५ मंसिर २०७६, बिहीबार

अभिभावकको लागि महत्वपूर्ण : आफ्ना बालबालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो

यलु जोशी

काठमाडौँ, असोज ८ गते । तपाईं आफ्ना बालबालिकालाई परनिर्भर त बनाइराख्नुभएको छैन ? छ भने उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो हुन्छ । बालबालिकालाई हरेक काममा सहयोग गर्नुभन्दा उनीहरूलाई नै काम गर्न प्रेरित गर्नुपर्छ । बालविशेषज्ञ डा. प्रज्ञा प्रधान भन्नुहुन्छ, “कुनै पनि काम गर्दा गल्ती भयो भने अरूको तुलना गर्नु हुँदैन, बरु उनीहरूलाई विस्तारै काम गर्न प्रेरित गर्नुपर्छ ।”
“हामीलाई लाग्छ, हाम्रा छोराछोरीले केही गर्न जान्दैनन्, त्यही कारण आफैँ गरिदिन्छौँ तर हामीले यसरी उनीहरूको काम गरिदिँदा वा सबै कुरामा सहयोग गर्दा उनीहरू परनिर्भर हुन्छन्,” पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य बताउनुहुन्छ । परनिर्भरताले बालबालिकाको व्यक्तित्व विकास हुन नसक्ने उहाँको धारणा छ ।

उहाँ बालमनोविज्ञान विश्लेषण गर्दै भन्नुुहुन्छ, “बालबालिकाको काम उनीहरूलाई नै गर्न दिनु राम्रो हो । यद्यपि तपाईंले आदेश दिए जसरी काम अह्राउनेभन्दा पनि प्रेरित गर्ने हो । बच्चाहरूलाई विद्यालयबाट फर्केपछि जुत्ता÷मोजा सही ठाउँमा राख्न सिकाउने, झोला तथा लुगाहरू मिलाउन लगाउने र नास्ता उनीहरूलाई आफैँ खान दिनुपर्छ ।”
“हामी सबै काम आफैँ गर्छौं, जसले उनीहरूको मस्तिष्कमा सिक्ने चाहना हँुदैन, यो मेरो बुवाआमाले गरिदिनुहुन्छ जस्तो भावना हुन्छ, त्यसैले आफ्ना काम आफैँ गर्न सिकाउनुपर्छ,” डा. शाक्यले प्रस्ट पार्नुभयो । उहाँका अनुसार बालबालिकालाई काममा सहयोग गर्ने हो तर आफैँ गरिदिने होइन ।

बालशिक्षाका विशेषज्ञ कुमुद भट्टका अनुसार बच्चाले राम्ररी खान सक्दैन, यताउता छरिदिन्छ भनेर आफैँ खुवाउनुहुन्छ भने त्यो गलत हो । बच्चाको उमेर बढ्दै गएपछि आफैँ खान सिक्छन् तर उसलाई सिक्ने अवसर नै हामीले दिँदैनौंँ । हिजोआज प्रायः सबैको एक वा दुई बच्चा हुन्छन्, उनीहरूलाई केही काम गर्न लगाउँदैनाँै तर यसको असर आफ्नो बालबालिकामा पर्ने हामी बिर्सिन्छौँ ।
“बालबालिकाले खाने अभ्यास गर्न पाएकै छैन भने कसरी अभ्यस्त हुन्छन्,” उहाँले थप्नुभयो, “वास्तवमा हामी आफ्ना छोराछोरीलाई सिक्न छाड्दैनौँ । आफैँ गरिदिन्छौँ । उनीहरूको लुगा, जुत्ता, किताब–कपी हामी आफँै मिलाइदिन्छौँ । उनीहरूले खेलेर छाडेको खेल्ने कुरा हामी आफँै मिलाइदिन्छौँ । त्यो काम गर्न उनीहरूलाई नै दिऔँ ।”

बच्चाले पुस्तक मिलाएर झोलामा राख्न जानेनन् भने हामी आफैँले पुस्तक राखिदिने होइन, बरु कसरी राख्ने भन्ने कुरा उनीहरूलाई सिकाउनुपर्छ, कसरी पुस्तक राख्दा च्यातिन्छ वा खुम्चिन्छ भन्ने कुरा बुझाउनुपर्ने जानकारी भट्टले दिनुभयो । बच्चाले विद्यालय र पाठ्यपुस्तकबाट मात्र ज्ञान आर्जन गर्दैनन् । उनीहरूले स–साना कामबाट पनि उपयोगी शिक्षा हासिल गरिरहेका हुन्छन् । त्यसैले घरमा उनीहरूलाई सहज ढङ्गको र सकेसम्म उनीहरूकै काम लगाउनुपर्ने डा. शाक्यले बताउनुभयो ।

बच्चाहरूले राखेको, मिलाएको चित्त नबुझे पनि यस्तो अवस्थामा काम सिकाउनुपर्छ, जसले गर्दा उनीहरूको मस्तिष्कले काम गर्न सहज हुन्छ । यता बालविशेषज्ञ डा. प्रधान कुनै पनि काम गर्दा गल्ती भयो भने बालबालिकालाई सुधार गर्ने मौका दिनु राम्रो हुने बताउनुहुन्छ ।
उहाँका अनुसार बालबालिकालाई अरूसँग तुलना गर्नु राम्रो होइन । उहाँले फलानोको छोरा वा छोरीले यसरी मिलाउँछ, यसरी काम गर्छ भनेर अर्कासँग दाँज्न नहुने बताउँदै त्यसको गलत असर उनीहरूमा पर्नसक्ने बताउनुभयो । आफ्नै घरका दाजुभाइ, दिदीबहिनीसँग पनि एकअर्कालाई दाँजेर काम लगाउनुभयो भने त्यसले उनीहरूलाई प्रेरित होइन, हतोत्साही गराउने जानकारी दिँदै डा. प्रधानले बच्चाहरू आफूलाई कमजोर र निरीह ठान्न सक्छन् । यसैले कुनै पनि काम गराउँदा उनकै ढङ्गले, उनीहरूकै शैलीले गर्न दिनुपर्छ ।

डा. शाक्य भन्नुहुन्छ, “कतिपय आमाबुवा यस्ता हुन्छन् कि आफ्नो बच्चालाई काम गर्नै नदिने । बच्चाले काम गर्दा उनीहरूलाई दुःख हुन्छ भन्ने सोचाइ राख्छन् । जब कि बच्चाले कामबाट नै जीवनोपयोगी शिक्षा लिने हो ।” उहाँ थप्नुहुन्छ, “बच्चाले जान्दैन, गर्न सक्दैन भनेर सबै काम आफैँ गरिदिनुभयो भने अरूको सहाराबिना बच्चा बाँच्नै नसक्ने अवस्थासम्म हुन्छ ।”

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस