छथरका युवालाई रोजगार

छथरका युवालाई रोजगार

तेह्रथुम, ३१ जेठ ।रोजगारीका लागि लाखौ ऋण गरेर विश्वका विभिन्न मुलुकमा पुग्ने युवाको लहर बढ्दो छ । युवालाई परिवार पाल्नैका निम्ती भए पनि रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ ।

अझ हाम्रो समाजमा महिला र पुरुषमा पारिश्रमिकमा समेत विभेद कायमै छ । एउटै काम गरे पनि महिलालाई कम र पुरुषलाई बढी पारिश्रमिक दिने चलन हाम्रो समाजमा हटेको छैन । तर तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले नेपालमै नमुना कामको सुरुवात गर्ने तयारी गरेको छ । गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रोजगार गर्न योग्य युवालाई रोजगारी सिर्जना गर्ने तयारी भइरहेको छ । कृषि, सडक, वातावरण, वनलगायतको क्षेत्रमा युवाले रोजगारी पाउने भएका छन् । प्रधानमन्त्री स्वरोजगारका लागि पारिश्रमिक नेपाल सरकारले अख्तियारी दिएसँगै स्थानीय सरकारले आफ्नै भूगोललाई प्रयोग गरी सिर्जनात्क रूपमा कार्यक्रम अगाडि बढाउने तयारी भइरहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।

गाउँपालिकाले पूर्वाधार विकास, सामाजिक परिचालनका कार्यक्रम तथा राष्ट्रिय अभियानका कार्यक्रम लगायतमा श्रमिकलाई प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । रोजगारमा कुनै पनि रूपमा नजोडिएका युवालाई प्राथमिकताका साथ छनोट गरिने भएको छ । छनोट प्रक्रिया कार्यविधिमा तोकिएअनुसार गरिब, विपन्न, सीमान्तकृत समुदायलाई प्राथमिकता साथ कामअघि बढेको गाउँपालिका अध्यक्ष लिम्बुले बताए ।
गाउँपालिकामा सबै युवालाई रोजगार सिर्जना गर्ने उद्देश्यका साथ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम थालनी भएको छ । दिनानुदिन लाखौं युवा रोजगारकै निम्ती विदेशिनु पर्ने बाध्यतालाई अन्त्य गर्दै आफ्नै गाउँमा सञ्चालन हुने योजना तथा आयोजनामा रोजगारीको वातावरण सिर्जना गर्नका लागि कार्यक्रम अगाडि बढेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।
गाउँपालिकाले सुरु गरेको कार्यक्रलाई उद्देश्यअनुसार कार्यान्वयनमा ल्याउन सके यहाँका बेरोजगार युवाका लागि थोरै भए पनि राहत मिल्ने युवाहरूको भनाइ छ । गाउँपालिकाले रोजगारका लागि आह्वान गरेपछि वडावडाका युवा फारम भर्न ताँती लाग्न थालेको गाउँपालिकाले जनाएको छ । यस आर्थिक वर्षमा १ सयजना युवालाई पहिलो चरणमा रोजगार दिन गाउँपालिकाले तयारी गरेको छ । रोजगारका लागि छनोट भएका कामदारले कामको आधारमा पारिश्रमिक पाउने भएका छन् । दक्ष कामदार र अर्धदक्ष कामदारको रूपमा विभाजन गरी गाउँपालिका क्षेत्रमा रोजगारी दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्