इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी

इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी

प्रकाश नेपाल

इलाम, जेठ ३१ । सदरमुकाम इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी भएका छन् ।

इलामबाट तराइसम्म पुग्नको लागि आधा दुरी छोटिएर व्यापार, पर्यटन विकासमा समेत सहज हुने भएपछि उनीहरु खुसी भएका हुन् ।

इलामदेखि तराइ पुग्न पहिले मेची राजमार्गको ८३ किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अब नयाँ सडक खुलेपछि ४७ किलोमिटरको यात्रामै पुग्न सकिने भएको छ ।

सदरमुकाम इलाम बजारबाट झापाको विर्तामोड जोड्ने द्र्रूतमार्गको डीपीआर निर्माणपछि कामले गति लिएको छ । इलाम नगरपालिका–९ को भञ्ज्याङ, भाङटार, राकसे सडक खण्डमा चालु आर्थिक वर्षमा तीन करोड ८४ लाख बराबरको काम भइरहेको डिभिजन सडक कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिकाले वडा नं ९ को सडक खण्डमा सडकको नाली निर्माण र ग्राभल भर्ने काम भइरहेको जनाएको छ । त्यस्तै नयाँ ठेक्कामार्फत थप दुई करोडमा सडकलाई थप चौडा बनाउने र थप ग्यावियन पर्खाल र अन्य संरचनाको कार्य अगाडि बढेको इञ्जिनियर ध्रुवकुमार झा बताउँछन् ।

सडकको निर्माणमा प्रति किलोमिटर तीन करोड दुई लाख १३ हजार खर्च लाग्ने अनुमान छ । फास्ट ट्र्याकको बीचमा पर्ने ठाडे खोला र पुवा खोलामा पक्की पुल नहुँदा वर्षायाममा यातायात संचालन हुन सकेको छैन । ट्रयाक खुलेपछि भाडा सस्तो हुनुका साथै सामाग्री ढुवानी र पर्यटन क्षेत्रमा थप सम्भावना खुल्ने स्थानीयको भनाइ छ ।

मेची राजमार्गबाट झापा जोड्न करिव तीन घण्टाको सडक यात्रा तय गर्नुपर्ने बाध्यता रहेकोमा अब एक घण्टामै झापासम्म पुग्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्