१९ मंसिर २०७६, बिहीबार

हराउँदै लमी परम्परा : अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ

यलु जोशी

काठमाडौँ, असार २९ गते । असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उहाँलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर बिताउँदै हुनुहुन्छ ।

उपत्यकाका रैथाने नेवार समुदायमा पनि पहिले–पहिले ‘लमी’कै भरमा बिहे गराउने चलन थियो । केटा वा केटीको बिहेमा ‘लमी’ले अभिभावकभन्दा ठूलो भूमिका निर्वाह गरेका हुन्थे तर अहिले शिक्षा र प्रविधिको विकाससँगै लमीको काम सबै केटाकेटी अफैँले गर्ने गरेको छ । फेसबुकबाट चिनजान हुन्छ । कलेजमा एक अर्कासँग प्रेम पर्छ । त्यसैलै अहिले केटा वा केटी खोज्न लमी नचाहिने स्थिति हुँदै गएको छ । विगत ४० वर्षदेखि लमीको काम गर्दै आउनुभएका असन निवासी तुलाधर भन्नुहुन्छ, “लमीको काम पुण्यको काम भनिन्छ तर यही कामबाट मैले मेरो घर चलाएकी थिएँ । अहिले भने विवाहका लागि हामी चाहिँदैन, जसको पनि प्रेमी, प्रेमिका छ भन्छन् । कुरो लिएर जान पनि लाज हुन्छ । ”

“लमीहरूले दुवै पक्ष मिलाएर विवाह सम्पन्न गराइदिने काम गर्नुपथ्र्याे”, उहाँले थप्नुभयो । त्यति बेलाका ‘लमी’को भूमिका केटा वा केटी जुटाइदिने मात्रै हुँदैन्थ्यो । आफूले खोजिदिएको बेहुलीको बाटैमा निधन भयो भने पनि उसको काजकिरिया लमीले नै गर्नुपथ्र्याे ।
त्यतिबेला नेवार समुदायमा प्रायः केटाको विवाह गराउन लमीकै बाटो अपनाउने चलन भएको बताउँदै तुलाधरले लमीले केटीको घरमा गएर विवाहको छिनोफानो टुङ्ग्याउने, त्यसपछि बेहुलाका बुबा र लमी गएर बेहुली ल्याउँथ्यो । घरमा ल्याइसकेपछि मात्रै बेहुलाले बेहुलीलाई प्रत्यक्ष रूपमा हेर्न र कुराकानी गर्न पाउने चलन रहेको जानकारी दिनुभयो ।
संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार विवाहका बेला लमीलाई नै केटी खोज्न र रोज्न पठाइन्थ्यो । लमीले केटालाई केटीका गुण र चरित्रबारे जानकारी गराउँछ । सोहीअनुसार केटाका आफन्तलाई बुझाउँछ । यतिकैमा केटी पक्षका मञ्जुर भए भने लमीले दुवै पक्षतिर विवाह गर्ने टुङ्गो लगाएर केटीको घरमा जान्छ ।
उहाँले यसरी जमानत बसेर विवाह गराउँदा त्यतिबेलाको समाजमा कुनै पनि किसिमका नराम्रो घट्ना नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकामा धेरै माथिल्लो तहका मानिने नेवार समुदायले पनि यसरी नै विवाह गरेको पाइन्छ । अहिले त लगभग सबै समुदायको विवाह परम्परा एउटै भएको छ । ”

जोशीले माइतबाट विवाह गरेर बेहुलाको घर ल्याउँदै गर्दा कुनै कारणले बेहुलीको मृत्यु भयो भने त्यतिबेलाको भागिदारसमेत लमी नै हुनुपर्ने परम्परा रहेको सुनाउँदै अहिले भने लोप भएको जानकारी दिनुभयो ।
लमीको माध्यमबाटै २५ वर्ष पहिले विवाह भएको राजेन्द्र श्रेष्ठ र अनिशा श्रेष्ठ धेरै खुसी हुनुहुन्छ । अनिशा भन्नुहुन्छ, “लमीले नै मेरो घरमा केटाको कुरा ल्याउनुभएको थियो, मैले त विवाहको दिनमा मात्र केटाको अनुहार हेरेको त्यो पनि राम्ररी देखिनँ, कहाँ अहिलेको जस्तो स्वतन्त्रता हुन्थ्यो र सबै कुरा लमीको हातमा नै हुन्थ्यो । लमीले जे भन्यो त्यही सही हुन्थ्यो । ”
श्रेष्ठले हाम्रो दाम्पत्य जीवन खुसी भएको जानकारी दिँदै अब त पहिलेको जस्तो लमीले भनेको केटा वा केटीसँग विवाह गर्ने चलन नै हराइसक्यो । छोराछोरीले मलाई यो मन पर्छ भन्छन्, त्यहीसँग विवाह गराइदिने हो ।
भाषा तथा इतिहासविद् गणेशराम लाछीका अनुसार रैथाने नेवार जातिका विभिन्न विवाह परम्परा छन्, जसमध्ये यस्तो खाले विवाह परम्परा पनि एक हो, यो चलन करिब ६० वर्ष पहिलेसम्म थियो ।

