलो प्लस प्वाइन्ट हुनेछ । स्वीङ र बल मुभ हुने पिच र ओभरकास्ट कन्डिसन इङ्गल्यान्डको क्रिकेटका विशेषता हुन् । जुन परिस्थितिमा खेल्न इङ्गल्यान्ड अभ्यस्त छ ।
सन् २०१५ मा विश्वकपको समूह चरणबाट बाहिरिएपछि अपमानित महसुस गरेको इङ्गल्यान्डले त्यसपछि सम्पूर्ण ध्यान एकदिवसीय र टि २० जस्ता छोटो संरचनाको क्रिकेटमा लगाएको थियो । प्रशिक्षक ट्रेभर बेलिस र कप्तान इयोग मोर्गनले टिममा आक्रामक, सकारात्मक, जोखिम लिने मनस्थितिको खेल भरिदिए । त्यसपछि इङ्गल्यान्डको टिममा चमत्कार भयो । विश्वकपपछि एकदिवसीय क्रिकेटमा खडा भएका १७ मध्ये १५ सर्वाधिक स्कोर इङ्गल्यान्डकै नाममा छ । यसबीच सन् २०१८ मा अस्ट्रेलियाविरुद्ध ४८१ र पाकिस्तानविरुद्ध ४४४ रन बनाएर इङ्गल्यान्डले दुई सर्वाधिक स्कोरको कीर्तिमान पनि राखेको छ ।


दोस्रो पालिमा सर्वाधिक ११ मध्ये पाँच स्कोर इङ्गल्यान्डको नाममा छ । घरेलु मैदानमा भएको एकदिवसीय क्रिकेटमा लक्ष्य पछ्याएर इङ्गल्यान्डले पछिल्ला १८ खेल जितेको छ । गत फेब्रुअरीमा वेस्ट इन्डिजविरुद्धको खेलमा इङ्गल्यान्डले २४ छक्का प्रहार गरेर विश्वकीर्तिमान बनाएको थियो ।
ब्याटिङ इङ्गल्यान्डको सबभन्दा खतरनाक पक्ष हो । मोइन अलीजस्ता विश्वस्तरीय ब्याट्सम्यान आठौँ क्रममा हुनुले पनि इङ्गल्यान्डको ब्याटिङ क्रम कति बलियो छ भन्ने थाहा हुन्छ । जोनी बेरिस्टो र इयोन मोर्गन शानदार लयमा छन् । जस बट्लर विश्व क्रिकेटकै सबभन्दा विस्फोटक ब्याट्सम्यान हुन् । इङ्गल्यान्डको बलिङ पनि सन्तुलित छ । आदिल रसिद भरोसा गर्न लायक स्पीनर हुन् भने बेन स्टोक्स र क्रिस वोक्सजस्ता अलराउन्डरले इङ्गल्यान्डको टिममा थप सशक्तता प्रदान गर्दछ । नयाँ तेज बलर जोफ्रा आर्चरले इङ्गल्यान्डको टिममा एक्स फ्याक्टर ल्याउने विश्वास गरिएको छ । इङ्गल्यान्डपछि भारतलाई दाबेदारको रूपमा लिइएको छ । सन् १९८३ मा कपिलदेवको नेतृत्वमा विश्वकप क्रिकेटको उपाधि जितेपछि भारतमा यस खेललाई लिएर देखिएको पागलपन अहिलेसम्म कम भएको छैन । अहिले भारत क्रिकेटको सुपर पावर भइसकेको छ । यसपालि पनि सबभन्दा बढी बाजी भारतमाथि नै लाग्नेछ । कप्तान विराट कोहलीको रूपमा भारतीय टिममा विश्वका उत्कृष्ट ब्याट्सम्यान छन् । रोहित शर्मा र शिखर धवन विश्वकै उत्कृष्ट प्रारम्भिक जोडी हो । कोहली, रोहित र शिखरबाहेक पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि यस विश्वकपलाई विशेष बनाउन प्रयास गर्नेछ । भनिन्छ, विश्व क्रिकेटमा धोनीजस्तो फिनिसर छैन । अझ अलराउन्डर हार्दिक पाण्ड्यामा पनि सबैको नजर हुनेछ ।
