-केदार कटुवाल
उदयपुर साउन १३। सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
गत जेठ २० गतेदेखि सिमेन्ट उत्पादन नहुँदा उद्योगलाई ५० करोडभन्दा बढी नोक्सानी भइसकेको छ ।
विद्युत् भोल्टेजको गडबढीले हाइटेन्सन जिबीएफ फ्यान मोटरमा क्षति पुग्दा ५५ दिनदेखि सिमेन्ट उत्पादन बन्द भएको हो ।
जापानी फुजी कम्पनीको मोटर खरिद गर्दा १ करोड ५० लाखसम्म लाग्ने भए पनि इन्डियन कम्पनीको खरिद गरेर ६५ देखि ७० लाख लाग्न सक्ने प्राविधिकहरु बताउँछन् ।
बिग्रिएको मोटर नेपाल ईन्जिनियरिङ एन्ड हाइड्रो वर्कसप बुटवल पठाइएको दुई महिना बित्न लाग्दा पनि उद्योग व्यवस्थापनको ढिलासुस्तीले मर्मत हुन सकेको छैन ।
चालू आर्थिक वर्षमा २६ लाख बोरा सिमेन्ट उत्पादनको लक्ष्य राखिएकोमा २२ लाख ६२ हजार १ सय ४२ बोरा उत्पादन भइसकेको उद्योगका निमित्त महाप्रबन्धक नोबलकिशोर साहले बताए ।
दैनिक ८ देखि १० हजार बोरा सिमेन्ट बिक्री भइरहेकोमा अब मौजाद रहेको सिमेन्टले एक हप्ता मात्र धान्ने उद्योग प्रशासनले जनाएको छ ।
दैनिक ८ सय टन उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग २०४४ सालमा जापान सरकारबाट संचालन हुँदा लक्ष्यअनुसार उत्पादन भए पनि पछिल्ला वर्षमा राजनीतिक किचलो, विद्युत् आपूर्तिको कमीले लक्ष्यमा पुग्न सकेको थिएन ।
दुई वर्ष अघि मेसिन मर्मत हुँदा गत वर्ष २४ लाख ६ हजार ९ सय ८४ बोरा सिमेन्ट उत्पादन भएको थियो ।
जापानको ओभरसिस ईलेक्ट्रोनिक को-अपरेसन फ्रन्टको १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख लगानीमा स्थापित उद्योग २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।