सोलुखुम्बु । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाही गर्न माग गरिएको छ । सोलु–काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए ।
पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हितविपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको हो । सोलु–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष मनोज खड्का, महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीविरुद्ध उजुरी दिएका हुन् ।
सोलुखुम्बुमा विगतदेखि नै केसी र अर्का नेता आङ्गेलु शेर्पा पक्षबीच दुई धार भएर पार्टी सञ्चालन भइरहेको छ । केसी रामचन्द्र पौडेल पक्षधर र शेर्पा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर मानिन्छन् ।
एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टीभित्रको समस्या जस्ताको तस्तै रहेको कांग्रेसकै जिल्ला तहका नेता कार्यकर्ताको भनाइ छ । जिल्ला सभापति विनोदबाबु बस्नेतले भने पार्टी विधानअनुसार नै चलिरहेको र कहीँ कसैले विधान र नियमावली विपरीत कार्य नगरेको बताए ।