बिर्तामोडमा स्थानीय व्यवसायीले गरे सडकमा रोपाइँ

बिर्तामोडमा  स्थानीय व्यवसायीले गरे सडकमा रोपाइँ

विर्तामोड, १५ असार । असार १५ गते धान दिवसका दिन झापाको बिर्तामोड–भद्रपुर १४ किमि सडकखण्डमा भने केही भिन्न दृष्य देखियो । उक्त सडक खण्डको बिर्तामोडदेखि १ किमि दक्षिणदेखि भद्रपुरसम्मै सडक जीर्ण भए पनि सरोकारवालाले मर्मत नगरेपछि आइतबार बिहान स्थानीय व्यवसायीले सोही सडकखण्डमा रोपाइँ गरे ।

“बर्खामा पानी र हिलो जमेर सडकमा सजिलै हिँड्न सकिँदैन । बर्खामा साइकल, मोटरसाइकल चलाउन झनै समस्या छ । स्थानीयबासी जीर्ण सडकबाट आजित छन्,” स्थानीय व्यवसायी सुनिल घिमिरेले भने । करिब डेढ वर्षअघि नै बिर्तामोड–भद्रपुर सडकखण्डको ठेक्का लागे पनि निर्माण कम्पनीले चित्तबुझ्दो काम नगरेको स्थानीयबासीको गुनासो छ ।

दुई महिनाअघि भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सचिव मधुसुदन अधिकारीसहितको संसदीय विकास तथा प्रविधि समिति बैठकमा बिर्तामोड क्षेत्रका सांसद राजेन्द्र लिङ्देनले भद्रपुर–बिर्तामोड सडकखण्ड तत्कालै मर्मत गर्नका लागि मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

स्थानीयबासीले स्थानीय सरकारसमक्ष सडक निर्माणकार्यमा ढिलासुस्ती नगर्न बारम्बर भने पनि सडक निर्माणको गति अघि बढ्न सकेको छैन । “बिर्तामोड र भद्रपुर नगरपालिकाका जनप्रतिनिधिलाई यहाँको सडकको अवस्थाबारे जानकारी नभएको होइन । सडक निर्माणकार्यलाई तीव्र पार्न हामीले बारम्बार भने पनि सुनुवाई नभएपछि विरोधस्वरुप आज सडकमै रोपाइँ गर्न बाध्य भएका हौं,” रोपाइँमा सहभागी एक स्थानीयले भने ।

बिर्तामोडको मुक्तिचोकदेखि सदरमुकाम भद्रपुर जोड्ने चार लेनको सडक खण्डको निर्माण कार्य करिब डेढ वर्षअघि सुरु भए पनि निर्माण कम्पनी र सम्बन्धित निकायले निर्माण कार्यमा चासो नदेखाएपछि जीर्ण सडकको मारमा स्थानीय परेका हुन् ।

राजधानी काठमाडौंबाट पूर्वीपहाडी जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्य जानका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुले चन्द्रगढीस्थित विमानस्थलबाट यही सडक प्रयोग गर्छन् । समयमै सडक निर्माणकार्य नहुँदा विभिन्न प्रशासनिक कामका लागि सदरमुकाम जाने सर्वसाधारण र आन्तरिक तथा बाह्य पर्यटकहरुसमेत जीर्ण सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

“झापालगायत पूर्वी पहाडी जिल्लाबाट चुनाव जितेर काठमाडौं गएका नेता, कार्यकर्ता चन्द्रगढी विमानस्थल भएर यही सडक प्रयोग गर्ने गर्छन् । जिल्लाको पुरानो सडक भएर पनि यो सडक मर्मत, सम्भार हुन सकेको छैन,” घिमिरेले दुखेसो पोखे । सडकको निर्माणकार्य समयमै नहुँदा मेची अञ्चल अस्पताल, भद्रपुर जाने सुत्केरी र वृद्धवृदा जीर्ण सडकका कारण बिरामी थप समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्