विश्वकपका एक नम्बरका बलर जस्प्रित बुम्राह पनि भारतकै हुन् । यसबाहेक मोहम्मद सामी र भुवनेश्वर कुमारले भारतको तेज बलिङ आक्रमणलाई सुदृढ बनाएको छ । यी तीन तेज बलर फरक शैलीको हुँदा भारतलाई फाइदा पु¥याउनेछ । पछिल्ला दुई च्याम्पियन्स ट्रफीमा उपविजेता भारतले इङ्गल्यान्डको कन्डिसनमा खेल्न सक्ने देखाइसकेको छ । विश्वकपको सर्वाधिक सफल टिम अस्ट्रेलियाका पूर्व कप्तान तथा उपकप्तान स्टिम स्मिथ र डेभिड वार्नरको पुनरागमनले हौसिएको छ । पाँच पटक विश्वकप जितिसकेको अस्ट्रेलिया पछिल्ला पाँचद्धमध्ये चार उपाधि जित्ने टिम हो । यसपालि अस्ट्रेलिया विगतको जस्तो छैन । एकदिवसीय वरीयतामा पनि अस्ट्रेलिया पाँचौँ स्थानमा झरिसकेको छ तर भारत र पाकिस्तान जस्तो बलिया टिमलाई हराएकोले अस्ट्रेलियालाई कम आँक्न सकिन्न । पछिल्लो पटक सन् १९९९ मा इङ्गल्यान्डमै विश्वकप हुँदा अस्ट्रेलियाले नै उपाधि जितेको थियो ।


उपाधि रक्षा अभियानमा रहेको अस्ट्रेलियाले कप्तान आरोन फिन्च र उस्मान ख्वाजासँग भरपुर रनको अपेक्षा गर्नेछ । पछिल्लो विश्वकपमा सर्वश्रेष्ठ खेलाडी मिचेल स्टार्क पुनः आफ्नो स्वीङ हुने योर्करले ब्याट्सम्यानलाई बोल्ड गर्न तयार छन् । उनलाई तेज बलिङमा प्याट् कमिन्सले साथ दिनेछन् । विश्वकपमा दक्षिण अफ्रिकालाई सबभन्दा अभागी टिम मानिन्छ । धेरै पटक दाबेदार भएर पनि महŒवपूर्ण खेल हार्दा दक्षिण अफ्रिका ट्रफीबाट वञ्चित हुँदै आएको छ । उसले सन् १९९८ मा च्याम्पियन्स ट्रफी जित्नुबाहेक अहिलेसम्म आइसीसी इभेन्ट जित्न सकेको छैन । यसपटक हासिम आम्ला र क्विटन डि ककमा दक्षिण अफ्रिका धेरै भर पर्नेछ । तेज बलिङ आक्रमण गतिलो छ । स्पीन पक्ष पनि ठिकठाक छ । दक्षिण अफ्रिका यसपटक पनि विश्वकप जित्न सक्षम टिम हो । यद्यपि विश्वकपमा कमजोर मानसिकतामा खेल्ने दक्षिण अफ्रिकाले यसपटक आफ्नो भाग्य बदल्न सक्ला
त ? यो भविष्यकै गर्भमा छ ।

न्युजिल्यान्ड विश्वकपमा सधँै राम्रो गर्ने टिम हो । गत उपविजेता न्युजिल्यान्ड उपाधि दाबेदारहरूका लागि यसपटक पनि सबभन्दा ठूलो खतरा हो । न्युजिल्यान्डको टिममा अलराउन्डरको बाहुल्य छ । यसैगरी कप्तान केन विलियम्स र रस टेलरजस्ता ब्याट्सम्यान र टिम साउथी र ट्रेन्ट बोल्टजस्ता बलरले न्युजिल्यान्ड हेर्नलायक टिम हुनेछ । तापनि व्यक्तिगतभन्दा एकजुट भएर खेल्नु न्युजिल्यान्डको शक्ति हो । उनीहरू प्रायः सामूहिक प्रदर्शन गर्छन् ।