समाज परिवर्तन र आधुनिकतासँगै बिहे परम्परामा पनि व्यापक परिवर्तन भयो । उहाँले लमीबाटै केटाको बिहेको हल्ला चलाइने र उसैले नै केटी पक्षकालाई विवाहका लागि राजी गराउने चलन रहेको सुनाउनुभयो ।
आफ्नो विवाह पनि लमीको माध्यमबाटै भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “त्यतिबेला योे परम्परा निकै चर्चित पनि मानिन्थ्यो, बेहुला नै सहभागी नभएरै गरिने विवाह उच्च कोटीका नेवार जातिले बढी मान्ने गर्थे । ” लाछीले ‘वज्रचार्य, ज्यापू, श्रेष्ठ, राजोपाध्याय, जोशीलगायत थरमा लमी विवाहलाई नै प्राथमिकतामा राख्ने चलन रहेको जानकारी दिँदै अहिले यो चलन हराएको गुनासो व्यक्त गर्नुभयो । उतिबेला नेवार समुदायमा १४ वटा विवाह प्रक्रिया थिए, उहाँले थप्नुभयो, “तीमध्ये धेरै प्रक्रिया अहिले लोप भइसकेको छन् । ”

 लमीले झुक्याउँदा…
त्यसो त लमीको कारणबाटै दुःख भोग्नु परेको उदाहरण पनि छन् । चोभारस्थित सरिता कर्माचार्य (नाम परिवर्तन) विवाह लमीकै कारण झुक्याएर विवाह भयो ।
त्यतिबेलाको घटनाको स्मरण गर्दै कर्माचार्य भन्नुहुन्छ, “घरमा लमीले कुरा लिएर आउनुभयो, केटा इन्जिनियर हो, देवर कम्प्युटर इन्जिनियरिङ अध्ययनरत, सासू विद्यालयको प्रधानाध्यापक, ससुरा भने सरकारी जागिरबाट अवकास हुनुहुन्छ भनियो । ”
उहाँले थप्नुभयो, “यस्तो राम्रो घरबाट कुरा आएपछि नदिने कुरा नै भएन, मेरो घरबाट कुरा चलाउन भनियो र विवाह पनि भयो । पछि थाहा पायो भनेको जस्तो केही पनि रहेन छ । श्रीमान् इन्जिनियर भनेको त साधारण विद्यालयमा पढाउने, देवर कलेजको बस चालक र सासू विद्यालयको कार्यालय सहयोगी, ससुरा रक्सी खाएर सधैँ झगडा गर्ने । ”
यसरी झुक्याएर विवाह गरेपछि पाँच वर्षसम्म सँगै बसेपछि धेरै नै गाह्रो भएपछि छोरालाई लिएर छुट्टिएर बसेको छु । पन्ध्र वर्ष भयो छुट्टिएर बसेको अहिले धेरै खुसी छु । टेलरिङ सञ्चालन गरेर घर चलाएको छु, कर्माचार्यले भन्नुभयो ।
भक्तपुर लोकन्थलीकी रत्नदेवी हेक्का निराश हुनुहुन्छ । उहाँले वर्षौंदेखि गरी आउनुभएको काम अहिले ठप्प छ । उहाँले बिहेको मौसममा लमीको काम गर्नुहुन्थ्यो । गएका ३० वर्षयता फुर्सदका बेला लमीको काम गर्दै आएको पनि सुनाउनुभयो ।
कुनै बेला एक लगनमा पाँच जोडीको विवाह गराउनुभएको थियो उहाँले तर अहिले भने मुस्किलले दुई–तीन वर्षमा एक जोडीको विवाह गराउनुहुन्छ ।

कुनै समय भक्तपुरमा पनि लमी अर्थात् बिहेको कुरा मिलाइदिने व्यक्ति अनिवार्य चाहिन्थ्यो । अचेल लमीको चलन हराउँदै जान थालेको छ । कतिसम्म भने अचेल लमीको काम विभिन्न सामाजिक सञ्जालले नै गर्न थालेकाले लमी नै नचाहिने हेक्काको दाबी छ ।
हेक्का भन्नुहुन्छ, “अहिले केटाकेटी दुवै कलेज पढ्दा पढ्दै मन पराइसकेका हुन्छन् । अहिले केटालाई केटी खोज्नु पर्दैन । केटीलाई केटा खोज्नु पर्दैन । केटाकेटी दुवैले मन पराइराखेका हुन्छन् । अनि हाम्रो के काम ?’
तुलाधर भन्नुहुन्छ, “पहिला घरैपिच्छे लमी थिए किनभने नेवारी समुदायमा जीवनमा एक पल्ट लमी बन्नुपर्छ, यसो गर्दा धर्म कमाइन्छ भन्ने मान्यता थियो । लमी बनेर एक जोडीलाई विवाह गरायो भने त्योभन्दा ठूलो धर्म अरू हुँदैन भन्ने मान्यता थियो । अहिले चाहिँ लमीको काम घटेको छ । ”

