एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापाको झिलझिलेलाई

एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापाको झिलझिलेलाई

झापा । एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापा झिलझिलेको शिवसताक्षी–११ ले जितेको छ। झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको फाइनल खेलमा अर्जुनधारा झापाको पारिजात महिला एफसीलाई सडन डेथमा हराउँदै शिवसताक्षी ११ ले उपाधि रक्षा गरेको हो।

निर्धारित ७० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि उपाधि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो। टाइबे्रकरमा पनि समान ३–३ को बराबरीमा रोकिएपछि अन्तिम निर्णयका लागि सडन डेथ गराइएको थियो। पारिजातकी मोनिका राईले प्रहार गरेको बल गोल पोष्टबाट बाहिरिएपछि झापाको शिवसताक्षी ११ महिला एफसीले उपाधि हासिल गरेको हो।

खेलको दोस्रो हाफको ४०औँ मिनेटमा पारिजातका तर्फबाट सुस्मिता लेप्चाले डि एरिया बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत हुँदा शिवसताक्षी १–० गोलले पछि परेको थियो। तर, ४७ औँ मिनेटमा शिवसताक्षीका तर्फबाट कुमारी तामाङको लामो प्रहार गोलमा परिणत भएपछि खेलमा फर्किएको हो। खेलको ५५ औं मिनेटमा पारिजातकी कप्तान संरचना श्रेष्ठले गोल गरेर टिमलाई २–१ को अग्रता दिलाइन्।

खेलको उत्तरार्द्धको थप ३ मिनेटमा सरिता शेर्पाले शिवसताक्षीको तर्फबाट सम्झनलायक गोल गरेपछि खेल टाइब्रेकर हुँदै सडन डेथसम्म पुगेको थियो।

विजेता शिवसताक्षी ११ महिला एफसीले ५१ हजार नगदसहित मेडल ट्रफी र प्रमाणपत्र पाएको थियो भने उपविजेता पारिजातले नगद ३१ हजारमा चित्त बुझायो।

यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि विजयी टिमकी रोश्नी बोहोराले पाइन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता पारिजातकी सुस्मिता लेप्चा घोषित भइन्। उत्कृष्ट मिड फिल्डर विजयी टिमकी सरिता तामाङ, उत्कृष्ट डिफेन्डर कुमारी तामाङ, उत्कृष्ट गोलकिप्पर झरना राई घोषित भइन्। उत्कृष्ट प्रशिक्षक विजेता टिमका भाग्य सुब्बा घोषित भए। प्रतियोगितामा झापा, इलाम र मोरङ्गका गरी दस टिम सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्