संखुवासभा । छिमेकी जिल्ला षडानन्द नगरपालिका भोजपुरले क्लिप र विषाधी प्रयोग गरेका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ। विषाधी प्रयोग भएको रुद्राक्ष र क्लिप लगाइएको रुद्राक्ष षडानन्द नगरपालिकाले नष्ट गर्ने निर्णय नगर प्रमुख वीरबल राईले जानकारी दिए। गृह मन्त्रालयको पत्रअनुसार कुनै कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषाधी प्रयोग गरेको प्रमाणित भए नष्ट गर्ने नगरसभाबाटै निर्णय भएको नगर प्रमुखराईले बताए।
कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारको लागि यस्तो निर्णय गरिएको राईको भनाइ छ। तर, यस्तो निश्चित व्यापारीले विषाधी भनेर परिभाषित गरे पनि त्यो विषाधी नभएर भिटामिन, मलखाद भएको कृषक देवराज पुरीले बताए। कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधि (फर्टिलाइजर)लाई विषाधी भनेर व्यापारीले गलत प्रचार गरिरहेको पुरीले बताए। कृषकले (फर्टिलाइजर) प्रयोग गर्दा कृषि प्राविधिकको परामर्श लिएर प्रयोग गरेको र यस्ले रुद्राक्ष उत्पादन बढाउन सहयोग गर्ने भएकाले यो विषाधी नभएको बताए।
पुरीका अनुसार यो प्रयोग गर्दा रुद्राक्षको बोट र वातावरणलाई कुनै किसिमको असर गर्दैन। तर, रुद्राक्षको क्वालिटी युक्त उत्पादन गर्नका लागि कृषकहरूले औषधि प्रयोग गर्दा बोट नष्ट गर्ने नगरपालिकाको निर्णय प्रति पुरीले आपत्ति जनाए। दुई वर्षअघिसम्म चिनियाँ व्यापारी कृषकका घरसम्म पुगेर रुद्राक्ष खरिद गर्दा निश्चित व्यापारीको स्वार्थका कारण प्रशासन प्रयोग गरेर चिनियाँ व्यापारी गाउँ जानमा रोक लगाइएको थियो। चिनियाँ व्यापारीलाई बिक्री गर्दा हुने नाफा सुरक्षित गर्नका लागि व्यापारीले चिनियाँ व्यापारीलाई कृषकसम्म जान रोक लगाएको उनले बताए। अहिले कृषकले प्रयोग गरेको औषधिलाई विषाधी भनेर ती नै व्यापारीले कृषकमाथि नै खेलबाड गरेको उनको भनाइ छ।