ताप्लेजुङ विमानस्थल डेढ महिनादेखि ठप्प

ताप्लेजुङ विमानस्थल डेढ महिनादेखि ठप्प

ताप्लेजुङ, १४ साउन । सुकेटार विमानस्थलमा करिब डेढ महिनादेखि उडान हुन सकेको छैन। हरेक वर्ष वर्षामा उडान ठप्प हुँदै आएको सुकेटार विमानस्थलमा यसवर्ष असार ४ गतेदेखि नै ठप्प छ।  मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताएका छन्।

जेठ २९ गतेसम्म नियमित उडान भएकामा त्यसयता असार ४ गते मात्रै उडान भएको थियो। असार ४ गते काठमाडौंबाट यात्रु लिएर आएको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रु नलिई फर्किएको थियो।

त्यसयता जहाजले उडान भरेको छैन। 'मौसममा सुधार आएपछि मात्रै उडान हुनेछ,' उनले भने। सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार उडान भर्ने गरेको थियो।

मौसम खराबीका कारण उडान स्थगित गरिएको भनिए पनि निगमले स्थगित गरिएको सम्बन्धमा सूचना निकालेको छैन। लामो समयदेखि उडान नहुँदा यात्रु मारमा परेका छन्।

बर्सेनी मौसम खराबीका कारण उडान ठप्प हुँदै आए पनि यसको विकल्पका बारेमा कतैबाट चासो नभएको स्थानीयवासीको गुनासो छ। बिरामीलाई उपचारका लागि काठमाडौंलगायत ठाउँ लैजानु परे वा आकास्मिक काम आइपरे महङ्गो भाडा तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्