– भूमिका पाख्रिन
लेटाङ । ग्रामीण महिला विकास केन्द्र र पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ (हर्डन) द्वारा निःशुल्क कम्प्युटर तालिम तथा अंग्रेजी भाषा कक्षा सञ्चालन हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले सो कुराको जानकारी गराएको हो । लेटाङ तथा केराबारीमा ५०/५० जनालाई निःशुल्क र थप २५० जनालाई ६०% देखि ९०% सम्म छात्रवृत्ति सहित कम्प्युटर तालिम र अंग्रेजी भाषाका कक्षाहरु सञ्चालन गरिने आयोजकले जनाएको हो ।
लेटाङ मल्टी टेक्निकल कलेज, लेटाङ र न्यू एभरेस्ट कलेज, केराबारीको प्राविधिक सहयोगमा सो कार्यक्रम हुने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै संस्थाकी सचिव शान्ति पाख्रिन लामाले यस्ता कक्षाहरुले विद्यार्थीहरुको प्राविधिक सीप विकास भई स्वरोजगारमा सहयोग पुर्याउने तथा यो कार्यक्रमले विद्यार्थी वर्गलाईमात्र सिमित नगरी महिला, आदिवासी/जनजाति, दलित, मधेसी तथा विपन्न वर्गलाई समेत समेटिने जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै शान्ति भगवती मावि, लेटाङका प्रधानाध्यापक श्रीप्रसाद ढकालले यस्ता कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने धारणा व्यक्त गरे । साउन ३१ गते लेटाङ र साउन ३२ गते केराबारीमा अन्तर्वार्ता गरि विद्यार्थी छनोट गरिने प्राबिधिक सहयोगी मध्येको एक न्यू एभरेस्ट कलेजका प्रोप्राइटर आषिस ढकालले जानकारी दिए ।
कार्यक्रममा लेटाङ मल्टी टेक्निकल कलेजका प्रोप्राइटर तारावीर राईले यस्ता सामाजिक कार्यमा आफूले सहयोग गर्न पाउँदा उत्साहित भएको बताए ।