वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गरेको आरोपमा लेटाङका कुलबहादुर पक्राउ

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गरेको आरोपमा लेटाङका कुलबहादुर पक्राउ

विराटनगर साउन २५ , वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा मोरङको लेटाङ नगरपालिका–५ घर भई काठमाडौंस्थित टोखामा बस्दै आएका ५० वर्षीय कुलबहादुर लिम्बू पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा आफन्त र छिमेकी गरी १४ जनालाई इजरायल पठाइदिने भन्दै १९ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा लिम्बू बिहीबार मोरङको पथरीबजारबाट पक्राउ परेका हुन् । पक्राउ परेका लिम्बू एजेण्ट रहेको खुलेको छ ।

लिम्बूले १४ जनासँग प्रतिव्यक्ति १ लाखदेखि २ लाख ८० हजार रुपैयाँसम्म ठगी गरेको श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । ठगीमा उनका भतिजा, भान्जादेखि छिमेकीसम्म परेका छन् ।
ठगिनेमा लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, सोही ठाउँका रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जितबहादुर राई, लेटाङ–६ का गङ्गाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बू रहेका छन् । नातामा हर्क बहादुर, खड्गबहादुर र प्रदीप भतिजा एवम् रुद्रबहादुर भान्जा हुन् । कुलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबैलाई पर्यटक भिषामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन् ।

पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर इजरायल पुगेपछि श्रम गर्न पाउने वर्कपरमिट भिषाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ । इजरायल पुगेपछि कुलबहादुरलाई प्रतिव्यक्ति ८ लाख रुपैयाँ बुझाउनु पर्ने भनेर गरिएको कागजमा पीडित युवा, युवती तथा कुलबहादुुरको हस्ताक्षर र औंठा छाप छ ।

पीडितमध्येका गङ्गाराम थापाले राम्रो कमाइ हुने र नियमपूर्वक रूपमै जान पाउने भन्दै प्रलोभनमा पारेर आफूसँग कुलबहादुरले १ लाख रुपैयाँ कागज गरेरै लिएको बताए । ‘अझै पनि इजरायल पठाइदिन्छु, कहीँ पनि उजुरी नगर्नू भनिरहेका छन्’ उनले भने, ‘हामीले पैसा माग्दा फिर्ता दिन मानिरहेका छैनन् ।’ शुरुमा विश्वासका भरमा पैसा दिएको र केही समयपछि कागज नै गरिएको थापाले बताए ।

अर्का पीडित एवम् नातामा भतिज पर्ने खड्गबहादुरले नेपालबाट सम्भव नभएको भन्दै आफूहरूलाई भारतसम्म लगेर त्यहाँबाट अवैध बाटो हुँदै इजरायल पठाउन पनि खोजिएको बताए । ‘एक वर्षअघि हामीलाई भारतसम्म पु¥याएर स्वास्थ्य परीक्षण पनि गरियो’ उनले भने, ‘त्यहाँबाट पनि पठाउन सकिएन भन्दै फर्काइयो ।’ कुलबहादुरले केही व्यक्तिहरूले राहदानी अझै पनि आफ्नै कब्जामा राखेको उनको भनाइ छ ।

पीडितहरूले लिम्बूबाट ठगिएको थाहा पाएपछि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी गरेका हुन् । पीडितहरूले पैसा फिर्ता पाउनु पर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग राखेर भन्दै १९ लाख ८० हजार बिगो मागदाबीसहितको श्रम कार्यालयमा उजुरी दर्ता गराएका हुन् । उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका लिम्बूलाई श्रम कार्यालयले मोरङ प्रहरीको हिरासतमा राखेको श्रम अधिकृत सञ्जेलले बताए ।

‘शुक्रबार पीडित पक्षलाई राखेर छलफल गरिनेछ’ श्रम अधिकृत सञ्जेलले भने, ‘पीडित पक्षको पैसा फिर्ता गरे लिम्बू साधारण तारेखमा छुट्नेछन् ।’ पैसा फिर्ता नगरेसम्मका लागि उनको नाममा रहेको ८ कित्ता जग्गा रोक्का गरिएको जानकारी सञ्जेलले दिए । उनका अनुसार तोकिएको समयमा पैसा फिर्ता नगरे त्यही जग्गा लिलाम बिक्री गरेर पीडितलाई भराउने प्रक्रिया अघि बढाइनेछ । यसअघि पनि लिम्बूलाई महानगरीय प्रहरीपरिसर टेकुले कुलबहादुरलाई काठमाडौंबाट पक्राउ गरेर विराटनगर श्रम कार्यालय ल्याएको थियो । ३५ दिनभित्र पीडितको पैसा फिर्ता गर्ने सहमति भएपछि श्रम कार्यालयले साधारण तारखेमा छोडेको थियो । तोकिएको समयमा पीडितको पैसा फिर्ता नगरेपछि लिम्बू पुनः पक्राउ परेका हुन् ।

कुनै कोही व्यक्तिलाई विदेश पठाउन आधिकारिक मेनपावर दर्ता गरेर इजाजत लिनुपर्नेमा अनुसन्धान गर्दा उनले दर्ता गरेको नपाइएका कारण वैदेशिक रोजगार ऐन आकर्षित हुने श्रम अधिकृत सञ्जेलको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले कसैले पनि मेनपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सो सँग सम्बन्धित काम गर्न रोक लगाएको छ । यदि गरेमा निजलाई सोही ऐनअनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । ब्लास्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्