बेलिब्रिज खोलेपछि उदयपुर र खोटाङबीचको सिधा यातायात सम्पर्क टुट्यो

बेलिब्रिज खोलेपछि उदयपुर र खोटाङबीचको सिधा यातायात सम्पर्क टुट्यो

उदयपुर,३० जेठ । गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोलेपछि सिधा यातायात टुटेको छ ।

बेलिब्रिज खोलेपछि उदयपुर र खोटाङबीचको सोझो यातायात सम्पर्क टुटेको हो । ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको बेलिब्रिज खोलिएपछि २ जिल्लाबीचको सोझो यातायात सेवा आउँदो ६ महिनाका लागि ठप्प भएको हो ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङतर्फ खोटेहाङ गाउँपालिका–१ को फोक्सिन्टारमा बेलिब्रिज हरेक वर्खायाममा खोल्ने तथा हिउँदमा पुन जडान गर्ने गरिएको छ । वर्षाको मौसममा कोशीमा आउने बाढीले बगाउने जोखिमबाट बचाउन बेलिब्रिज खोल्ने गरिएको हो । गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ ।

योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले वर्षायाममा कोशीमा अत्याधिक आउने बाढीबाट जोगाउन बेलिब्रिज खोलेर सबै सामग्री सुरक्षित गर्ने गरिएको बताए । हिउँद लागेपछि हरेक मंसिर मध्यतिर पुन जडान गरेर दुई जिल्ला बीचको सोझो यातायात आवागमन सुचारु गर्ने गरिएको छ भने हरेक जेठमा बेलिब्रिज खोलेपछि सोझो यातायात सम्पर्क टुट्ने गरेको ज्ञवालीले बताए । जेठ पहिलो साताभित्रै बेलिब्रिज खोलि सक्ने गरिन्छ ।

यो वर्ष बेलिब्रिज जडान र खोल्नका लागि सडकले ८७ लाख हाराहारी खर्च गरेको छ । फोक्सिन्टारमा पक्की मोटरेबल पुलको अभावमा विगत ४ वर्ष यता करोडौं खर्च बेलिब्रिज लगाउने र खोल्ने काममा खर्च भइरहेको छ । त्यस अघिसम्म फोक्सिन्टामा फेरि सञ्चालन गरेर मान्छे, उपभोग्य सामग्री तथा सवारी साधन कोशी वारपार गर्ने गरिएको थियो । ०७२ को बाढीले फेरि बगाएपछि बेलिब्रिजको प्रयोग गरिँदै आएको छ ।

सात वर्षदेखि फोक्सिन्टारमा निर्माणाधीन पक्की मोटरेबल पुलको काम भर्खर जग मात्र राखिएको छ । ०७५ चैत २० गते सम्पन्न गरिसक्ने गरी २०६९ चैत २० गते ठेक्का सम्झौता भएको पक्की पुल निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिलेसम्म २० प्रतिशत मात्र काम भइरहेकाले आउँदो २ हिउँद र बर्खा बेलिब्रिजकै भर पर्नु पर्ने सम्भावना रहेको स्थानीयबासी बताउँछन् । १९ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको गौरी पार्वती र बाइपी जेबीले अहिलेसम्म ६ करोड ६६ लाख भुक्तानी सेमत लिइ सकेको पुल योजना सेक्टर १ सुनसरीले जनाएको छ ।

रौतामाई गाउँपालिका–५ का वडा अध्यक्ष पाण्डव राईका अनुसार पुल बनाउने ठेकेदारको लापरबाहीले पुल बनाउन ढिला हुँदा दुवै जिल्लाबासी उपभोक्ता मारमा पर्दै आएका छन् । बेलिब्रिज हटाइएसँगै यातायात सम्पर्क अवरुद्ध हुने हुँदा कोशी वारपार गर्न डुंगा र बाँसका चेफा मार्फत जोखिमयुक्त कोशी तर्न स्थानीयबासी बाध्य हुँदै आएका छन् । तर पुल बन्न ढिला भएकाले बेलिब्रिज भत्काएसँगै ६-७ महिनासम्म डुंगा र बाँस, केराको चेफा बनाएर जोखिमपूर्ण रुपमा वारिपारि गर्नु पर्ने बाध्यता छ ।

गाईघाट–दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग ०५३ सालदेखि जारी रहे पनि अझै पूर्ण हुन सकेको छैन । फोक्सिन्टार देखि उदयपुरतर्फ ५३ किलोमिटर र दिक्तेलसम्म ७६ किलोमिटर गरी १ सय २९ किलोमिटर लामो लोकमार्ग दोहोरो लेनको पक्की र कालोपत्रे गर्ने क्रम चलि रहे पनि अहिलेसम्म १९ किलोमिटर (गाईघाट–साउने) सम्म कालोपत्रे सम्पन्न भएको छ । आउँदो ०७६ असार भित्र दिक्तेल सम्मै कालोपत्रे भइ सक्ने गरी काम अघि बढि रहेको डिई ज्ञवालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्