सुरुका दुई संस्करणमा विजेता बन्दा वेस्ट इन्डिज अजय टिम थियो । उसको प्रदर्शन पछि लगातार खस्किँदै गयो र वेस्टइन्डिज साधारण टिममा रूपान्तरित हुनपुगेको छ तर अहिले वेस्ट इन्डिज एकदिवसीय र टि २० मा पुनः शक्तिशाली टिमका रूपमा प्रस्तुत भइसकेको छ । क्रिस गेलको रूपमा वेस्ट इन्डिजमा विस्फोटक ब्याट्सम्यान छन् । डारेन ब्राभोको उपस्थितिले मध्यक्रम पनि ठोस देखिन्छ । एन्द्रयु रसेलजस्ता अलराउन्डरको आगमनले वेस्ट इन्डिज थप हौसिएको छ । वेस्ट इन्डिजले यसपटक विश्वकप जितेमा त्यो आश्चर्यको विषय हुनेछैन । वेस्ट इन्डिजको समस्या भनेको अस्थिर प्रदर्शन हो जसले वेस्ट इन्डिजलाई डुबाउन सक्छ ।
दुई वर्षअघि इङ्गल्यान्डमै मिनी विश्वकप च्याम्पियन्स ट्रफी जितेकोले पाकिस्तानलाई दाबेदारको सूचीबाट हटाउन सकिँदैन । पाकिस्तान सन् १९९२ मा विश्वकप जितिसकेको टिम पनि हो । यद्यपि पछिल्ला दुई एकदिवसीय शृङ्खलामा अस्ट्रेलियासँग ५–० र त्यसपछि इङ्गल्यान्डमा ४–० ले हारेपछि पाकिस्तान दबाबमा अवश्य छ । यद्यपि पाकिस्तान भविष्यवाणी गर्न नसकिने टिम हो । पछिल्लो पटक इङ्गल्यान्डमा विश्वकप हुँदा पाकिस्तानले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

सन् १९९६ मा अपत्यारिलो तरिकाले विश्वकप क्रिकेटको उपाधि जितेपछि श्रीलङ्काले लामो समयसम्म आफ्नो प्रतिष्ठा गुम्न दिएको छैन । यद्यपि श्रीलङ्कालाई अहिले ठूला टिमको रूपमा पनि लिइँदैन । अफफिल्डमा देखिएका समस्याले पनि श्रीलङ्काली क्रिकेटलाई पछाडि पारेको थियो । यस वर्ष श्रीलङ्काले सुरुका आठ एकदिवसीय क्रिकेटमा हार बेहोरेको थियो । यद्यपि अहिले विश्वकपसम्म आइपुग्दा श्रीलङ्काले आफ्नो सही टिम पाइसकेको भान हुन्छ । यस विश्वकपमा अनुभवी दुई क्रिकेटर एन्जेलो म्याथ्युज र लासिथ मालिङ्गामा आफ्नो टिमलाई डो¥याउने ठूलो जिम्मेवारी हुनेछ ।
आयरल्यान्डमा वेस्ट इन्डिज पनि सामेल त्रिदेशीय शृङ्खला जितेर बङ्गलादेश उच्च मनोबलका साथ विश्वकपमा खेल्न इङ्गल्यान्ड आएको छ । बङ्गलादेशको प्रदर्शन प्रायः कप्तान मसरफी बिन मुर्तजा, शकिब अल असन, मुस्फिकर र रहमान र तमिम इकबालमा नै भर पर्नेछ तर हालै सौम्य सरकार, मुस्तफिजुर रहमान र शबीर अहमदजस्ता खेलाडी पनि चम्कँदै आएका छन् ।
विश्वकपमा सहभागी दसौँ टिम अफगानिस्तान हो । जिम्बाब्वे, आयरल्यान्ड र स्कटल्यान्डजस्ता स्थापित टिमलाई पछाडि पार्दै अफगानिस्तान विश्वकपमा खेल्न योग्य बनेको हो । अफगानिस्तान विश्व क्रिकेटमा सबभन्दा चाँडै प्रगति गरिरहेको टिम हो । रसिद खान, मुजीबुर रहमान अहिले विश्वकै उत्कृष्ट स्पीनरको रूपमा छन् । यसैगरी मोहम्मद नावी, मोहम्मद सहजाद र हजरुतुल्ला जजाई पनि विश्वस्तरीय क्रिकेटर हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्