धरानमा डेंगुको महामारी ,बिराटनगरमा फैलने खतरा (यसरी बच्न सकिन्छ)

धरानमा डेंगुको महामारी ,बिराटनगरमा फैलने खतरा (यसरी बच्न सकिन्छ)

बिराटनगर जेठ २४,

सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको छ । विशेष गरी तराईका जिल्लामा यो रोगको प्रकोप बढी देखिने गरेको छ । धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरू बताउँछन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्रमितको संख्या १८५ पुगेको छ ।

डेंगु मोरङ लगायत बिराटनगरमा पनि फैलन सक्ने सम्भावना रहेको छ । बिराटनगरमा पनि डेंगुको संक्रमण फैलन सक्ने भन्दै सचेत रहन चिकित्सकको सुझाब रहेको छ ।

यो रोग कस्तो हो र बच्न के गर्ने ? 

के हो डेंगु ?

यो संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको ज्वरो हो । डेंगुको भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्ने गर्दछ । विश्वभर नै यो रोगको संक्रमण देखिएको भए पनि एसियामा पनि खास गरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग प्रकोपको रूपमा देखा परेको छ ।
सामान्यतया डेंगु भाइरसको संक्रमण भएको ३ देखि १४ दिनपछि यो रोगका लक्षण देखिन थाल्छन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ । तर, समयमै अस्पताल गई चिकित्सकको परामर्श नलिए यो रोगबाट ज्यानै जान सक्ने चिकित्सक बताउँछन् । यो रोगका लागि हालसम्म विशेष औषधि उपलब्ध नरहेका कारण पनि सावधानी अपनाउन आवश्यक छ ।

के हुन् डेंगु रोगका लक्षण ?
यो रोग लागेका बिरामीहरूमा सुरुमा टाउको दुख्ने, एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, रिंगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, जोर्नीहरू दुख्ने, बान्ता हुने, सामान्य ज्वरो आउने र आलस्यता हुने जस्ता लक्षण देखिन्छ । साथै नाकबाट रगत आउने, दिसामा रगत आउने तथा कालो दिसा हुने, रगतमा पानीको मात्रा कम हुने, प्लेटेलेटसको संख्या एक लाखभन्दा कम हुने तथा रक्तचाप कम हुने समस्या पनि देखिन थाल्छन् ।

क्लासिक डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु सक सिन्ड्रोम गरी डेंगुका तीनवटा चरण देखिन्छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो, यो आफैँ निको हुन्छ तर, डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।

निदान :
यो रोगको हालसम्म कुनै पनि औषधि तथा सुई खोप उपलब्ध छैन । आराम गर्ने, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खाने गर्नुपर्दछ । यस्तै, अत्यधिक ज्वरो आउने भएमा ज्वरोको औषधि सेवन गर्ने र रगत बगेको अवस्थामा प्राथमिक उपचार गरेर जति सक्दो चाँडो अस्पताल पु¥याउन चिकित्सकहरूको सुझाव छ ।

बच्ने उपाय :
हुन त रोग लगेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । यो रोग विशेष गरी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले पनि घर वरिपरि सकेसम्म लामखुट्टे आउने वातावरण बन्न दिन हुँदैन । घरभित्र तथा बाहिर सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ ।  घरअगाडि तथा छेउछाउमा पानी जम्ने खाल्डाखुल्डीहरू भए पुर्नुपर्छ । साथै लामखुट्टेको टोकाइबाट बच्न राति सुत्दा झुलको प्रयोग गर्ने वा लामखुट्टे धूप वा क्रिम प्रयोग गर्नु झ्याल ढोकामा जाली राख्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्