धनकुटा, २० साउन । मालपोत कार्यालय धनकुटाले आइतबारदेखि अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ। कागजी प्रक्रियाबाट काम गर्दा ढिलो र झण्झटिलो भएको भन्दै अनलाइनमार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको कार्यालयले जनाएको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि द्वाडीले धनकुटाका कर्णबहादुर तामाङको जग्गा किन्ने लक्ष्मी तामाङलाई डिजिटल मालपोत रजिष्ट्रेशन नम्बर प्रदान गरी अनलाइन सेवा आरम्भ गरेका हुन्। भूमिसुधार मन्त्रालयले एकपछि अर्को गर्दै मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लैजान सुरु गरेको छ।
काठमाडौंको कलंकी मालपोत कार्यालयबाट सुरु गरिएको अनलाइन प्रणाली हालसम्म १ सय ३१ मालपोत कार्यालयमध्ये ७८ मालपोत कार्यालयमा सुरु भएको छ। गुणस्तरीय सेवा प्रदान गर्न र एउटै जग्गा जालसाँझी गरि फरकफरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रकृयामार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको महानिर्देशक द्वाडीले बताए। सेवाग्राहीलाई सेवा प्रवाहमा छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ अनलाईन प्रणाली सञ्चालन गरिएको मालपोत कार्यालय धनकुटाका प्रमुख जितमान जिमीले बताए। अनलाइन प्रणाली सुरु भएपछि आफ्नो जग्गा कति छ भनेर सेवाग्राहीले मोबाइलमार्फत नै विवरण लिन सक्ने जिमीको भनाई छ।
अनलाइनका कारण कसैले जालझेल गरि अरुको जग्गा बिक्री वितरण गर्न लागेको अवस्थामा तुरुन्त जग्गावालले जानकारी पाउनेसमेत जीमीको भनाइ थियो। कामलाई छिटो छरितो र प्रभावकारी बनाउन सुरु गरिएको अनलाइन प्रणाली पूर्णरूपमा भने सुरु गरिएको छैन। अनलाइन प्रणालीमा जग्गा पास गरेपनि अफलाइन रेकर्ड पनि राख्ने गरिएको छ।