एक जोडी : दुई लमी
विवाहका लागि पहिला दुई जना लमी चाहिन्थ्यो । एक जना केटाका तर्फबाट र अर्को केटीका तर्फबाट । पहिला विवाहका लागि सबै कुरा लमीबाट सुरु हुँदै लमीमै सकिन्थ्यो । केटातर्फका लमीले केटाको परिवारबारे सबै जानकारी केटीको परिवारलाई केटी पक्षको लमीमार्पmत दिन्थ्यो ।
त्यतिबेला विवाहका लागि लमीमाथि भर पर्ने गरिन्थ्यो । लमीले नै दुवै परिवारमा आएका जुनसुकै समस्या समाधान गर्ने वा मिलाइदिने काम गर्दथ्यो । संस्कृतविद् जोशी भन्नुहुन्छ, “केटा र केटीको परिवारले लमीको कुरा सुनेरै मात्र विवाह गरेको हुन्छ । न त केटाको परिवारले केटीको परिवारलाई चिनेको हुन्छ न त केटीको परिवारले नै । पहिलेका विवाह लमीको विश्वासमा हुने गथ्र्यो ।

लमीलाई लाखा दिने चलन
नेवार समुदायमा लमी बनेको बापत लाखा (उपहार) दिने चलन छ । लाखा अर्थात् एक किसिमको उपहार । यो उपहार केटाको अर्थात् बेहुलाको परिवारले दिने गर्छ । उनीहरूलाई बुहारी मिलाइदिएबापत खुसी भएर दिने गरिन्छ । पहिला–पहिला उपहारस्वरूप एक जोडी लुगा दिने चलन थियो तर पछि भने लुगाको सट्टा पैसा पनि दिन थालिएको छ । यो पैसा लमीले मागेर होइन, बेहुला र बेहुलीको परिवारको इच्छाअनुरूप दिने गर्छ । कोही–कोही लमीको रेट नै हुन्छ २० देखि २५ हजारसम्म नगद, लुगा दिइने प्रचलन छ ।

विवाहपछि पनि लमीलाई सम्मान
जोडी मिलाइदिने लमीलाई पछिसम्म पनि सम्मान गर्नुपर्छ । घर आउँदा मीठो खानेकुरा खुवाउनुपर्ने र मानसम्मान दिनुपर्ने गरिन्छ । आफ्ना छोराछोरीको घर नबिग्रोस् भनेर त्यस्तो सम्मान गर्नुपर्ने मान्यता रहिआएको छ ।

जोडी मिलाइदिने अनलाइन साइट
विवाह गर्ने उमेर पुगेका र इच्छा भएकालाई उपयुक्त उम्मेदवार खोजिदिने व्यावसायिक संस्था नेपालमै सञ्चालनमा छन् । केही वर्ष पहिलेदेखि इन्टरनेटमार्फत जोडी भेट्टाइदिने संस्था खुलेका थियो । ‘म्याट्रिमोनियल’ (विवाहका लागि लमीको काम गर्ने) संस्थाका रूपमा सञ्चालनमा आएको ग्लोबल हर्ट लिङ्कले व्यक्तित्व मूल्याङ्कनका आधारमा जोडी खोजिदिने कार्य गरेको छ ।
भारतमा भने सादी, जीवनसाथी, भारत म्याट्रिमोनियलजस्ता संस्थाले जोडी मिलाइदिने काम गर्दै आएका छन् । उनीहरूले हजारौँको जोडी मिलाइसकेको दाबी वेबसाइटमार्फत गरेका छन् ।

विदेशमा पनि लमी
ब्रिटेनकी लारा एस्प्रेलाई हाइप्रोफाइल ‘लमी’का रूपमा मानिन्छ । उहाँले करोडपतिहरूका मात्र सम्बन्ध जोड्ने काम गर्नुहुन्छ । उहाँका अधिकांश ग्राहक ५० वर्षभन्दा माथिका महिला तथा पुरुष छन् । तेत्तीस वर्षीया लाराका अनुसार करोडपतिहरूको छनोटमा विविधता हुने भएकाले लमी बन्ने काम निकै गाह्रो छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस