तमोर कोरिडोरको ताप्लेजुङ र पाँचथर जोड्ने लिम्बुनी पुल निर्माण सुस्त

तमोर कोरिडोरको ताप्लेजुङ र पाँचथर जोड्ने लिम्बुनी पुल निर्माण सुस्त

ताप्लेजुङ, १ साउन । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने लिम्बुनी पुल निर्माण शुरू भएको डेढ वर्ष पुग्नै लाग्दा ५ प्रतिशत मात्र काम भएको छ । काम शुरू भएको १६ महीना पुग्दा एकातर्फको वेस राख्ने खाल्डो खन्ने काम अझै पूरा भएको छैन ।

२०७४ साल फागुन ६ गते पुल निर्माण शुरू भएको थियो । सपना याक्थुङहाङ जेभी निर्माण कम्पनीले जिम्मा लिएको पुल निर्माणको काम २०७७ भदौमा सक्ने लक्ष्य छ । सम्झौता मिति सकिन १३ महीना बाँकी हुँदा अहिले निर्माणको काम ठप्प छ । पुलको ठेक्का लगाएकोे उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाका प्रमुख रामबहादुर गुरुङले पुल निर्माण सुस्त भएको बताए ।

ताप्लेजुङको आठराई त्रिवेणी र पाँचथरको हिलिहाङ गाउँपालिकाको बीचमा पर्ने तमोर नदीमाथि पुल निर्माण हुन लागेको हो । पुल निर्माणको लागत भ्याटसहित २२ करोड रुपैयाँ छ । ‘पुल निर्माणले गति नलिएपछि पटक–पटक हामी स्थानीयले समेत ताकेता गर्‍यौं, तैपनि काम भने हुन सकेको छैन । यसमा सरोकारवालाले ध्यान दिन जरुरी छ,’ निर्माण व्यवसायी समेत रहेका स्थानीय दिपेन पोमुले भने ।

निर्माण कम्पनीले बाढीलगायतका कारण निर्माणमा ढिलाइ भइरहेको जानकारी दिएको छ । ‘निर्माण क्षेत्रसम्म सडक पुर्‍याउनमा समय बित्यो । एकातर्फको फाउन्डेशनको काम सक्नै लाग्दा बाढी आएर पुरियो, तैपनि सक्दो प्रयास गरिरहेका छौं,’ निर्माण कम्पनीका प्रबन्धक तेज कुरुङवाङले भने । लोकमार्ग आयोजना प्रमुख गुरुङले ठेकेदारले निर्धारित समयमा नै पुल सम्पन्न नगरे कानूनी प्रक्रिया अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्