काठमाडौँ, साउन २७ गते ।
गत आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी प्रदेश १ मा डेङ्गु रोगका सङ्क्रमित देखा परेका छन् । प्रदेश १ मा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित व्यक्ति देखिएसँगै नेपालमा आर्थिक वर्ष २०७५÷७६ मा डेङ्गु रोगका सङ्क्रमित व्यक्तिहरू हालसम्मकै उच्च देखिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश एकमा तीन हजार १५२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । प्रदेश १ मा सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार २५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । गत आर्थिक वर्षमा प्रदेश १ मा तीन हजार ४२५ जनामा डेङ्गु सङ्क्रमित व्यक्ति भेटिएका थिए ।
यस्तै गत आर्थिक वर्षमा प्रदेश ३ मा प्रदेश १ पछि सबैभन्दा धेरै १२६ जनामा डेङ्गु सङ्क्रमित बिरामी भेटिएका थिए । गत वैशाख महिनादेखि हालसम्म काठमाडौँको बानेश्वर, टोखा, टेकु लगायतका ठाउँबाट छजना व्यक्ति डेङ्गुज्वरोबाट सङ्क्रमित भएको पुष्टि गरिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भेक्टर कन्ट्रोल सुपरभाइजर उत्तम प्याकुरेलले यो वर्ष तीन महिनायता छ जनामा डेङ्गु पुष्टि भइसकेको जानकारी दिनुभयो । प्याकुरेलका अनुसार निजी अस्पतालमा उपचार भएका रिपोर्टिङमा नआएका अन्य सङ्क्रमितहरू समेत हुन सक्छन् ।
गत वर्ष सबैभन्दा कम कर्णाली प्रदेशमा एक जनालाई मात्र डेङ्गु रोग लागेको थियो । गत आर्थिक वर्षमा प्रदेश पाँचमा ९६ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको थियो । गत वर्ष गण्डकी प्रदेशमा २६, प्रदेश दुईमा १२, सुदूरपश्चिम प्रदेशमा १२ जनमा डेङ्गु रोगको पुष्टि भएको थियो ।
नियन्त्रण गर्ने समस्या
सङ्घीयता लागू भएसँगै स्वास्थ्य सेवा विकेन्द्रीकृत हुँदा डेङ्गु नियन्त्रणमा कठिनाइ भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले सङ्घीयताले गर्दा डेङ्गु नियन्त्रण गर्न नसकिएको बताउनुभयो । उहाँले पहिले स्वास्थ्य सेवा केन्द्रीकृत हुँदा डेङ्गु नियन्त्रणमा समस्या थिएन, महानिर्देशक डा. प्याकुरेलले भन्नुभयो, “सङ्घीयताले गर्दा डेङ्गु नियन्त्रण मात्र होइन, अन्य महामारीजन्य रोग नियन्त्रण गर्नसमेत समस्या भएको छ । ” महानिर्देशक डा. प्याकुरेलका अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारमा रहेका कर्मचारीलाई काममा खटाउनसमेत समस्या परेको बताउनुभयो । प्रदेश मातहत कर्मचारीलाई केन्द्रले काममा लगाउने अधिकार नहुने भन्दै उहाँले स्थानीय तहको स्वास्थ्यकर्मीलाई समेत प्रदेश र केन्द्रले काममा लगाउन नमिल्ने हुँदा डेङ्गु नियन्त्रणमा समस्या देखिएको बताउनुभयो । उहाँले लामखुट्टे रहेसम्म डेङ्गुको सङ्क्रमण देखा परिरहने बताउनुभयो ।
नेपालमा पहिलो पटक सन् २००६ मा चितवनमा डेङ्गुका बिरामी भेटिएको थियो । सन् २०१० मा तराईका रुपन्देही, नवलपरासी लगायत जिल्लामा डेङ्गुरोग फैलिएको थियो । डेङ्गुले सन् २०१६ मा चितवन, झापा र सर्लाही, रुपन्देही लगायतका जिल्लामा महामारीको रूपमा फैलिएको थियो ।