युवतीको बोली, भेटघाट र जिउडालबाट फसे विर्तामोडका एक व्यवसायी

युवतीको बोली, भेटघाट र जिउडालबाट फसे विर्तामोडका एक व्यवसायी

झापा, ७ साउन । मीठो बोल्दै यौन सम्पर्कसम्म गर्न दिने भनेर एक व्यवसायीलाई फँसाएर उनीबाट लाखौं रुपैयाँ असुल गर्न खोज्ने एक युवतीसहित उक्त योजना बनाउने अन्य तीन जनालाई पक्राउ गरेर प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। युवतीको माध्यमबाट बिर्तामोड झापाका एक व्यवसायीलाई बन्धक बनाउँदै ४० लाख रुपैयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।

असार अन्तिम साता बिर्तामोडमा नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट फोन आयो। ती युवतीले मीठो बोलेपछि उनी युवतीबाट प्रभावित भए। उनीहरुको इमो, भाइबरमा माया–प्रेम हुँदै याैन सम्बन्धसम्मका कुरा भए।

साउन १ गते युवतीले बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई फोन गरेर बोलाइन्। सुन्दर र जवान युवती देखेर ती व्यवसायी मख्ख परे। व्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे। असुरक्षा हुने भन्दै युवतीले व्यवसायीको होटल जाने भन्ने कुरा मानिनन्।

उनले भद्रपुर रोडमै साथीको कोठा भएको हुनाले त्यसतर्फ जाने प्रस्ताव राखिन्। व्यवसायीले पनि त्यो प्रस्ताव उपयुक्त ठाने र कोठा जान राजी भए।

कोही नभएको कोठामा बेलुका करिब ८ बजे पुगेर उनीहरु ढोकामा चुक्कुल लगाएर बसे। कसैले बाहिरबाट ढोका ढकढक्यायो। ढोका खोल्दा हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले। छुरा र प्लाष्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो।

नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेकामध्ये मिराज खान भन्ने युवाले बाहिर लगेर छोड्छन्। त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले उनको नाङ्गो फोटो र भिडियो तयार गरेका हुन्छन्।

त्यसपछि व्यवसायीसँग ५० लाख रुपैयाँ वार्गेनिङ हुन्छ। अन्तिममा साउन ५ गते ४० लाख रुपैयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरिन्छ। यति गर्दा रातको १० बजेको हुन्छ। रकम जम्मा भए-नभएकाे बारेमा लगातार उनीहरुले ताकेता गर्छन्।

पैसा नदिए ज्यान मार्ने धम्की समेत उनीहरुले दिन्छन्। त्यसपछि व्यवसायीले इलाका प्रहरी कार्यालयमा गएर घटनाको बारेमा बिस्तृत कुरा बताउँछन्।

प्रहरीले पीडितलाई जाहेरी दरखास्त दिन लगायो र भित्रभित्रै अपहरणकारीको खोजी शुरु गर्‍यो। पीडितसँग फोन आएका मोबाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दाजिलिङ थाना खोरीबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई पक्राउ गर्न सफल भयो।

त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रितु फियाक लिम्बुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको बताएको छ।

प्रहरीले उनीहरुबाट बा. १५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल ३ थान, प्लाष्टिकको नक्कली पेस्तोल, प्रोप्रानोलोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भइ ६ चक्की रहेको औषधी बरामद गरेको छ।

सुजन शंकरकी प्रेमिका भनिएकी रितु फियाकलाई भारतको दिल्लीबाट यही घटनाका लागि झिकाएको प्रहरीको भनाइ छ।

पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

प्रतिवादी मध्येका सञ्जु क्षेत्री भनिने सुजन शंकरलाई २ वर्ष अगाडी मानव वेचविखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुले संगठित अपराध गर्नका लागि विर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंक पश्चिम पट्टिको गल्ली भित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरुविरुद्ध शरीर बन्धक मुद्दामा सातदेखि १० बर्षसम्मको कैद सजाय र ७० देखि एक लाख रुपैयाँसम्म जरिवाना र जबरजस्ती पैसा असुल्ने मुद्दामा सात बर्षसम्मको कैद सजाय र ७० हजार रुपैयाँ जरिवानाको माग गर्दै जिल्ला अदालत झापामा मुद्दा दायर गर्ने गृहकार्य भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी थापाले बताए। साभार: उमाकान्त खनाल, देश सञ्चार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्