इनरुवामा पनि डेंगुका बिरामी भेटिए , डेंगु विरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा

इनरुवामा पनि डेंगुका बिरामी भेटिए ,  डेंगु विरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा

इनरुवा, असार  ४ गते । सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो ।
धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
इनरुवाको १, ३, ६, ९ र १० वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनुभयो । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा सङ्क्रमितको आशङ्का गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन । स्थानीयवासीले ज्वरोपश्चात उपचारका लागि बिरामीलाई धरान र विराटनगर पु¥याइएकाले सङ्क्रमण भएका रोगीको सङ्ख्या अधिक हुनसक्ने आङ्कलन गरे पनि जिल्ला अस्पताल इनरुवाले भने आधिकारिकरूपमा इनरुवामा एक जनामा मात्र डेंगु सङ्क्रमण पाइएको जनाएको छ ।
नगरपालिकाले सचेतनासम्बन्धी विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालनको तयारी शुरु गर्दै वडा नं ३ र ९ मा स्वयंसेविका, आमा समूह, सङ्घसंस्थाका पदाधिकारीलगायतको उपस्थितिमा सावधानी र सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीबाट खटिएका स्वास्थ्यकर्मीसहित सम्बन्धित क्षेत्रका जानकारले सचेतनासम्बन्धी प्रशिक्षण दिइरहेका अस्पतालले जनाएको छ ।   रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्