भद्रपुर ट्रककाण्ड : कर्मचारी र सशस्त्रमाथि छानबिन सुरु, चालक धरौटीमा रिहा

भद्रपुर ट्रककाण्ड : कर्मचारी र सशस्त्रमाथि छानबिन सुरु, चालक धरौटीमा रिहा

भद्रपुर, १७ साउन । भन्सारबिनै नेपाल भित्राइएको भुइकटर (अनारस) लोड गरिएको ट्रक स्थानीयले नियन्त्रणमा लिएको समाचार बाहिरिएपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीमाथि छानबिन सुरु भएको बताइएको छ।

भद्रपुर भन्सार कार्यालयअगाडि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सई अमर विक नेतृत्वको सशस्त्र प्रहरी टोली र भन्सारका सहायक कर्मचारीद्वय कृष्णप्रसाद निरौला र रामबहादुर थापा मंगलवबार बेलुका ८ बजे डयुटीमा खटिएका थिए। सोही समयमा भारतको गलगलिया नाकाबाट मेची पुल हुँदै नेपाल भित्रिएको ना ५ ख ७३०७ नम्बरको ट्रकमा लोड गरिएको भुइकटर भद्रपुर भन्सार अगाडिबाटै सोजै बसपार्कतर्फ जान लागेको अवस्थामा स्थानीय युवाले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरलाई बुझाएका थिए।

यस विषयमा समाचार प्रकाशन भएपछि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले डियुटीमा खटिएका सई अमर विकसहितको टोलीमाथि छानबिन सुरु गरेको बताइएको छ। ड्युटीमा खटिएका बेला भन्सारबिना ट्रक भित्रिएको विषयलाई लिएर उनीहरूमाथि छानबिन थालिएको हो। गणका डिएसपी तोर्णेबिक्रम साहले सई विकसहितको टोलीमाथि छानबिनसहितको अनुसन्धान सुरु गरेको हो। यता गणका एसपी रेसमकुमार थाक्सुका अनुसार डियुटीमा खटिएका टोलीमाथि अनुसन्धान भइरहेको बताए। ‘भन्सार नजिकै यस्तो घटना भएकाले यस विषयमा डिएसपीलाई घटनाको यथार्थ बुझ्न जिम्मेवारी दिइसकेका छौँ’, उनले भने।

त्यसैगरि भन्सारका कर्मचारीद्वय निरौला र थापामाथि पनि छानबिन हुने भन्सार कार्यालयका निमित्त प्रमुख शक्ति जोशी राईले जानकारी दिए।  ‘कार्यालय भद्रपुरका प्रमुख विभागको कामले काठमाडौं गएको हुँदा आउनेबित्तिकै घटनाको विषयमा छानबिन हुन्छ’, उनले भने, ‘कर्मचारीलाई कारबाही गर्न अधिकार कार्यालय प्रमुखको मात्र रहेकोले यस विषयमा उनलाई जानकारी गराउने छौँ।’

नियन्त्रणमा लिएको ट्रकमा रहेको भुइकटर जेआर फुट्स भद्रपुरले बिर्तामोडको प्रिन्स फुट सेन्टरलाई बिक्री गरेको बिलमा उल्लेख गरिएको जनाइएको छ। विषादी परीक्षणबिनै सो ट्रक भारतको पानीटंकी नाकाबाट नगएर गलगलिया नाकाबाट भद्रपुर भित्राइएको थियो। धरौटीमा छुटे चालक भुइकटर लोड गरिएको ट्रकसहित चालक अर्जुनधारा ५ बस्ने डिल्लीराम भट्टराईलाई वडा प्रहरी कार्यालय भद्रपुरले बुधबार दिउँसो आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाएका थिए।

ट्रकमा लोड गरिएको ४ हजार २ सय वटा भुइकटरलाई ४२ हजार र ट्रकलाई ४ लाख गरी जम्मा ४ लाख ४२ हजार मूल्याकंन तोकेर भन्सार बुझाएको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। सोहीबमोजिम भन्सार कार्यालयले चालक डिल्लीराम भट्टराईलाई ५० हजार धरौटी राखेर रिहा गरिदिएको भन्सारका नायव सुब्बा रेवती गिरीले जानकारी दिए। साथै भुइकटरलाई ४२ हजार ३ सय रुपैयाँमा लिलाम गरिदिएको बताउँदै उनले भने, ‘सामान बराबरको ४२ हजार ३ सय समेत चालकबाट धरौटी लियौँ।'  यसअघि पनि भन्सार अगाडि खटिएका कर्मचारीले भन्सार नतिराई सरसामान पठाउने गरेको थाहा पाएपछि प्रहरीले कर्मचारीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्