सुनसरी । सुनसरीको बलाहामा निर्माण भएको खानेपानीको ट्यांकी हस्तान्तरण पहिले नै चुहिन थालेको छ । १ करोड ५० लाख बढीको लागत रहेको सो पानी ट्यांकी चुहिन थालेपछि निर्माण कम्पनीको लापरवाही भएको भन्दै आलोचना सुरु भएको छ । सरोकारवाला निकायले समेत चासो नदिएको स्थानीयको गुनासो छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले मांगसुवा–शाह जेभी इनरुवा कम्पनीलाई पानी ट्यांकी निर्माणको जिम्मेवारी दिएको थियो । ४ सय ५० घनमिटर ओभरहेड ट्याङकी हस्तान्तरण पूर्व नै चुहिन थालेको हो । २०७३ साल बैशाख २४ गते एक वर्षभित्र निर्माण गर्नेगरी सम्झौता भएको थियो । २ करोड ८ लाखको लागत अनुमान रहेको ट्याङकीको सम्झौता कबोल रकम भ्याट सहित १ करोड ५२ लाख ९३ हजार ६ सय ५ रुपैंया ८६ पैसामा भएको थियो ।
काम सकेर निर्माण कम्पनीले पाउनुपर्ने रकम भुक्तानी लगिसकेको छ । निर्माण कम्पनीले ट्याङकी मर्मतका नाममा समेत रकम लगेको बताइएको छ । ५ कट्ठा जग्गामा ४ लाख लिटर क्षमताको खानेपानी ट्याङकी सहितका संरचना निर्माण गरिएको हो । १८ सय धारा जडान गर्ने लक्षसाथ खानेपानी ट्याङकी निर्माण गरिएको भएपनि ट्याङकी चुहिन थालेकाले सिधै पानी सप्लाई गर्ने गरिएको छ ।
निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् । उपभोक्ता समितिले चुहिने समस्या रहेसम्म जिम्मा नलिने बताउँदै आएको छ । समितिले खानेपानी डिभिजन कार्यालयलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको बताएको छ ।
निर्माण कम्पनीले भने सम्झौता अनुरुप काम गरिएको दावी गर्दै डिभिजन कार्यालयले अनुगमन गरेर रकम दिएको दाबी गरेको छ ।
स्थानीयले भने छानविनको माग गरेका छन् । समितिले छानविन गरेर सत्यतथ्य सार्वजनिक नभएसम्म ट्यांकी जिम्मा नलिने स्पष्ट पार्दै आएको छ ।